२०८१ भाद्र २३
                           

दशैँ सुरु,यस्तो छ नवदुर्गाको पूजामा जपिने मन्त्र

काठमाडौँ, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ।

यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादशैँसँग रहेको छ ।

दशैंको टिकाको दिनसम्म घर घरमा नवदुर्गाको पूजा आराधना हुने परम्परा रहिआएको छ । नवरात्रभर पूजा आराधना गरिरहँदा नव दुर्गाको संस्कृत श्लोक विर्सिसकेको हुनुपर्छ धेरैले । आधुनिक समयमा मनोरञ्जनका अनेक साधनमा रमाउने बानी परिसकेको अवस्थामा हाम्रा परापूर्वकाल देखि चलिआएका कैयौं धार्मिक सांस्कृतिक महत्वका बिषय हामीले बिर्सँदै गएका छौं । त्यसैले नवदुर्गाको पूजाअर्चना गर्दा जप्नेगरिएको मन्त्र राम्ररी सम्झना नहुन पनि सक्छ । त्यसको अर्थ त झन् के थाहा होस् । त्यसैले नयाँ पुस्तालाई ज्ञान होस् भनेर यहाँ नवदेवीको स्त्रोत्र र त्यसको अर्थ प्रस्तुत गरिएको छ:

श्लोक यस्तो छ:
‘ॐ  जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा  स्वधा नमस्तुते
प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी।
तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च।
सप्तमं कालरात्रीति, महागौरीतिचाष्टमं।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।’

 यसको अर्थ: 
‘ॐ चण्डिका देवीलाई नमस्कार छ । महर्षि मार्कण्डयजी भन्नुहुन्छ–जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नमस्तुते ।

संसारमा यि नामहरुले प्रसिद्ध, हे माता जगदम्बे ! तिमीलाई मेरो नमस्कार छ । देवी चामुण्डे तिम्रो जय होस् ।

सम्पूर्ण प्राणिहरुको दुःख र पीडा हरण गर्ने भएकी देवी ! तिम्रो जय होस् । सबैमा व्याप्त रहने भएकी देवी ! तिम्रो जय होस् ।

कालरात्री ! तिमीलाई नमस्कार छ । मधु र कैटभ दैत्यहरुको नास गर्ने भएकी तथा ब्रह्माजीलाई वरदान दिने भएकी देवी, तिमिलाई नमस्कार छ । तपाई मलाई रुप, जय, यश दिएर मेरा शत्रुहरुको विनाश गर्नुहोस् ।

महिषासुर दानवको नाश गरेर भक्तहरूलाई सूख दिने भएकी हे देवी ! तपाँईलाई नमस्कार छ । तपाँई मलाई रुप, जय र यश दिएर मेरा शत्रुको नास गर्नुहोस् ।  रक्तबीजको वध र चण्डमुण्डको विनास गर्ने भएकी देवी, तपाँईलाई नमस्कार छ ।

मलाई रुप दिनुहोस, जय दिनुहोस्, यस दिनुहोस् र शत्रुहरूको नाश गर्नुहोस् ।  शुम्भ र निशुम्भ तथा धुम्रलोचनको नाश गर्ने भएकी देवी ! तपाई मलाई रुप दिनुहोस्, जय दिनुहोस्, यश दिनुहोस् र मेरा शत्रुहरुको नाश गर्नुहोस् ।  वन्दनीय चरण भएकी, सबैलाई सौभाग्य दिने भएकी देवी ! रुप दिनुहोस्, जय दिनुहोस्, यश दिनुहोस् र शत्रुको नाश गर्नुहोस् ।

हे देवी !
तपाईका रुप र चरित्रहरु अचिन्त्य छन् । तपाई सम्पूर्ण पापहरूको नाश गर्नु हुन्छ । मलाई रुप, जय र यश दिएर मेरा शत्रुहरूको विनाश गर्नुहोस् । पापहरूको नाश गर्ने भएकी हे चण्डिके ! भक्तीले विनित भएका प्राणीहरूको लागी रुप, जय र यश दिएर शत्रुहरूको नाश गर्नुहोस् । व्याधीको नाश गर्ने भएकी हे चण्डिके ! भक्ती पूर्वक तिम्रो अर्चना गर्नेहरूलाई रूप, जय र यश दिएर शत्रुहरूको नाश गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्