२०८१ भाद्र २३
                           

धमाधम अनुदान फिर्ता गर्दै भूकम्पपीडित

चौतारा- पछिल्लो पटक मंगलबार (आज) चौतारा साँगाचोकगढी नगरपालिका– ७ का ८० वर्षय अमिरबहादु केसीले भूकम्प पीडितको अनुदान रकम फिर्ता गरे । उनीसँगै भूकम्प पीडितको लाभाग्राही सूचीमा नाम समावेश भएर अनुदान सम्झौता गरेका १४ जनाले अनुदान रकम फिर्ता गरेका छन् ।

‘छोरा बुहारी सबै विदेश छन्’, केसीले भने– ‘म बुढाले कसरी घर बनाउनु ?,’ भूकम्पले आफ्नो घर पूर्ण क्षति भएको भएपनि घर बनाउन नसकेका कारण अनुदान रकम फिर्ता गरेको उनको भनाई छ । ‘घर बनाउन सकिएन, राज्यको पैसा किन दुरुपयोग गर्नु’, उनले भने । स्वास्थ्य अवस्थाका कारण रकम फिर्ता गर्न आफू आउन नसकेको बताउँदै उनले भतिज अंकुर केसीलाई अनुदान रकम फिर्ता गर्न पठाएका थिए ।

सरकारी अनुदानको ३ लाख रुपैयाँले घर निर्माण गर्न नसक्ने, अन्यत्र घर भएको जस्ता कारण पेश गर्दै रकम फिर्ता गर्न आउनेको संख्या थपिदै गएको राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाईको अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यस अघि सुनकोसी गाउँपालिका ठोकर्पाका प्रेम कार्की, सुनकोसी गाउँपालिका– ६ का डीलबहादुर कार्की, सोहि वडाका सिताराम भण्डारी, बलेफी २ का पदमबहादुर तामाङ, ७ की ददिमायाँ पौडेलले आुदान बापत लिएको पहिलो किस्ता राज्यलाई नै फिर्ता गरेका थिए । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका– ११ का महेन्द्र गिरी, ९ का बादल तामाङ, ७ का राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दंगालले पनि अनुदान फिर्ता गरे । मेलम्ची नगरपालिका– ४ का कृष्णहरी खनाल, १२ का झंकप्रसाद दुलाल र हेलम्बु १ का मिङमार लामाले पनि अनुदानको रकम फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्