२०८१ भाद्र २३
                           

अष्ट्रेलियादेखी कोरीयासम्म सिन्धुपाल्चोकको कफी

सुकुटे-  सिन्धुपाल्चोकमा बार्षिक ३० टन बढि कफी उत्पादन र बिक्रि हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकका अनुसार बार्षिक ३० टन कफी बिक्रि बापत सिन्धुपाल्चोकमा ५६ लाख बढि रकम भित्राउने गरेको छ ।

शनिबार जिल्ला कफी सहकारी संघले आफ्नो बार्षिक साधारणसभाका अवसरमा पछिल्लो एक बर्षमा ३० टन कफी उत्पादन र बिक्रीबाट जिल्लामा ५६ लाख ७० हजार रुपियाँ भित्राएको जानकारी दियो । ‘एक बर्षमा ३० टन कफी संकलन र बिक्रि भयो’, साधारण सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले भन्नुभयो, ‘जसमध्ये १० टन अष्टेलिया र कोरीया निर्यात भएको छ।’ जिल्लामा कफि सहकारी संघले बजारीकरणमा समन्वय गरिदिए पछि कफी खेतिमा लागेका कृषकहरुले पछिल्ला केहि बर्षको बीच ठूलो मात्रामा कफी उत्पादन गरि बिदेश निर्यात गर्न सफल भएका छन्।

परम्परागत खेति प्रणालीलाई परिस्कृत गर्दै कृषकहरु नगदेवालीको खेतिमा आकर्षित बनेका छन् । धान, मकै, कोदो र गहुँ उत्पादनमा नै सिमित बन्दै आएका कृषकहरु पछिल्लो समय कफी खेतिमा आकर्षित बनिरहेका छन्। जिल्लामा कफी उत्पादन र बिक्रिको दर हेर्दा कफी खेति प्रतिको आकर्षण बढिरहेको देखाउँछ।
जिल्ला कफी सहकारी संघको साधारणसभाका अवसरमा कफी खेतिमा उत्कृष्ट कृषक र समुह पुरस्कृत भएका छन् । सधारण सभाका प्रमुख अतिथी एवम चौतारा साँगाचोकगढी नगरपालिका १० का वडाध्यक्ष  बेलबहादुर महतले उत्कृष्ट कृषक तथा समुहहरुलाई पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभयो ।

जिल्ला कफी सहकारी संघका संस्थापक शुदर्शन बोलखेलाई  साधारणसभामा सम्मान गरिएको थियो। कार्यक्रममा सुनकोसी गाउँपालिका ३ का वडाध्यक्ष रामहरी खड्का, कृषि ज्ञानकेन्द्र काभ्रेका वागवानी अधिकृत उमेश सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना लगायतले जिल्ला कफी सहकारी संघलाई शुभकामना ब्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्