२०८१ भाद्र २३
                           

सीमामा नेपाल–चीन पक्षबीच विवाद

सीमामा नेपाल–चीन पक्षबीच विवाद

तातोपानी – तातोपानी नाका पुनःसुचारु भएको सात महिना भयो । यो अवधिमा तातोपानी सुख्खा बन्दरगाहबाट ५० करोडभन्दा बढी राजस्व पनि संकलन भइसकेको छ । यद्यपि, मितेरीपुल नजिक रहेको अध्यागमन कार्यालय र नेपाली सुरक्षापोष्ट आसपास नेपाली सरकारी अधिकारी र चिनियाँ पक्षबीच विवाद भइरहन्छ ।
विवाद सामान आयात–निर्यात सम्बन्धमा होइन । विवाद वारिपारि आउजाउ गर्दाको हो । तातोपानी भन्सारको पुरानो घरमा नेपाली अध्यागमन कार्यालय सधैँ स्ट्याण्डबाइ काममा हुन्छ । चिनियाँ पक्ष लिपिङ आउँदा अध्यागमनले खुरुखुरु पास बनाइदिन्छ । चिनियाँहरु विनारोकटोक नयाँपुल र बाह्रबिसेसम्म आउनेजाने गर्छन् । तर, अहिले नेपाली पक्षले चिनियाँलाई बाह्रबिसे आउजाउमा कडाइ गरेको छ । सोही विषयलाई लिएर लिपिङ प्रवेश गरेका चिनियाँ र नेपाली पक्षबीच विवाद हुने गरेको पाइएको छ ।
व्यापारको लागि खासा वा न्यालमसम्म जान चाहने नेपालीलाई अध्यागमन कार्यालय कोदारीले वानडे पास दिन्छ । तर, विभिन्न कारण देखाउँदै चिनियाँ पक्षले नेपालीलाई मितेरीपुलमै रोक्छन् । उनीहरुले चाहेका र राम्ररी पहिचान भएका व्यापारीबाहेक कसैलाई पनि खासा प्रवेश गर्न दिँदैनन् । अत्यावश्यक काममा जाने नेपाली पनि सीमा कटेर जान पाउँदैनन् । यता नेपालपटि अध्यागमनले चिनियाँ अधिकारीले भनेजति नै पास बनाइदिने गरेको छ । अध्यागमनसँगै रहेको सशस्त्र प्रहरीले चिनियाँलाई सहजै छाडिदिन्छन् । तर, १० किलोस्थित रहेको जनपथ प्रहरीको चेकपोष्टले आजकाल रोकिदिने गरेको छ । यसै विषयलाई लिएर चिनियाँहरु नेपाली सरकारी अधिकारी र सुरक्षा संयन्त्रसँग विवाद गर्छन् । आफ्नो गुनासो पोख्छन् ।
नाका पुनःसुचारु भएपनि बिगतमा लागु गरिएको ‘३० किलोमिटर’ को समझदारी नवीकरण भएको छैन । ‘सीमा सुरक्षामा हामी गम्भीर छौं । तर, एकोहोरो पेल्ने प्रवृत्तिले कहाँ हुन्छ ?’ सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भनिन्, ‘चिनियाँहरु स्थानीय प्रशासनलाई जानकारी नै नदिइ बाह्रबिसेसम्म आइरहेकोले हामीले अहिले कडाइ गरेका हौं ।’ नेपाल–चीन सीमाबाट दुवैपटि ३० किलोमिटरसम्मका स्थानीयलाई वारिपारि आउजाउ गर्ने गरी बिगतको नियम लागु भएको छैन । ‘३० किलोमिटरको पुरानो समझदारी नवीकरण भएको छैन,’ उनले भनिन्, ‘नेपाली को–को खासा पुगे र चिनियाँ को–को बाह्रबिसेसम्म आए भन्ने कुनै रेकर्ड छैन ।’ यद्यपि, जिल्ला प्रशासनको प्रमुख भएकोले नाकामा हुने गतिविधिको सबै रेकर्ड चेम्जोङसँग हुनुपर्ने हो । चिनियाँ पक्षलाई कडाइ गरेको सर्कुलर सशस्त्र र अध्यागमनलाई थाहै छैन । अध्यागमन खुरुखुरु पास बनाउँछन् अनि सशस्त्रले नाकाबाट नेपालपटि सहजै पठाइदिन्छन् ।
नेपालीलाई नाकामा चिनियाँहरु अति नै कडाइ गर्छन् । अनि उनीहरु चाहिँ बाह्रबिसेसम्म बिनारोकटोक आउन पाउनुपर्ने भन्दै विवाद निकाल्छन् । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले नेपाली व्यापारी र मजदुर खासासम्म सहजै गइरहेकोले चिनियाँ पक्षलाई पनि नयाँपुलसम्म सहजै जान दिन अध्यागमन र सुरक्षा निकायलाई अनुरोध गरेको बताए । आइतबार नयाँपुल आउन लागेका चिनियाँ अध्यागमनका सरकारी अधिकारीलाई १० किलोमा जनपथले लामो समय रोकेर छोडेको थियो । जिल्ला प्रशासनको निर्देशनमा जनपथले त्यसरी रोकेको थियो । चिनियाँहरु सीमा सुरक्षालाई कारण देखाएर बाह्रबिसेसम्म अवलोकन गर्न चाहन्छन् । उनीहरु नेपालपटि सूचना संकलनका लागि आउने गरेको हुनसक्ने नेपाली सरकारी पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्