सिन्धुपाल्चोक इन्द्रावती –९ कि आशमाया लामा (५५) को दैनिकी अचेल बेफुर्सदीलो बनेको छ । गोठमा भैंसी र बाख्रा स्याहारेर दिन विताउने गरेकी उनी बारीमा टंडेल हालेर गोलभेडा खेती गर्न थालेपछि बेफुर्सदी थपीएको हो ।
गत साउनमा कोदो रोप्नुपर्ने बारीमा फलामका पाइप गाडेर प्लाष्टिक टंडेल लगाएपछि उनलाई कामको भार थपिएको हो । ‘पहिले गोठमा बस्तुभाउको स्याहार गरेर बसिन्थ्यो, खासै कमाइ हुदैनथ्यो,’ उनले भनिन् –‘अहिले टंडेलमा गोलभेंडा खेती गर्न थालेपछि काम पनि थपिएको छ र कमाई पनि बढेको छ ।’ ५ वटा बाख्रा र एउटा भैंसी पालेर बसेकी लामाले गोलभेडा खेती गरेर कमाइ ह्ुन थालेपछि उत्साहित बनेकी छिन् ।
असोज महिनामा रोपेकोे गोलभेँडाको बिरुवाबाट फल्न थालेको एक महिनामै ३५ हजार कमाइ भएको उनले बताइन् । ‘वरीपरि गाँउबाट गोलभेडा किन्न टंडेलमै आइपुग्छन्,’ बजारको समस्या नभएको भन्दै उनले सुनाइन् –‘किलोको ६० देखि ७० रुपैंयामा घरबाटै विक्रि हुन्छ ।’
थोपा सिँचाइको प्रयोग गरी गोलभेडा खेती गरेकी उनले थोरै लगानीमा धेरै आम्दानी भएकोले अर्को टँडेल पनि थपेर खेती गर्ने योजना बनाएकी छिन् । अर्को टँडेल थपेर प्याज लगाउने योजना बनाएको उनले सुनाइन् । ७ जनाको परिवारलाई आवश्यक घरखर्च गोलभेडाले धानेर केही रकम समेत गर्न सकेको उनले बताईन् ।
आशमायालाई टँडेल खेतीको लागि प्रेरणा भने संयुुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोगमा सिन्धु उत्थान केन्द्रले दिएको हो । केन्द्रको भुकम्पपछिको जिविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत प्लाष्टिक टँडेल निर्माण को लागि प्लाष्टिक र थोपा सिञ्चाइको लागि ड्रम र पाइप सहयोग गरेपछि उनले फलामको डण्डी र निर्माण ज्याला आफैले व्यहोरेर टंडेल निर्माण गरेका हुन् । ‘हामीले आठ हजार रुपैंया बराबरको सामाग्री सहयोग गरेका हौं,’ कार्यक्रमका इन्जिनियर अष्टराम छुँकाले भने –‘बाँकी रकम र विउ उहाँ आफैंले व्यवस्थापन गरेर खेती गर्नुभएको हो ।’
एक हजार भन्दा कम मुल्यको कोदो फल्ने बारीमा दुइ महिनामै ३५ हजार भन्दा बढी आम्दानी भएपछि लामा परिवार हौसिएका छन् । अब अर्को पनि टँडेल थपेर खेती विस्तार गर्ने उनीहरुको योजना छ ।
प्रतिक्रिया दिनुहोस्