चौतारा- जनताले सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउन नेकपालाई दिएको जिम्मेवारी पूरा गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवम् स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकद्वारा विजया दशमी, दीपावली, नेपाल सम्वत्, छठ तथा ल्होसार पर्वको पावन अवसरमा सोमबार शहिद स्मृति भवन चौतारामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रवक्ता श्रेष्ठले राजनीति र संघर्ष सत्तामा पुग्नमात्रै नभई जनताले प्रत्यक्ष विकासको अनुभूत गर्न पाउने हुनुपर्ने बताए । ‘हामी समाजवाद उन्मूख समावेशी लोकतन्त्रको चरणमा छौं’, उनले भने– ‘तसर्थ जनताले नेकपालाई एउटा जिम्मेवारी दिएको छ, उनीहरुले प्रत्यक्ष अनुभूत गर्न पाउनेगरी विकासको काम गर्नुपर्छ ।’
विकासलाई प्रभावकारी रुपमा जनमूखि र गरिबमूखि बनाउन जरुरी रहेको बताउँदै श्रेष्ठले ७ सुत्रबाट विकासलाई लैजान उपयुक्त भएको बताए । ‘समावेशी आर्थिक विकास, समाजिक विकास, समाजवादउन्मूख विकास, नविनतम विकासको प्रयोग, वातावरणमैत्री विकास, दिगो विकास र नयाँ मूल्य मान्यतासहितको विकासबाट मात्रै समृद्ध नेपाल सम्भव छ’, श्रेष्ठले भने– ‘यति भयो भने हामीले भन्ने गरेको नयाँ नेपाल बन्ने क्रम व्यवहारमा देखिन्छ ।’
संविधानले दिएको मैलिक अधिकारलाई कम्युनिष्ट सरकारले कानुन बनाई लागु गरिसकेको बताउँदै उनले संघीयताको कार्यान्वयन, कर्मचारी व्यवस्थापन, विदेशी हस्तक्षेपको अन्त्यलगायतको महत्वपूर्ण काम पूरा गरिएको उल्लेख गरे । सरकारलाई हर हालतमा सफल बनाउन सम्पूर्ण नेपालीहरु एकजुट भई लाग्नुपर्ने जनाउँदै प्रवक्ता श्रेष्ठले आसन्न चाडपर्वहरुले हरेक नेपालीलाई एकताशुत्रमा बाँध्ने विश्वास व्यक्त गरे । ‘नेपालीहरु हरेक दिन सुखी बनाउन हामी लागिपर्नुपर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्