२०८१ भाद्र २३
                           

‘वैचारिक संघर्ष हुन्छ तर गुटको विरोध गर्नुपर्छ’- निम्फुञ्जो शेर्पा

बाह्रबिसे नगरपालिका प्रमुख निम्फुञ्जो शेर्पा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पनि हुन् । सिन्धुपाल्चोक जिल्ला समितिको सचिवालयमा रहेका शेर्पाले ०४६ देखि राजनीतिमा योगदान गरेका छन् । उनी भन्छन्, ‘राजनीतिमा वैचारिक संघर्ष गर्ने हो । कुनै व्यक्तिको पछि लाग्ने वा विरोध गर्ने होइन । गुट बनाएर पार्टीलाई हानी गर्ने परिपाटीको सबैले विरोध गर्नुपर्छ ।’

स्थानीय तह गठनपछि तपाइँको नेतृत्वमा बाह्रबिसे नगरमा केके काम भए ?
प्रदेश नं. ३ कै सबैभन्दा उत्कृष्ट ब्याटमिन्टन कभर्डहल बन्यो । जसले युवालाई उत्साही बनाएको छ । बाह्रबिसे बजारमा कालोपत्रे, सिसी क्यामेरा र सोलार बत्ती जडान गरेर सफा र स्वच्छ बनाइएको छ । नगरका सबै माध्यमिक विद्यालयमा सोलार बत्ती, सिसी क्यामेरा र साउण्ड सिस्टम उपलब्ध गराइएको छ । वडावडामा घुम्ती शिविर राखेर नागरिकता वितरण सामाजिक सुरक्षा भत्ता र कार्ड वितरण, स्वास्थ्योपचार प्रदान गरिएको छ । कृषकलाई बिउ वितरण र कृषि उत्पादनमा जोड गरिएको छ । शिक्षा सम्मेलन गरेर ऐन, नियमकानून बनाइएको छ । सबै विद्यालयमा मन्टेश्वरी र अंग्रेजी माध्यम गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रलाई वितरण गरिएको छ । वडा नं. ७ मा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर खेलमैदान निर्माण भइरहेको छ । बाह्र महिना सडक सञ्चालन र सफा राख्न टिपर, स्काभेटर, जेसिभी, फोहर उठाउने गाडी र विरामी बोक्ने एम्बुलेन्स सेवा सधैँ स्ट्याण्डबाइ राखिएको छ । स्थानीय तह गठन भएको यो छाटो अवधिमा हामीले यस्ता काम गरेका छौं । विकास र समृद्धिमा निरन्तर लागिरहन्छौं ।

मध्यभोटेकोसी समयमा सकिएन । अहिले पनि निकै ढिलो गरी काम भएको सुनिन्छ । यथार्थमा के हो ?
पहिला काम ढिलो भएको थियो । विभिन्न मानिसको स्वार्थले काम गरेको थियो । तर, मैले बेलाबेलामा गएर कडाइपूर्वक काम गर्न पहलकदमी लिएकोले अहिले कामले गति लिएको छ । हामीले सर्वपक्षीय टिम बनाएर समग्र कामको अनुगमन गर्ने तयारी गरेका छौं । अब १५ महिनामा काम सकिन्छ । दुई वर्षभित्र विद्युत उत्पादन सुरु हुन्छ भन्ने मेरो विश्वास छ । मध्यभोटेकोसीका प्रमुखले पनि हामीसँग यही कुरा गर्नु भएको छ । अबको ६ महिनामा पावरहाउस बनिसक्छ । ड्याम, सुरुङ र अन्य काम धमाधम हुँदैछ । अब धेरै समय लाग्दैन । काम द्रुत गतिमा अगाडि बढ्दै छ ।

तातोपानी नाका पूर्णरुपमा किन सञ्चालनमा नआएको हो ?
मेरो केही चिनियाँ साथीहरुसँग कुराकानी भएको थियो । तातोपानी नाका राम्ररी चल्न समय लाग्छ । तर, यो नाका नै निरन्तर चल्ने हो । रसुवागढी नाका रेलमार्ग हो । हामी सबैले गोन्झाओबाट सामान हाल्ने हो । त्यो तातोपानी भएरै काठमाडौं र अन्य सहरमा लाने हो । तातोपानीबाट धमाधम सामान आइरहेको पनि छ । बरु पर्यटकको हकमा रसुवागढी केरुङ भएर मानसरोबर जाने र आउँदा चाहिँ तातोपानीबाट फर्कने विषयमा छलफल भइरहेको छ । तातोपानी नाकाको भविष्य उज्वल नै छ । पहिलाजसरी सञ्चालन हुन केही समय कुर्नुपर्ला ।

