२०८१ भाद्र २३
                           

भ्रमण वर्षलाई भोटेकोसीले भव्य बनाउने

जनवरी फस्टबाट सुरु भएको भ्रमण वर्ष २०२० लाई पर्यटकीय, धार्मिक र सामरिक महत्व बोकेको भोटेकोसी गाउँपालिकाले कसरी मनाउँदैछ ? भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले भ्रमण वर्षलाई भव्यतापूर्वक मनाउने र आर्थिक उपार्जनलाई बृद्धि गर्ने योजना यसरी सुनाए ।

  • भ्रमण वर्षलाई यसरी मनाउँछौं
    आन्तरिक र बाह्य पर्यटकलाई भोटेकोसीमा स्वागत गर्न सबै होटेल तथा लजमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । हरेक पर्यटकीय गन्तब्यमा फ्लेक्सबोर्ड राखेर त्यसको विशेषतासहितको जानकारी दिने योजना छ । यो काम सुरु भइसकेको छ । भोटेकोसी महोत्सव गर्ने योजना छ । फागुनको अन्त्यतिर भ्रमण वर्षलाई लक्षित गरेर महोत्सव आयोजना गरिँदैछ ।
  • पर्यटकीयस्थल र विशेषता
    बन्जी जम्पमा बन्जी, क्यानोनिङ, हाइकिङ, स्वीङ, भैरबकुण्ड ट्रेकिङलाई व्यवस्थित बनाइने छ । तातोपानी धारा, लिस्तीमाई, जैमिन थैपी नारायण मन्दिर, सात सय वर्ष पुरानो मानव खप्पर जुन सेलाङकट्टीमा छ, यिनीहरुको पहिचान र विशेषतालाई पर्यटकमाझ प्रचार गरिनेछ ।
    नेपाल र तिब्बतबीच भएको युद्धको मोर्चा ऐतिहासिक दुगुनागढीलाई संरक्षण र यसको महत्वबारे प्रचार गरिनेछ । रमणीय भूभाग र हिमाली श्रृङ्खलाबाट देखिने तिब्बत र नेपालको विभिन्न प्राकृतिक दृश्यलाई पर्यटकमाझ समेटिने छ ।  आनी गुम्बा, विभिन्न ऐतिहासिक गुम्बाहरु, चैत्यहरु र छगाम बगामको हिमाली मनोरम दृश्यलाई समेटिने छ ।
  • नाकालाई थप व्यवस्थित गरिनेछ
    नाका सुचारु भएको ६ महिना बितेको छ । तैपनि यसले गति लिएको छैन । यसैलाई मध्यनजर गरेर तिब्बत सरकारको न्यालम जिल्लाका डेपुटी सेक्रेटरी मिस्टर लाबा छिरेनसँग मेरो कुराकानी भएको छ । खासालाई व्यवस्थित बनाएर पर्यटन र व्यापारलाई कसरी व्यवस्थित रुपमा चलाउने भन्नेबारे लामो छलफल गरिएको छ । चिनियाँहरुको भनाइँअनुसार एक महिनापछि खासा लिपिङ खुद्रा व्यापार सुरु हुँदैछ । यसका लागि चिनियाँ राजदूताबास, नेपाल सरकार, प्रदेश सरकार र विभिन्न निकायमा छलफल भएको छ । भ्रमण वर्षलाई लक्षित गरेर खासा नाकालाई सहज बनाउने विषयमा चिनियाँ अधिकारी सकारात्मक छन् । नेपाल सरकारले पनि त्यहीअनुसार पहल गरिरहेको छ । भोटेकोसी सरकारले त सबै बल लगाएर नाकालाई व्यवस्थित बनाउने काम गरिरहेको छ । यसो भएपछि आन्तरिक तथा बाह्य पर्यटक भोटेकोसीमा बृद्धि हुनेछ । तातोपानीमा रहेको अध्यागमनमार्फत् चिनियाँ अध्यागमन अधिकारीलाई भ्रमण वर्ष २०२० बारे जानकारी गराएका छौं । तिब्बतबाट भोटेकोसी हुँदै नेपालमा चिनियाँ पर्यटक आउने कुरामा म विश्वस्त छु ।
  • पर्यटकीय आकर्षण
    प्याराग्लाइडिङ, लिस्ती र नारायणथानमा होमस्टे, साइक्लिङ मार्ग, देउढुंगासम्म टे«किङरुट बनाउने । मनमोहक हिमाली दृश्यावलोकन गर्न विभिन्न स्थानलाई भ्यूटावरको रुपमा विकास गर्ने ।
  • विकास निर्माण र उत्पादन
    भोटेकोसीमा भौतिक पूर्वाधारको विकास तीब्र छ । पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार बनेको छ । स्वास्थ्य, शिक्षा, कृषि, होमस्टे, पर्यटन प्रवद्र्धन, होटेल रेस्टुरेन्टलगायत विकास भएका छन् । ऐतिहासिक तथा पुरातात्विक महत्वका मन्दिर, गुम्बा र चैत्यहरुको काम तीब्र गतिमा अघि बढाइएको छ । बाटोघाटो, पानी, बिजुली र अन्य सुविधाको पहुँच विस्तार भएको छ । शैक्षिक क्षेत्रको विकास नगरीकन कहिँकतै विकासको मुहार उज्यालो नहुने भएकोले गुणस्तरीय शिक्षाका लागि लगानी गरिएको छ । मन्टेश्वरी शिक्षा सुरु गरिएको छ । २९ मध्ये १० विद्यालयका बालबालिकालाई नितान्त मेरो व्यक्तिगत खर्चबाट शैक्षिक सामग्री वितरण गरिएको छ । बाँकी सबै विद्यालयलाई वितरण गर्ने अभियान जारी नै छ । स्वास्थ्य क्षेत्रमा पनि जटील रोगका बिरामीलाई गाउँपालिकाले २५ हजार सहयोग गर्ने तथा थाइरोइड र ब्लड प्रेसरको औषधि पनि वितरण गरिने क्रम सुरु गरिएको छ ।
  • पुनर्निर्माण अन्तिम चरणमा
    भूकम्पले ध्वस्त भएको भोटेकोसी गाउँपालिकाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । ८० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर तथा गुम्बाको काम पनि द्रूत गतिमा अघि बढेको छ । अक्सफामको सहयोगमा त्याङ्थलीमा २३ घर, द्वारिका फाउण्डेशनको सहयोगमा दुगुना क्षेत्रमा १५४ घर र विभिन्न निकायको सहयोगमा लिस्तीको सेमुङमा ३२ घर निर्माण हुँदैछ । यसलाई होमस्टेको रुपमा विकास गरिने लक्ष्य छ । यी तीनै एकीकृत बस्ती चाँडै नै सकिने छ । विकासका पूर्वाधार, व्यापार, उत्पादन, शिक्षास्वास्थ्य र भोटेकोसीका सबै ऐतिहासिक स्थललाई एकसाथ जोडेर प्रचारप्रसार गर्दै पर्यटकीय गन्तब्य बनाइने छ ।

प्रस्तुती: रामकृष्ण थापा

प्रतिक्रिया दिनुहोस्