२०८१ मंसिर ७
                           

कारागारमै कमाउदै कैदिबन्दी (भिडियो सहित)

कारागारमै कमाउदै कैदिबन्दी

विभिन्न अपराधमा जिल्ला कारागार चौतारामा कैद भुक्तान गरीरहेका कैदिबन्दीहरु त्यतिकै बस्नुपर्ने समयको सदुपयोग गर्दै आर्थीक उपार्जन गर्न थालेका छन् । खाली बसेर दिन कटाउने उनीहरु मुढा बुन्ने काममा लागेपछि समयको सदुपयोगका साथै आम्दानी समेत गर्न थालेका हुन् । जिल्ला कारागार चौताराको कारागर भवनको क्षमता जम्मा ७ जनाको हो ।

७२ सालको भुकम्पअछि महिला कैदिबन्दी राख्न प्रयोग गरीने कारागारमा अहिले एक सय १५ जना पुरुष कैदी राखीएको छ । एउटै कोठामा तल्ला तल्लाको खाट बनाएर लस्करै सुतेर उनीहरु रात काट्छन् । धेरै संख्यामा भएर पनि खानेपानी बाहेक अरु समस्या नभएको बताउने उनीहरु दिनको समयमा पनि कोठाबाट बाहीर निस्कन पाउदैन थिए ।

कारागार व्यवस्थापनले गत असारबाट कारागारको भित्री प्राङगणमा समेत घुम्न मिल्नेगरी सुरक्षा व्यवस्था मिलाएपछि कैदीबन्दीहरु आयआर्जनका काममा समेत लागेका हुन् । खुला प्राङगणमा आएर डुल्न पाँउदा कैदीबन्दीहरु हर्षीत समेत भएका छन् भने इच्छा हुनेहरु मुढा बुनेर कमाई समेत गर्न थालेका हुन् ।

मुढा बनाउन सबैलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ । कोही चोया बाँध्ने काम मात्र गर्छन भने कोही जाली बुन्ने र कोही टायर बाँध्ने काम मात्र गर्दछन् । यसरी सबै मिलेर काम गरेर तयार भएको मुढा विक्री भएपछि सबैले आफ्नो काम अनुसारको मुल्य पाउने कारागारमा मुढा बनाउन सिकाउने कालीगढ बताउछन् ।

अन्य कारागारमा बसेर मुढा बनाउन दक्ष भएका कालीगढले उनीहरुलाई सिप सिकाएका हुन् । ‘सबैजनालाई फरक फरक जिम्मेवारी दिइएको छ,’ उनले भने –‘मुढा बनाउन आवश्यक सामाग्रीको जोहो भने हामीले नै गरिदिने छौं ।’

यसरी मुढा बनाउदा त्यतीकै खेर जाने समयको सदुपयोग भएको एक कैदीले बताए । फुर्सदको उपयोग गर्दै गरेको कामबाट मासीक तीन चार हजार कमाइ हुने गरेको ती कैदीले बताए । ‘उसै बस्नु पथ्र्यो,’ ती कैदीले भने–‘महिनाको तीन चार हजार रुपैंया भए पनि कमाइृ त हुन्छ ।’

यसरी मुढा बुन्दा कैदिबन्दीकाविच आपसी सहयोगको भावना वृद्धि भएको जिल्ला कारागार चौताराका प्रमुख कृष्णमणी फ्युँयालले बताए । कारागारमा बन्ने मुढा अन्य ठाँउमा पाइने भन्दा आकर्षक र बलियो हुने हुनाले उपभोक्ताहरु कारागारमै आएर किन्ने गरेकाले बजारको समस्या नभएको फ्युँयालले बताए । ‘कारागारमा मुढा उत्पादन हुन्छ भन्ने थाहा भएका उपभोक्ताहरु कारागारमै आएर खरीद गर्ने हुनाले बजारको खासै समस्या छैन’ प्रमुख फ्युँयालले भने –‘ठाँउ अभाव भएका कारण ढाका बुन्ने काम भने गराउन पाइएको छैन ।’

विभिन्न अपराध गरेर सुधारका लागि कारागार चलान गरीएका बन्दीहरुले गरेको यस्ता सिर्जनात्मक कामले अन्यलाई प्रेरण दिन सक्दन । कैद भुक्तान गरेर घर फर्कीदा हातमा सिप समेत लिएर फर्कदा उनीहरुलाई समाजमा स्थापित हुन र स्वरोजगार हुन समेत मद्दत मिल्नेछ ।

भिडियो लिङ्क :

https://youtu.be/WtktKEam9b4

 

प्रतिक्रिया दिनुहोस्