२०८१ भाद्र २३
                           

चिनियाँ लगानीमा सुविधा सम्पन्न विद्यालय निर्माण

चिनियाँ लगानीमा सुविधा सम्पन्न विद्यालय निर्माण

चनौते – छिमेकी देश चीनको आर्थिक तथा भौतिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा दुर्गम बस्तीका लागि सुविधासम्पन्न विद्यालय निर्माण गरिएको छ । १७ डिसेम्बर २०१७ बाट भवन निर्माण सुरु भएको थियो । दुई वर्ष अवधिमा ठूलासाना ६ वटा भवन निर्माण सम्पन्न भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद अग्निप्रसाद सापकोटाको पहलमा विद्यालय निर्माण भएको हो । चीनकै विद्यार्थीले पढ्ने मापदण्ड र आधुनिक सुविधाले सम्पन्न ‘चिनियाँ मोडेल’ को सो विद्यालय बनाउन एक अर्बभन्दा बढी रकम लगानी भएको छ । सुविधासम्पन्न पाँचवटा भवन निर्माण सम्पन्न गर्दा बालुवा, गिटी र ढुंगामात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो । दुई वर्षमा निर्माण सकेको चिनियाँ टोलीले विद्यालय बनाउन निकै मिहिनेत गरेका थिए । निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए ।
८४ कोठाको होस्टेल
जुगल गाउँपालिका सबै हिसाबले जिल्लाको दुर्गम क्षेत्र हो । यहाँको कतिपय गाउँमा मोटरबाटो र बिजुलीबत्तीसमेत पुगेको छैन । वडा नं. ५ चनौटेमा रहेको एक समथर चउरमा विद्यालय छ । विद्यालयको नाम रत्नराज्य मावि हो । यो विद्यालय गाउँपालिकाको केन्द्रमा छ । बिगतमा शैक्षिक तथा भौतिक अवस्था कमजोर थियो । चिनियाँ लगानीमा ठडिएको यस विद्यालयमा छात्र÷छात्रा बस्ने ८४ कोठाको ठूलो भवन छ । होस्टेलका कोठा चिनियाँ मोडेलका छन् । चीनको राजधानी बेइजिङमा पढ्ने विद्यार्थीले पाएजस्तो सुविधा कोठामा उपलब्ध छन् । प्रत्येक कोठामा एटेच बाथरुम, तातोचिसो पानी र बेड छन् ।
दिउँसो पढ्ने कक्षाकोठा २४ वटा छन् । विद्यालय प्रशासन चलाउन २२ कोठा छन् । विद्यालय छेवैमा ठूलो क्यान्टिन भवन छ । किचेन र डाइनिङ हल छुट्टाछुट्टै छन् । अलिक पर पालेघर र विद्युतगृह रहेका छन् । बाहिर पनि थुप्रै कोठा भएको शौचालय छ । लाइब्रेरी, चिनियाँले नै दिएको ५० वटा कम्प्युटरसहितको कम्प्युटरकक्षा, विज्ञान प्रयोगशाला र प्रत्येक कक्षाकोठामा यथेष्ट शैक्षिक सामग्री राखिएका छन् । विद्यालयमा पाँच सय विद्यार्थी र २४ शिक्षक छन् । नयाँ विद्यालय व्यवस्थापनको लागि कम्तीमा पाँच कर्मचारी आवश्यक परेको विव्यसले बताएको छ ।
जुगलवासी हर्षित
जुगल गाउँपालिकामा तामाङ समूदायको बाहुल्यता छ । गुम्बाको तेम्बाथाङ, गोल्चेको लिदी, हिमाली बस्तीहरु बिसिंखर, हगाम, पाङताङ, सिन्दुर्चे, निम्लुङ, सञ्चगाउँलगायतका बालबालिका रत्नराज्य माविमा पढ्न आउँछन् । ती ठाउँबाट विद्यालय आइपुग्न झण्डै दिउँसभर लाग्छ । कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो । ‘सुविधासम्पन्न छात्रावास बनेपछि शिक्षा प्राप्त गर्न हामीलाई थप हौसला मिलेको छ,’ १० कक्षामा पढ्ने विद्यार्थी राम बिकले भने । बिकजस्तै पाँच सय बालबालिका नयाँ विद्यालय बनेसँगै हर्षित भएका छन् । भाडाको कोठामा बस्दा विशेषतः दलित र छात्राको लागि विभिन्न समस्या आउने गर्थे । छात्राबास बनेकोप्रति सिंगो जुगलका अभिभावक खुसी भएका छन् । छात्राबासमा बस्ने विद्यार्थीले खानाका लागि भने निश्चित पैसा तिर्नु पर्नेछ । ‘हस्तान्तरणपछि ९ पुसबाट विद्यार्थीले नयाँ विद्यालयको प्रयोग गर्नेछन्,’ प्रधानाध्यापक छन्दप्रसाद काफ्लेले भने, ‘भौतिक सुविधाले सम्पन्न हाम्रो विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न भने ठूलो चुनौती छ ।’ आर्थिकस्रोत व्यवस्थापन गर्नसके हरेक चुनौतीको सामना गर्न सकिने उनले बताए ।
पहलकर्ता सापकोटा भन्छन्
‘शिक्षाप्रति समर्पणको द्योतक’
पूर्वमन्त्रीसमेत रहेका सांसद अग्निप्रसाद सापकोटा चौतारा साँगाचोकगढी नगरपालिका कुबिण्डे निवासी हुन् । उनले साँगाचोकको जनजागृति माविमा १३ वर्ष अध्यापन गरे । कुबिण्डेमै पनि कृषि शिक्षालय छ । तर, उनले चिनियाँ सहयोग लगेर जिल्लाको सबैभन्दा दुर्गम बस्तीमा विद्यालय स्थापना गर्न पहलकदमी लिए ।
‘जनयुद्धको आधार इलाका र सबैभन्दा पिछडिएका समुदायको बस्ती भएकोले मैले पाँच वर्षअघि चीन सरकारलाई जुगल क्षेत्रमै विद्यालय निर्माण गर्न भनेको हुँ,’ उनले भने, ‘यो मेरो शिक्षाप्रति समर्पण भावको द्योतक हो ।’ पाँच वर्षअघि जिल्लामा तीनवटा निर्वाचन क्षेत्र थिए । सापकोटा त्यतिबेला २ नं. क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यति बेलादेखि नै उनले एउटा सुविधासम्पन्न नमूना विद्यालयको लागि चीन सरकारका अधिकारीसँग कुराकानी गरेका थिए । चीन सरकारले विद्यालय बनाउने वचन त दियो तर सदरमुकामआसपास भनेको थियो । ‘सबै कठिनाइलाई चिरेर दुर्गममै विद्यालय बनाउने मेरो अठोटमा चिनियाँ अधिकारीले पछि समर्थन गरे,’ बिगत सम्झँदै उनले भने, गणतन्त्र प्राप्त भएपछि सबैभन्दा उत्पीडित र पिछडिएको क्षेत्रलाई हेर्ने मेरो संकल्प थियो । त्यही गरियो ।’ एक अर्बभन्दा माथिको विद्यालय भवन ऋण नभइ चिनियाँको माया भएको उनले सुनाए । २५ ÷५० जना विद्यार्थीका लागि एडीबीको पाँच करोड÷१० करोड ऋणमा बनेको विद्यालय भवनजस्तो नभएको उनले प्रष्ट्याए । विद्यालयको लागि आवश्यक आर्थिक तथा भौतिक सहयोगका लागि चीन सरकारको अधिकारीले निरन्तर कुराकानी गरिरहेको पनि उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्