२०८१ मंसिर ९
                           

भोटेनाम्लाङमा वृहत् सिकाइ मेला हुँदै

मेलम्ची- आगामी शुक्रबार पाँचपोखरी थाङ्पाल गाउँपालिका– ७ को भोटेनाम्लाङ माध्यमिक विद्यालयमा क्षितिज सिकाइ मेला हुने भएको छ ।

‘विज्ञान, प्रविधि र कलाको प्रवर्धन, हामी सबैको सम्बोधन’ भन्ने मूल नाराका साथ टिच फर नेपालका प्रज्ञार्थीहरुको अग्रसरतामा ‘क्षितिज सिकाइ मेला’ हुन लागेको हो । जिल्लाको उत्तरी भेगमा पर्नेे पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त सहकार्यमा यो सिकाइ मेला हुन लागेको शिक्षिका समा डङ्गोलले बताईन् । सिकाइ मेलाको मूल उद्देश्य विद्यार्थीमात्र नभई शिक्षक र शैक्षिक अभियन्ताहरुको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवद्र्घनमा लाग्न प्रेरित गर्नु भएको उनले बताईन् ।

सिकाई मेलामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १० वटा माध्यमिक विद्यालयले भाग लिने तयारी भइरहेको आयोजक पक्षले जनाएको छ । मेलामा विद्यार्थीहरुको सिकाइको क्षितिज उजागर हुनुको साथै जीवनमा शिक्षाको आवश्यकता किन पर्दछ र शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर आफैँले खोज्ने प्रयत्न गर्ने जनाईएको छ । मेलामार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने पक्षको पनि छलफल हुने आयोजकको भनाई छ ।

मेलामा एसईई दिने विद्यार्थीहरुकालाई लागि उच्चशिक्षाका निमित्त परामर्श सेवा, शिक्षकहरुको सशक्तीकरण र विद्यार्थीहरुको सिकाइ प्रक्रियाको विकास, विद्यार्थीहरुको सिकाइ जीवनोपयोगीको बारेमा छलफल, विद्यालयको क्रियाकलापमा समुदायको प्रत्यक्ष सहभागितालगायतको विषयहरुमा केन्द्रीत रही कार्यक्रम गरिने भएको हो ।

पहिलो पटक २०७४ साल मंसिर १५ गते रैथाने माध्यमिक विद्यालयमा सिकाई मेलाको आयोजना भएको थियो । त्यस्तै दोश्रो पटक भोताङदेवी माध्यमिक विद्यालयमा मेलाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्