अभि सुवेदी
नेपालमा खासगरी काडमाडौं राजधानीमा किताबका पसलहरू धेरै छन् । ती पसलमा सबैभन्दा धेरै किताब अंग्रेजी भाषामा हुन्छन् भन्ने साधारण अनुभवले देखाउँछ ।
पसलहरूमा रंगीचंगी परिधान लाएका अंग्रेजी र नेपाली भाषाका किताबहरू दराज, भुइँ र टेबल ढाकेर अनि छरिएर बसेका दृश्य हामीजस्ता किताब जीवन हो, जीवन किताब हो भनी मान्ने मनुवाहरूको निम्ति नयनाभिराम हुन् । तर किताब थाहा पाउने भए पनि किन्ने पैसा त्यति जुटाउन नसक्ने वर्गमा परेका मानिसलाई तिनमा आकर्षण बढेपछि अथवा तिनको आवश्यकता कि त विषयले कि तिनलाई देखेर बुझेपछि नकिनी नहुने अवस्था परेपछि समस्या पर्छ । हामी जस्ता तलब वा पिल्सिङमा भर पर्नेहरूको निम्ति यो एउटा अस्तिवादी चुनौती हो, जुन एउटा सुन्दर जीवनकै पर्याय हो । प्रेमीहरूका अभाव, ‘प्यासन’ र आवश्यकताको त्रिवेणीबाट अस्तित्वमा आउँछ, किताब । त्यतिबेला मात्रै किताब सार्थक भएको मान्नुपर्छ, जब यो त्रिवेणी हुँदै किताब पाठकको हातमा आइपुग्छ ।
पुस्तकालयहरू सहज नभएका हुनाले किताब पसलबाटै पाठकका चरित्र र तिनका किसिम हेर्नुपर्ने हुन्छ । मैले निकै सयमदेखि केही प्रमुख किताब पसलहरूमा आउने किताबहरू र तिनलाई किनेर पढ्ने मनुवाहरूको विषयमा जानकारी राख्ने कोसिुस गर्दै आएको छु । यो लेख ‘सर्भे रिपोर्ट’ होइन, त्यो अर्कै आलेखको विषय हो । तर यस लेखमा मैले केही महत्त्वपूर्ण कुराका संकेत भने गर्नसकेको छु, जुन मैले किताब पसलेहरू र केही आफ्ना नजिकका किताबप्रेमीहरूका भनाइबाट पाएको हुँ । मलाई आफैं सबै कुराका उत्तर प्रस्ट छैनन् । कुरा किताबहरूबाटै लिनुपर्छ । किताब ऐना, रहस्य र अग्रचेतनाको प्रतीक सबै हो । मैले पाएका उत्तर र मैले थाहा पाएका कुराको आधारमा भन्दा अंग्रेजी भाषाका किताबका पाठक मूलत:नेपालीहरू नै हुन् । तर केही विदेशीहरू पनि त्यसमा पर्छन् । तर ती को हुन् भन्ने कुरा किताब पसलका मानिसहरू पनि प्रस्टसँग भन्न सक्तैनन् । मैले आफ्नो उत्सुकता मेटाउन किताब किन्नेहरूका वर्गीकरण गरेर जानकारी लिने कोसिस गरेंँ ।
वर्गीकरणमा मैले विश्वविद्यालय शिक्षासँग जोडिएका मानिसहरू लिएँ । त्यसमा शिक्षक र विद्यार्थी दुबै पर्छन् । अर्कोमा विदेशी लिएँ, जो अहिले अमेरिकातिर छापिएर भारतको वितरण प्रणाली अन्तर्गत निकै छुटमा आइपुगेका किताब किन्न पसलमा आउँछन् भन्ने मैले अनुमान गरेको थिएँ, तर त्यत्ति धेरै मिलेन । त्यसो त तिनै किताब किन्न नेपाली प्राज्ञिक कर्म गर्ने मानिस पनि पुगेका हुन्छन् । अनि तेस्रोमा मैले राजनीति गर्ने मानिसहरूलाई लिएँ । त्यसमा राजनेता, विभिन्न दलका सक्रिय अनि बौद्धिक चाख भएका मानिस पर्छन् । नेपाली राजनीतिमा चिनिएका र एक-दुईपटक शक्तिमा आसिन भइसकेकाहरू दोहोर्याएर आइबस्छन् । त्यसमा चारदेखि पाँचजनासम्म राजनेता आउँछन् । नयाँ मानिसहरू त्यति आउँदैनन् । मैले आफ्ना अनुभव र किताब बिक्रेताहरूसँग पाएका जानकारी अनुसार यो लेखेको हुँ ।
