२०८१ भाद्र २३
                           

पालिका स्तरिय कालिदेवी संस्थापक भलिबल कपको उपाधि मेलम्ची नगरपालिकालाई

चौतारा- सिन्धुपाल्चोक जिल्लाको सर्वाधिक पुरस्कार राशी भएको कालिदेवी संस्थापक भलिबल कपको उपाधि मेलम्ची नगरपालिकाले जितेको छ। प्रतियोगिताको फाइलनमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिकालाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधिमा कब्जा गरेको हो।

उपाधिसँगै मेलम्चीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पर्‍यो। उपविजेता बनेको चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो। प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको इन्द्रावती गाउँपालिकाले २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार हात पर्‍यो।

कालिदेवी मावि चौताराले आयोजना गरेको प्रतियोगिताको फाइलनमा मेलम्ची नगरपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकालाई सोझो सेटमा हरायो। मेलम्ची नगरपालिकाले २५–१९, २५–१९ र २५–१४ मा पराजित गर्दा उपाधि दाबेदार ठानिएको चौतारा साँगाचोकगढी नगरपालिका कमजोर देखियो। यसअघि बुधबारै तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रावती गउँपालिकाले हेलम्बु गउँपालिकालाई ३–० को सोझो सेटमै स्तब्ध बनाएको थियो।

प्रतियोगिताको उत्कृत व्यक्तिगत उपाधिमा मेलम्ची नगरपालिकाकै बर्चस्व रह्यो। मेलम्ची नगरपालिकाका रमेश खतिवडा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दा मेलम्ची नगरपालिकाकै रमेश भट्टराई उत्कृष्ट स्पाइकर, कृष्ण तामाङ उत्कृष्ट सटर घोषित भए। चौतारा साँगाचोकगढी नगरपालिकाका जगदीश श्रेष्ठ उत्कृट ब्लकर, हेलम्बु गउँपालिकाका अजय तामाङ उत्कृष्ट डिफेन्डर, चौतारा साँगाचोकगढी नगरपालिकालाका हेमबहादुर थापाले उदयीमान खेलाडीको उपाधि जिते। टोलीलाई विजेता बनाउन सफल मेलम्ची नगरपालिकाका राजकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ट्रफी पुरस्कार पाए।

प्रदेश नं. ३ का सांसद सरेश नेपालले विजयी टोली तथा खेलाडीलाई ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए। सातासम्म चलेको जिल्लाका स्थानीय तहस्तरीय प्रतियोगितामा आठ गाउँ÷नगरपालिकाले भाग लिएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले बर्सेनी प्रतियोगिता गर्दै जाने बताए। ‘प्रतियोगितालाई भव्य बनाउन पुरस्कार रकम बढाउँदै लैजान्छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्