२०८१ भाद्र २३
                           

पर्यटक भित्र्याउने योजना बनाउँदै वडा कार्यालय

आन्तरिक तथा बाह्य पर्यटक ल्याउन जुगल गाउँपालिका वडा नं. १ ले विभिन्न योजना बनाउन लागेको छ । वडाध्यक्ष कमल थापाले दिएको जानकारीअनुसार खस्रेडाँडादेखि मैदान लेकसम्मको समथर लेकाली डाँडालाई पर्यटक प्रवद्र्धन केन्द्रको रुपमा विकास गरेर लैजाने योजना छ ।
‘दुई हजारदेखि तीन हजार मिटरसम्मको भूभागमा पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न योजना बनाउँदै छौं,’ वडाध्यक्ष थापाले भने, ‘लेकाली रेन्ज पूरै आन्तरिक पर्यटकका लागि रमणीय स्थल हो ।’
खस्रेडाँडालाई पिकनिक स्पटको रुपमा विकास गरिँदैछ । त्यसैगरी बाँसखर्क क्षेत्रमा भ्यूटावर र चियाबगान बनाइने लक्ष्य छ । बाँसखर्क, खस्रेडाँडा, लामिडाँडा र मैदानबाट जुगल हिमाललगायत हिमाली श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यी लेकाली डाँडाबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । नगरकोट, धुलिखेल, काभ्रेका अधिकांश भूभाग पनि देखिन्छ ।
वडाध्यक्ष थापाले पर्यटकलाई केन्द्रित गरेर विकास तथा पूर्वाधारको कामलाई प्राथमिकता दिएका छन् । लामिडाँडा, मैदान र बाँसखर्कमा होमस्टे सञ्चालन गर्ने लक्ष्य रहेको छ । वडालाई जलविरे र चौताराबाट सडक सञ्जालले सुविधासम्पन्न बनाउने लक्ष्यअनुरुप काम गरिरहेको उनले सुनाए । चौतारा साँगाचोकगढी, पाँचपोखरी थांपाल र जुगलको त्रिसीमानास्थल रहेको यी लेकाली पहाड र समथर मैदान पर्यटकका लागि मनमोहक ठाउँ हुन् । भूकम्पपछि यी ठाउँमा आन्तरिक पर्यटक बढेको थापाले दाबी गरे ।
जुगल हिमश्रृंखलाको दृश्यावलोकन गर्न पाउने गरी विभिन्न पूर्वाधारको विकास गरिने र आन्तरिक पर्यटकलाई जोड दिने वडाकार्यालयको योजना छ । बाँससिम्लेस्थित ब्रम्हायणी नदीमा पक्की पूल बनेमा जुगलको १ र २ नं. वडालाई मात्रै होइन पाँचपोखरी थांपाल र चौतारा साँगाचोकगढी नगरले पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सक्छन् । ब्रम्हायणी नदीमा पुल बनाउन करिब १२ करोड आवश्यक पर्छ । सो पुलको लागि गाउँपालिकाबाटै पहलकदमी हुनुपर्ने जनताको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्