नेपालका किताब पसलहरूमा आउने अंग्रेजी किताबहरूको निकै लामो इतिहास छ । मैले बीसौं शताब्दीको सन् साठीका अन्तिम वर्षदेखि यो विषयमा चाख राखेर आइबसेको हुँ । पहिला पनि यस विषयमा लेखिसकेको हुनाले यहाँ पुनरावृत्ति गर्न चाहन्न । अंग्रेजी भाषामा उपन्यासहरूको एकपटक बाढी लागेको थियो । त्यसपछि हिप्पी आन्दोलनताका विचार र पश्चिमी समाजको बद्लिंँदो समाज र मान्यता विषयका किताबहरू धेरै आए । ती किताबहरूको मोह र प्रभावमा पर्ने पुस्तामा म पनि परेको थिएँ । त्यही बेलादेखि लगभग अंग्रेजी किताब ‘सेकेन्डह्यान्ड’ दाममा नेपालमा आउन थालेका हुन् ।
नेपाल विस्तारै ‘सेकेन्ड ह्यान्ड’ किताबको एउटा ठूलो केन्द्र बन्यो । मलाई काठमाडौंजस्तो ‘सेकेन्ड ह्यान्ड’मा राम्रा किताब पाउने नगर आफू गएका एसियाका कुनै सहर पनि छैनन् जस्तो लाग्थ्यो । पर्यटनको विकास भएपछि काडमाडौं बाहिर पनि ‘सेकेन्ड ह्यान्ड’ किताब पसल खोल्नु एउटा आवश्यकता वा संरचना नै जस्तो भएको हो । अर्कोथरी किताबहरू नेपाल सम्बन्धी नै आउन थाले । विदेशीले नेपाल विषयमा लेखेका किताब पनि नेपाली पुस्तक बजारमा आइपुगे ।
नेपालमा अंग्रेजी भाषाका किताब पसल र नेपाली भाषाका किताब पसलको सम्बन्ध कस्तो रहिआएको छ त ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो, जसको सम्बन्ध एउटा किताब पसल खोल्नु र बिक्री गर्नुको संस्कृतिसँग जोडिएको छ । अंग्रेजी र नेपालीका किताब पसलहरूको सम्बन्ध सांस्कृतिक पठन-पाठनको विषयमा छ । यो पछिल्लो समयमा देखिएको जस्तो प्रतिद्वन्द्वीको सम्बन्ध होइन ।
अंग्रेजी किताब र नेपाली किताब बरोबरी राख्ने किताब पसलहरू छन् । प्राध्यापक त्रिरत्न मानन्धरको एकेडेमीको जर्नल अफ नेपलिज स्टडिज (२०१९ अंक १) मा भर्खरै एउटा महत्त्वपूर्ण ऐतिहासिक सर्भे भएको लेख निस्केको छ । त्यस लेखले देखाए अनुसार नेपालमा सम्वत् १९४४ मा खुलेको पहिलो किताब पसलदेखि पछिका वर्षहरूमा विभिन्न राजनीतिक व्यवस्था, विश्वास र चाखहरूलाई समेटेर अघि बढेको इतिहास हो, यसको । त्यसैले आज किताब पसलवालाहरूका माग र चाखहरूमा अंग्रेजी र नेपाली भाषाको विभाजन रेखा छैन ।
त्यसो भए नेपालमा किताब पसलको महत्त्व के हो त ? नेपालमा पुस्तकालयको कथा आफ्नै किसिमको छ । विशाल पुस्तकालयहरू अहिले सरकारको निम्ति अदृश्य भएकाले ती कहीं स्कुलहरूका गारतमा थन्किएका समाचार पढेकै हौं । तिनको पनि आफ्नो महत्त्व छ । तर युर्गेन हेबरमासको मलाई अत्यन्त मनपरेको रूपक कफी हाउसको भेटघाट, त्यसबाट ससानै भए पनि प्रकाशनहरू हातहातमै बाँडेर वृत्त वा ‘स्फेयर’ फैलिएको कथानक नेपालमा पुस्तकालय होइन, सरकारी प्रकाशनहरू होइन, किताब पसलहरूको कथाबाट मात्र बुझ्न सकिन्छ । नेपालमा पठन-पाठनको आमवृत्त फराकिलो गर्ने कर्म किताब पसलहरूले गरेका छन् ।
