२०८१ चैत्र ३०
                           

प्रदेशस्तरीय भलिवल प्रतियोगिता सुरु

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको सुरु भएको छ ।

भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भएको खेलको शनिबार उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नगरकै ऐतिहासिक दिन भएको बताए । ‘हाम्रो पालिकामा ३ नं. स्तरीय भलिवल प्रतियोगिता हुनु महत्वपूर्ण अवसर हो’, उनले भने– ‘यसलाई हामीले ऐतिहासिक दिनको रुपमा लिएका छौं ।’

खेलले पालिकालाई शोभा बढाएको बताउँदै तामाङले खेलबाट नगरपालिकालाई समृद्ध बनाउन आफू लागिपरिरहेको बताए । ‘खेलाडी राष्ट्रको गहना हुन्,’ प्रमुख तामाङले भने– ‘गहनालाई जोगाउन र खेलप्रति प्ररित हामी जुटिरहेका छौं ।’ खेल भव्य र सभ्य रुपमा सम्पन्न गर्न शुभकामना प्रदान गर्दै उनले नगरले खेल क्षेत्रको विकासको लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शनिबार बिहान भएको मकवानपूर र भक्तपूरको खेलमा मकवानपूरले जीत हाँसिल गरेको छ । लगत्तै चितवन र सिन्धुलीबीच भएको खेलमा चितवनले जीत हातपारेको छ । त्यस्तै मध्यान्न भएको खेलमा दोलखालाई पराजीत गर्दै ललितपूर विजयी बनेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा प्रदेश नं. ३ का ११ जिल्लाले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरीकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिने जनाईएको छ ।

भलिबल खेल क्षेत्रमै पहिलोपटक डिजिटल स्कोरबोर्ड मार्फत दर्शकहरुलाई खेलको सूचना दिने प्रबन्धसहित व्यवस्थित रुपमा खेल सञ्चालन भईरहेको आयोजक संस्था भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिए । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्