तपाइँ नेकपाको नेता पनि हुनुहुन्छ । सिन्धुपाल्चोक पार्टीमा गुट सञ्चालन भएकोले संगठनमा गति छैन भन्ने सुनिन्छ नि ?
त्यो हल्ला हो । नेकपाभित्र वैचारिक संघर्ष छ । गुटको हामी विरोधी हौं ।
तर, सापकोटा र कर्माचार्य एकातिर अरु नेता अर्कोतिर भएर ठूला गुट सञ्चालन गरेको विषय बाहिर आएका छन ?
हाम्रो पार्टी देशको सबैभन्दा ठूलो संगठन भएको राजनीतिक शक्ति हो । यहाँ विभिन्न विचारका बीचमा बहस, छलफल र संघर्ष हुन्छ, भइरहेको छ । यसको अर्थ पार्टी नै अलगजसरी गुट छ भन्ने अर्थमा होइन । एउटा सशक्त र जीवित पार्टीमा संघर्ष हुन्छ नै । तर, हामीले गुटको पूरा विरोध गर्ने गरेका छौं । सिन्धुपाल्चोकको हकमा अग्निप्रसाद सापकोटा र अमृतकुमार बोहोरा हाम्रो अभिभावक हुनुहुन्छ । उहाँहरुको निर्देशन मान्ने हो । पार्टी अध्यक्ष झम्क नेपाल हुनुहुन्छ । पार्टीले निर्णय गरेको कुरा हामीले मान्ने हो । नीति कार्यक्रमअनुसार काम गर्ने हो । कम्युनिष्ट पार्टीमा सदस्य भएपछि त्यहाँ अनुशासन हुन्छ । दलाल पूँजिपति र नोकरशाहीजस्तो व्यक्तिवादी गुट वा समुह बनाएर राजनीति जसले गर्छ त्यो अन्ततः सकिन्छ । कर्माचार्य र सापकोटा वा अर्को भन्ने गुट छैन । र, भएछ भने हामी त्यसको कडा विरोधी हुन्छौं । आजसम्म यस्तो भएको मलाई थाहा छैन । यद्यपि, यदाकदा गुट अनि ससाना उपगुट बनेको र त्यसतर्फ बहस गरेको सुनिन्छ । मेरो हकमा म गुटमा विश्वास गर्दिन । सिंगो पार्टी नै हाम्रो चाहना हो । अब त पूर्वएमाले र पूर्वमाओवादी पनि भन्न छाडौं । सबैले हाम्रो नेकपा भनौं । यही पार्टीलाई जनताको सेवा गर्ने अब्बल संगठन बनाऔं ।

उपनिर्वाचनले दिएको सन्देश के हो
नेपालमा कम्युनिष्टको अपरिहार्यता छ भन्ने स्पष्ट जनमत प्रकट भयो । कम्युनिष्ट सरकारले केही गरेन भनेर विपक्षीले हल्ला पिटाएको थियो । तर, जनताले बुझेका छन । लामो समय कांग्रेस सत्तामा बस्यो तर केही गरेन नि ? त्यो त हामी सबैले देखेका र भोगेका छौं । उपनिर्वाचनले स्पष्ट संकेत ग¥यो कि देशमा कम्युनिष्टको बिकल्प छैन । तर, धेरै हड्बडाएर र मात्तिएर होइन जनमुखी भएर सेवामा लाग्न घच्घचाएको छ ।

पार्टी केन्द्रमा अध्यक्षद्वयको भूमिकालाई कसरी हेर्नुभएको छ ?
पहिला मिलेको थिएन । अहिले मिल्यो । कम्युनिष्ट पार्टीमा एक व्यक्ति एक पद राम्रो हुन्छ । कमरेड ओलीले सरकार र कमरेड प्रचण्डले पार्टी चलाउने कुराले सबैलाई उत्साही बनाएको छ । अब पार्टी र सरकार दुवैतर्फ कामले गति लिन्छ । चिचीको नि लोभ पापाको नि लोभ भयो भने कुनैपनि व्यक्ति असली रुपमा कम्युनिष्ट हुँदैन । अहिले कमरेड ओलीले जुन स्टेप चाल्नुभयो, उचित भयो । अर्को कुरा राम्रो काम गर्ने मन्त्रीलाई निकालेर अरु ल्याउनु हुँदैन्थ्यो । खैर, पार्टीमा पदीय जिम्मेवारी मिलाउने कुरा विस्तारै मिल्दै गएको छ । प्रचण्डको नेतृत्वमा संगठन मजबुत बन्ने विश्वास गरौं ।

(जुगल खबरको लागि पत्रकार रामकृष्ण थापाले मेयर शेर्पासँग गरेको कुराकानीको सम्पादित अंशः)

प्रतिक्रिया दिनुहोस्