म धेरै जाने एउटा किताब पसलको उदाहरण लिएर हेर्छु । त्यहाँ यो समाजका धेरै किसिमका मानिस आउँछन् । सबैका निम्ति खुलेका, ‘क्याटलग’ र नियमको बन्धन नभएका, विविध र सबैको निम्ति सन्देश बोकेका, किताबहरूलाई हेर्छु, जसमाथि राजनेता बाबुराम भट्टराई र कमल थापादेखि प्राध्यापक लोकराज बराल, विद्वान हरि शर्मा, हरि रोका अनि मेरा थेसिस लेख्न सन्दर्भ खोज्दै हिंँडेका विद्यार्थीहरूसम्मका हात यसै सल्बलाउँछन् । त्यो वैविध्य हो, जुन किताब किन्नेको निम्ति आनन्द र चुनौती हो, अनि हेबर्मासले कफीगृहमा देखेको ज्ञान र साझा संस्कृतिको सुन्दर आमवृत्तको स्वत:फराकिलो हुँदै गएको रचना हो । एउटा उदाहरण दिएको हुँ ।
अरु पनि हेरेको छु, त्यही चरित्र भेटिन्छ । नेपालमा ज्ञानका स्रोत केन्द्रहरू समाजमा गतिशील भएर जाने आधारहरू लगभग शून्य छन् । किताब पसलहरू जो देशभरि हुन्छन्, तिनले त्यो कर्म गरेका छन् । पटक-पटक तिनै किताब पसलहरूलाई निरीह ठान्ने, सोझा व्यापारी, किताब बेचीखाने मनुवा भनेर उपेक्षा गर्ने अनि तिनको कर्म र जीवन असजिलो बनाइदिने सरकारका सम्बन्धित संयन्त्रहरूमा यो चेतना त्यति देखिएन ।
को किताब पढ्छन् ? यो प्रश्नको उत्तर पाउनु प्राय:असम्भव हुन्छ । समाजवाद, आर्थिक पद्धति र कल्याणकारी सिद्धान्तका गतिला छलफल सुनिँदैनन् । मार्क्सवादको व्याख्या गरेका एकाध शीर्ष संकथनबाट बुझ्दा लाग्छ, किताब पढ्ने मोह हराउँदै गएको छ । लेखनका सिद्धान्त, अनि तीसँग जोडिएका पूर्वीय र पाश्चात्यतिरका धेरै नभनौं आधारभूत दर्शनहरूका प्रयोग भएका लेखन र छलफलका अवस्थालाई हेर्दा किताब कति पढिँंदैछन् भन्ने अनुमान गर्न सकिन्छ ।
किताब पसलहरूका कुरा गर्दा एउटा नयाँ र झकझक्याउने (मलाई निकै वाचाल लाग्छ) विषय निस्केको छ । त्यसको पछिल्लो समयमा अमेरिकामा प्रयोग भयो र भइरहेको छ । त्यो शक्तिसाली देशमा पछिल्ला वर्षहरूमा छलफलका आँधी उठे र उठ्दैछन् । पहिलो हो, ‘फेक’ वा अतिरिक्त सत्य/‘अल्टर्नेटिभ ट्रुथ’ । जर्ज अर्वेलले १९८४ शीर्षकको उपन्यास १९४९ मा लेखे । त्यसको छलफल अमेरिका र सोभियत संघको वैचारिक युद्धसँग पनि जोडिएर आएको थियो । अधिनायकवादको उदय अनि तिनले समाज नियन्त्रण गर्न निकालेका ‘न्युज पिक’ नामकरण गरिएको सरकारको बनावटी भाषासहित झुटका सञ्जालको विषयमा त्यो उपन्यास लेखिएको थियो । तर यतिका धेरै वर्षपछि अमेरिकामा त्यो विषयको छलफलमात्र भएन, प्रयोग पनि भयो ।
राष्ट्रपति र उनका मानिसहरूबीच द्वन्द्व हुनु अनि तिनीहरूले नै अनेकौं संस्मरण लेख्नु र तिनलाई पर्खेर बसेका प्रकाशकले तिनलाई प्रकाशित गरिहाल्नुले एउटा किताब पढ्ने संस्कृतिमा नयाँ प्रयोग ल्यायो । क्षेत्रीयदेखि वैश्विक राजनीतिसम्मलाई समेटेर लेखिएका ती किताबमा इतिहासको कालिक चरित्रको विनिर्माण भएको छ । फ्रान्सेली दार्शनिक र लेखक झँ पोल सार्त्रले भने ‘किताब भनेका केरा हुन् । ती प्रयोग भइहाल्नुपर्छ, नभए तिनको प्रयोजन सिध्दिन्छ’ ।
प्रतिक्रिया दिनुहोस्