चौतारा- सिन्धुपाल्चोकका सामाजिक अगुवा एवम् सामुदायिक वनको संस्थापक अभियान्ता नीलप्रसाद भण्डारीको गएराती आफ्नै निवास कोटेश्वरमा निधन भएको छ ।
सुनकोशी गाउँपालिका ठोकर्पाका ८२ वर्षिय भण्डारी पछिल्लो २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । २०२९ सालमा प्रधानपञ्च हुँदा सुरक्षाकर्मी र तारबारवीना नै जनस्तरबाटै वन जोगाउन सकिन्छ भन्ने अवधारणालाई स्थापित गर्न सफल भण्डारी लामो समय साविक ठोकर्पा पञ्चायतको प्रधानपञ्च र २०५९ साल पछि दुई पटक जिल्ला विकास समितिको सभापति भएका थिए ।
भण्डारीलाई सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो । उनको अभियान विश्व मै चर्चिच छ । हाल मुलुकभर स्थापित सामुदायिक वनको सफल विकास उनकै अवधारणा अनुसार भएको बताईन्छ ।
उनले आफू नेतृत्वमा रहँदा ठोकर्पालाई आदर्श गाउँपञ्चायत बनाउन सफल भएका थिए । उनले २०३१ सालमा सुकुटेमा झोलुंगे पुल, ठोकर्पामा विद्यालयको स्थापना लगाएतको उदाहरणीय कार्य गरेका थिए । भण्डारीकै पहलमा राजा विरेन्द्रले ठोकर्पा सामुदायिक वनको अवलोकन गरेका थिए । उनले पछिल्लो समय ठोकर्पालाई सामुदयिक वनको अध्ययन केन्द्र बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।
भण्डारी पछिल्लो समय सामाजिक कार्यमा सक्रिय थिए । विश्वहिन्दु महासंघको अध्यक्ष रहेका उनको पार्थिव शरीरलाई श्रदान्जलीको लागि आज बिहान ८ बजेबाट विश्व हिन्दु महासंघको कार्यालय कोटेश्वरमा राखिएको छ । उनको आजै मध्यान्न अन्त्येष्टिका लागि पशुपति लगिने विश्व हिन्दु महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्