२०८१ भाद्र २३
                           

३ सय २१ को निःशुल्क आँखा परीक्षण

चौतारा । चौतारामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३ सय २१ जनाको आँखा परीक्षण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजना एवम् सामुदायिक आँखा केन्द्र चौतारा, नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र जनता बैंक नेपाल लिमिटेड चौतारा स्थानीय आयोजक रुपमा सोमबार र मंगलबार शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा परीक्षण गराएको मध्ये ७२ जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको आयोजक नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए ।

बिरामीको अपरेशन गर्न जनता बैंकले आर्थिक सहयोग गरेको हो । आँखाको अपरेशन गरेका विरामीहरुको २ दिनसम्म शिविरमै नियमित जाँच गरिएकोमासबै विरामीहरुको अवस्था सामान्य रहेको सामुदायिक आँखा केन्द्र चौताराका प्रमुख कृजन सुवालले बताए । जिल्लाको विभिन्न स्थानमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई जिल्ला सामुदायिक आँखा केन्द्र चौतारा सिन्धुपाल्चोकमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईएको थियो । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधी वितरण समेत गरिएको थियो ।

यस अघि नवलपुर, सिपापोखरे स्वास्थ्य चौकी, बाह्रविसे प्राथामिक उपचार केन्द्र, सुनकोशी गाउँपालिका वडा नं. ५ सुनखानी, महेन्द्र कान्तीमा मावि कालिका, जुगल गाउँपालिकाको ढाँडे र जल्केनी स्वास्थ्य चौकीमा आँखा परीक्षण शिविर सञ्चालन गरी अपरेशन गर्नुपर्ने आँखाका बिरामीहरुलाई निःशुल्क रुपमा सेवा प्रदान गरिएको रेडक्रस चौतारा उपशाखाका सभापति चन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्