हेलम्बुमा सुत्केरी गराउन बर्थिङ सेन्टर जाने गर्भवती महिला बढेका छन् । जोखिम मोलेर घरमै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्न गाउँपालिकाले अभियान नै सञ्चालन गरेको छ ।
गर्भवती महिलालाई बेथा लागेको जानकारी आउनसाथ पालिकाले घरमै एम्बुलेन्स पठाइदिन्छ । पालिकाभर रहेका बिरामीको सेवा गर्न गाउँपालिका अध्यक्षको प्रत्यक्ष निगरानीमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । गर्भवती महिलाको शारीरिक अवस्था र सुत्केरी हुने समयसहितको सम्पूर्ण विवरण महिला स्वास्थ्य स्वयम्सेविकाले मोबाइलमा सुरक्षित राख्छन्् । स्वयम्सेविकाले प्रयोग गर्ने मोबाइल, सिम र रिचार्जकार्ड गाउँपालिकाले नै उपलब्ध गराउँछ ।
सुत्केरी महिलालाई सरकारले नियमित दिँदै आएको तीन हजारमा अर्को तीन हजार थपेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि सुत्केरी गराउन बर्थिङसेन्टर आउने बढेका हुन् । सुत्केरीबेथा लागेदेखि बच्चा जन्मेर आमा र बच्चा दुवै सुरक्षितसाथ घर पु¥याउँदा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्दै आएको छ । दुई वर्षअघि सुत्केरी महिलालाई सेवासुविधा घोषणा गर्दा बर्थिङसेन्टर आउने जम्मा पाँचजनामात्रै थिए ।
‘पालिकाभर र बाहिरका गर्भवती महिला पनि सुत्केरी सुविधा लिन हेलम्बु आइपुगेका छन्,’ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुत्केरी गराउन आउने महिला बढेको बताउँदै भने, ‘अब त सुत्केरीबेथा लाग्नसाथ गाउँपालिकालाई खबर आउँछ ।’
गतवर्ष ७४ महिलाले इचोक र महांकाल बर्थिङ सेन्टरबाट बच्चा जन्माएका थिए । यो वर्षको चौमासिकसम्म ४९ महिला बर्थिङ सेन्टर आएर सुत्केरी भएका छन् । हिमालमुनिको गाउँ मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ र घांग्यूलबाट गर्भवती महिलाको परिवारले सुत्केरीबेथा लाग्नसाथ गाउँपालिकास्थित महिला स्वास्थ्य स्वयम्सेवीकालाई फोन गर्ने परम्परा स्थापित भएको छ । गाउँपालिका केन्द्र तल किउलबेसीमा छ । इचोक र महांकाल बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकेर रिफर भएका गर्भवतीलाई लाग्ने खर्च पनि गाउँपालिकाले नै व्यहोर्ने गरेको हेलम्बु स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्र सिग्देलले बताए । मेलम्ची नगरपालिकाको दुवाचौर, तालामाराङ र नुवाकोट जिल्लाको कुटुम्साङबाट पनि गर्भवती महिला हेलम्बुको बर्थिङ सेन्टर पुग्ने गर्छन् । एउटा बर्थिङ सेन्टरमा दुईवटा वेटिङ रुम र एउटा भान्छा घर सञ्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्