२०८१ भाद्र २३
                           

‘चिनियाँ मोडेल’मा स्थानीय कमिटी सञ्चालन

चौतारा- नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले चिनियाँ कम्युनिष्ट मोडेलमा स्थानीय कमिटी सञ्चालन गर्ने भएको छ । गाउँपालिका कमिटी अध्यक्ष आङछिरी शेर्पाले चिनियाँ कम्युनिष्ट पार्टीको मोडेलमा स्थानीय पार्टी सञ्चालन गर्न लागेको जानकारी दिए ।

भोटेकोसी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सात सदस्यीय टोली दसैँअघि चीनको स्वशासित क्षेत्र खासा गएको थियो । शेर्पाको नेतृत्वमा खासा पुगेको टोलीले जाङ्मुपोर्टस्थित चिनियाँ कम्युनिष्ट पार्टीको खासा प्रशासन समितिसँग दिनभर बैठक गरेको थियो । दुई देशका कम्युनिष्ट पार्टीबीच स्थानीय स्तरमा बैठक भएको यो पहिलो पटक हो ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग भेटेर फर्किएको सो टोलीले बैठक बस्दा कम्युनिष्ट पार्टीको लोगो अंकित ड्रेस लगाउने र अनुशासनलाई कडाइ गर्ने निर्णय गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सिको गर्दै २ कात्तिकमा खुवाउन लागेको सपथ कार्यक्रममा अनिवार्य रुपमा पार्टीको लोगो लगाउन निर्देशन गरेको अध्यक्ष शेर्पाले बताए । ‘हाललाई लोगो अनिवार्य गरिएको छ,’ आगामी बैठकदेखि पार्टीले तोकेको यूनिफर्म लगाएर बैठकमा आउनुपर्ने बताउँदै उनले भने, ‘पार्टीको लोगो र ड्रेस पनि चाइनाबाटै बनाएर ल्याउँछौं ।’ सपथ कार्यक्रममा उपस्थित हुने ७५ जनालाई पार्टीको प्रतीक चिह्न तयार पारेर ल्याएको उनले सुनाए । सीमासँग जोडिएको पार्टी कमिटी भएकोले चिनियाँ मोडेलको सिको गरिएको हो । पार्टी केन्द्रको नीति र अनुशासनमा रहेर चिनियाँ मोडेलको प्रयोग गर्न लागिएको उनले प्रष्ट्याए ।

गाउँपालिकाको केन्द्र भोटेकोसीको हिन्दीमा पार्टी कार्यालय भवन तयार भएको छ । पार्टी कार्यालयमा राखिने झण्डा र अन्य महत्वपूर्ण सामग्री पनि चिनियाँ कम्युनिष्टकै मोडेलमा राखिने छ । दसैँअघि खासामा बसेको दुई पार्टीको संयुक्त बैठकको निर्णयलाई लागु गर्दै जाने नीति लिएको शेर्पाले बताए । तिहारको अवसरमा गाउँपालिका कमिटीले आयोजना गर्ने चियापानमा तिब्बत काउन्टीका पार्टी महासचिवलाई तातोपानी ल्याउन पहल भइरहेको उनले जनाए । कार्यक्रममा पार्टी केन्द्रका नेतालाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ । नेकपा सिन्धुपाल्चोकले पार्टी एकता टुंग्याएको छ । १२ स्थानीय तहमा ७÷५ को संख्यामा पूर्वएमाले र माओवादीले जिम्मेवारी सम्हाल्ने छन् । अबको महिना दिनभित्र वडा र सेल कमिटीसमेत गठन भइसक्ने नेकपा सिन्धुपाल्चोकले जनाएको छ ।

व्यापार र सुरक्षा सँगसँगै

सीमामा हुने अबैध गतिविधि रोक्न सरकारको अलवा नेकपा भोटेकोसी कमिटीले पनि प्रयत्न गर्नेछ । दुवै देशको स्थानीय पार्टी कमिटीबीच सहकार्य गरेर सीमाको रक्षा गर्ने निर्णय खासा बैठकले गरेको थियो ।

तातोपानी नाकाबाट हुने व्यापारलाई सहजीकरण गर्न पनि यही स्थानीय कमिटीले मिलेर काम गर्ने भएको छ । नेपाल सरकारले लिएको एक चीन नीतिलाई सघाउन नेकपाको स्थानीय कमिटीले चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर काम गर्ने भएको छ । ‘व्यापार र सीमा सुरक्षामा हाम्रो समान चासो रहने छ,’ अध्यक्ष शेर्पाले भने । अरनिको राजमार्ग स्तरोन्नतिको लागि स्थानीयबीच आवश्यक छलफल चलाउने नीति रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्