२०८१ भाद्र २३
                           

सहयोग जुटाउन नेपाल साइकल यात्रा

चौतारा-  असाहय तथा विभिन्न विपद्बाट पीडीत भएकाहरुको लागि सहयोग जुटाउनको लागि सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिकाका– ४ का माधवप्रसाद कुँइकेलले साइकलबाट नेपाल यात्राको सुरुवात गरेका छन् । विहीबारबाट इन्द्रावती गाँउपालिकको प्राङ्णबाट उनले सो यात्रा सुरु गरेका हुन् ।

अपाङ्गता भएका, अनाथ, अशक्त, असाहय, हिंसापीडित महिला तथा बालबालिका एवं विभिन्न विपद्मा परेकाहरुलाई विशेष सहयोग गर्ने उद्देश्यले इन्द्रावती सामुदायिक सेवा सञ्जालका अध्यक्ष समेत रहेका कुँइकेलले सो यात्रा सुरु गरेका हुन् । सम्भव भएसम्म देशका सबै नागरिकबाट दैनिक एक रुपैंयाका दरले एक वर्षको ३ सय ६५ रुपैंया सहयोग संकलन गरी कोष स्थापना गर्ने उद्देश्यले यात्रा सुरु गरिएको साइकल यात्री कुँइकेलले बताए ।

‘नेपालका सबै व्यक्तिलाई यो अभियानका सहभागी गराउने उद्देश्य रहेको छ’ साइकल यात्री कुँइकेलले भने– ‘सबै व्यक्ति भेट्न नसकेपनि कम्तिमा नेपालका हरेका गाँउपालिका तथा नगरपालिका र त्यसका वडाहरुमा पुगेर उहाँहरुको स्वैच्छाले नै रकम संकलन गर्ने योजना बनाएको छु ।’ हाल उमेरले ५५ पुगेका कुँइकेल सकेसम्म ५ वर्षभित्र देशका सबै कुनामा पुगेर अभियान सम्पन्न गर्ने योजनामा छन् ।

यात्राको लागि सञ्जालले नै साइकलको व्यवस्था गरेको र सो साइकल भने इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङले गत कार्तिक ३ गते नै चाबी खोलेर हस्तान्तरण गरेको सञ्जालकी सचिव रमा सापकोटाले बताइन् । ‘सञ्जालको कोष वृद्धिकै लागि आयोजना गरीएको धार्मीक सप्ताहको समापनामा सो चाबी हस्तान्तरण गरीएको हो ।’ सचिव सापकोटाले भनिन्– ‘सप्ताह तथा यात्राबाट सङ्कलन भएको रकम परोपकारी कार्यमा खर्च गर्ने गरी योजना बनाएका छौं ।’ यात्राको लागि आवश्यक खर्च भने संभव भएसम्म कुनै संघसंस्था वा व्यक्तिलाई सहयोग माग्ने र उपलब्ध नभएमा सञ्जालबाट नै व्यहोर्ने सचिव सापकोटाले बताइन् ।

‘यो काम अन्यन्तै राम्रो काम भएकोले हामी यसको प्रशंसा गर्दछौं,’ गाँउपालिका अध्यक्ष तामाङलाई उदृत गर्देै सचिव सापकोटाले भनीन्– ‘यसको लाग साइकल लगाएत अन्य भौतिक सहयोगका साथै अन्य स्थानीय निकाय समेत हामी समन्वय गरी सहयोग गर्नेछौं ।’ गाँउपालिकाका अध्यक्ष तथा प्रशासकीय अधिकृतले समेत सहयोगल गर्ने बताएकाले केही सहज हुनसक्ने सचिव सापकोटाले बताइन् ।

श्रीमती, छोरा, बुहारी, नाती, छोरी तथा आमा सहित ८ जनाको परिवार रहेका कुँइकेल सामान्य परिवारका व्यक्ति हुन् । बिलोभा अर्गानीक कृषी फार्म सञ्चालन गरेरल बसेका कुँइकेल सबै काम छाडेर यात्रामा निस्किएका हुन् । आफु वा परिवारका कोही सदस्य विरामी पर्ने वा अन्य कुनै विशेष परिस्थिती बन्दा बाहेक आफु यात्रामा नै रहिरहने र सकेसम्म छोटो समयमा देशका सबै स्थानमा पुगेर धेरै भन्दा धेरै आर्थीक संकलत गर्ने योजना रहेको यात्री कुँइकेलले बताए ।

३ गते सम्पन्न भएको सप्ताहमा सञ्जालले करिव पाँच लाख रकम बचत गर्न सफल भएको थियो । यो यात्राबाट समेत सङ्कलन भएको रकमबाट असाहय व्यक्तिलाई सहयोग गर्दै आवश्यकता अनुसार केही स्थानमा एम्बुलेन्स समेत खरिद गरी सञ्चालन गरीने लक्ष्य रहेको कुँइकेलले बताए । कुँईकेलले यो नितान्न परोपकारी कार्य भएकोले यसमा सकेसम्म सबै नेपालीले दैनीक १ रुपैंयाका दरले एक वर्ष वा सो भन्दा बढी सहयोग गर्न जुगलखबर मार्फत आग्रह समेत गरे ।

इन्द्रावती गाँउपालिकाको प्राङगणमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत, ४ नं वडाका वडाध्यक्ष, सञ्जालका पदाधिकारी तथा परिवारका सदस्य एवम् स्थानीय समाजसेवीहरुले उनको शुभयात्राको कामना गर्दै विदाइ गरेका हुन् । यात्राको पहिलो दिन गाँउपालिकाको वडा नं. १ बाट करिब ६ हजार रुपैया सङ्कलन गरिसकेका कुँइकेलले क्रमशः गाँउपालिकाका सबै वडा र सिन्धुपाल्चोक जिल्लामा रकम सङ्कलन गर्ने बताएका छन् । त्यसपछि उनको यात्रा छिमेकी जिल्ला हुँदै देशभर यात्रा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्