२०८१ भाद्र २३
                           

खासाबाट चिनियाँ पर्यटक भित्र्याउन भोटेकोसीको पहल

तातोपानी- सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन भोटेकोसी गाउँपालिकाले जनवरी फस्टमा चिनियाँ अधिकारीलाई नेपाल ल्याएर स्वागत गरेको छ ।

चीन स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका डेपुटी सेक्रेटरी मिस्टर लाबा छिरेन, खासा क्षेत्रको प्रशासकीय अधिकृत मिस्टर यानजिन सहितको १५ सदस्य टोलीलाई मितेरीपुलमा नेपाली अधिकारीले स्वागत गरेका हुन् ।  खासा क्षेत्रमा रहेको चिनियाँ भन्सार, अध्यागमन, क्वारेन्टाइन, प्रहरी र जनमुक्ति सेनासहित चिनियाँ अधिकारी भोटेकोसी गाउँपालिकाको निमन्त्रणामा तातोपानी हुँदै नयाँपुलसम्म आएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पा, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहित स्थानीय सरकारका प्रमुख र सुरक्षा निकायसंवद्ध अधिकारीले चिनियाँ अधिकारीलाई स्वागत गरेका थिए ।

खासा क्षेत्रबाट तातोपानी हुँदै नेपालको विभिन्न भागमा चिनियाँ पर्यटक ल्याउन भ्रमण वर्षको सुरुमा चिनियाँ अधिकारीसँग छलफल गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोटेकोसी गाउँपालिका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।  चिनियाँ अधिकारीलाई तातोपानी क्षेत्रमा स्थानीय शेर्पा, थामी र नेवार समुदायले आ–आफ्नो संस्कृति झल्कने झाँकी प्रदर्शन गरेर स्वागत गरेका थिए । स्थानीय क्लब, तातोपानी धारा समिति, आमा समूह र होटेल व्यवसायीले चिनियाँ अधिकारीलाई होटेल स्मल हेभनमा राखेर भ्रमण वर्ष सफल बनाउन सहयोग गरिदिन आग्रह गरे । नेपालीलाई खासा क्षेत्रमा प्रवेश सहज बनाउन र तिब्बतका नागरिकलाई भोटेकोसीको पर्यटकीय गन्तब्यसम्म आउन दिन अनुरोध गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । भोटेकोसी क्षेत्रमा रहेको तातोपानी धारा, दुगुनागढी, नारायणथान, बन्जीजम्प, लिस्तीमाई र हिमाली क्षेत्रको दृश्यावलोकन गर्न आउन भोटेकोसी सरकारले न्यालम जिल्लालाई औपचारिक रुपमा निमन्त्रणा गरेको छ ।

नेपाली पक्षको आग्रहलाई मनन गर्दै डेपुटी सेक्रेटरी मिस्टर लावा छिरिङले चिनियाँ पर्यटक नेपाल पठाउन तिब्बत सरकारले गृहकार्य गरिरहेको बताए । चीन–नेपाल सरकारको उच्च तहमा समझदारी बनेमा खासा क्षेत्रबाटै नेपालको विभिन्न गन्तब्यमा चिनियाँ पर्यटक आउने उनले स्पष्ट पारे । सुरक्षामा दुवै पक्षको समान चासो र सहकार्य रहेमा भ्रमण वर्षभित्रै खासा क्षेत्रबाट पर्यटक आवतजावत गर्न सक्ने गरी काम भइरहेको चिनियाँ अधिकारीले जनाए ।

प्रतिक्रिया दिनुहोस्