२०८१ भाद्र २३
                           

त्रिकोणात्मक सिरिजको उपाधि जिम्बाब्वेलाई, नेपाल दोस्रो

सिंगापुरमा भएको नेपाल, जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा आयोजक सिंगापुरलाई ८ विकेटले हराउँदै जिम्बाब्वेले उपाधि जितेको हो ।

जिम्बाब्वेले टस जितेर बलिङ रोपेपछि पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य जिम्बाब्वेले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरी नित निकाल्यो । जिम्बाब्वेका पिटर मुरले ६० बलमा ९२ रनको इनिङ खेल्दै टोलीलाई सहज जित दिलाएका थिए ।

जिम्बाब्वेले नेपाललाई दुवै खेलमा हराउन सफल भयो भने सिंगापुरसँग एक खेलमा पराजित भयो । सिरिजमा तीनै टोलीले एकर्कासँग २–२ खेल खेल्ने तय भएको थियो । नेपाल र सिंगापुरबीचको  एक खेल भने वर्षाका कारण रद्द भयो ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराई उपाधि जित्ने सम्भावना देखाएको नेपालले तेस्रो खेलमा जिम्बाब्वेसँग ४० रनको हार व्यहोर्‍यो ।  चौथो खेलमा सिंगापुरमाथि फराकिलो अन्तरको जित हात पारी उपाधिको सम्भावनालाई कायम राख्ने नेपालको झिनो आशालाई पनि वर्षाले निराश बनायो ।
यदी यस खेलमा सिंगापुरलाई नेपालले फराकिलो अन्तरमा हराउने र अर्काे खेलमा सिंगापुरले जिम्बाब्वेलाई पराजित गर्न सकेको भए नटरन रेटमा अघि रहँदै नेपालले उपाधि जित्न सक्यो ।

६ अंक बनाएको जिम्बाब्वेले उपाधि जित्दा नेपाल दोस्रो भयो सिंगापुर र नेपालको समान ३–३ अंक भए पनि रनरेटमा नेपाल अघि रह्यो ।  सिंगापुरको त्रिकोणात्मक सिरिजपछि ओमानमा ५ देशबीच हुने टी–२० सिरिजका लागि नेपाली टोली ओमान प्रस्थान गरेको छ ।

ओमानमा शनिबारबाट सुरु हुने टी–२० सिरजिमा नेपालसहित ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङ सहभागी हुनेछन् ।

ओमान टी–२० सिरिजका खेल

५ अक्टुबर : ओमान–हङकङ, आयरल्याण्ड–नेदरल्याण्ड
६ अक्टुबर : ओमान–आयरल्याण्ड, नेपाल– हङकङ
७ अक्टुबर : नेपाल–नेदरल्याण्ड, हङकङ–आयरल्याण्ड
९अक्टुबर : आयरल्याण्ड–नेपाल, ओमान–नेदरल्याण्ड
१० अक्टुबर : हङकङ–नेदरल्याण्ड, नेपाल–ओमान

नेपाली टोली

कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्