२०८१ भाद्र २३
                           

सडक निर्माणमा अनियमितताको आरोप

चौतारा- निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय सिन्धुपाल्चोकको मिलेमतोमा १२ किलो टिमुरे सडक निर्माणमा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । कमसल सामग्री प्रयोग गरेर सडक निर्माण भएको पाइएको हो ।

निर्माण व्यवसायी मानबहादुर लामा र डिभिजन इन्जिनियर राजु श्रेष्ठले सडक निर्माणमा अनियमितता गरेको स्थानीयको भनाइँ छ । निर्माणमा पाँच करोड खर्च भएपनि सडकको गुणस्तर कमजोर छ । सडकमा लापर्बाही भएको विषयप्रति स्थानीयले ठेकेदार लामा र इन्जिनियर श्रेष्ठलाई पटकपटक सचेत गराए पनि सुनुवाइ नगरी कामलाई अगाडि बढाइएकोे छ । खोलाको पाँगो बालुवामा सिमेन्ट घोलेर काम भएको स्थानीयले बताएका छन् । मापदण्डअनुसार एक बोरा सिमेन्टमा चार बोरा बालुवा हाल्नुपर्ने हुन्छ । सडकको वालमा चारकिलो प्रेसरको पाइप राख्नुपर्नेमा दुई इन्चको सस्तो पाइप हालेर किर्ते बिल बनाउने गरेको स्थानीय बताउँछन् । बिलभर्पाईमा पनि अनियमितता हुने गरेको छ ।

डिपिआर र ठेक्का सम्झौताविपरीत निर्माण सामग्री ढुंगा, माटो पाइने ठाउँमा काम गरिएको र नपाइने ठाउँमा कामै नगरी सडक अधुरो पारिएको छ । स्थानीय सूर्यबहादुर प्याकुरेलका अनुसार कमसल मालमेटल प्रयोग गरेर सडकको गुणस्तर कमजोर भएपछि स्थानीयले काममा अबरोध समेत गर्ने गरेका छन् । तर, स्थानीयलाई नटेरेर माथिको आदेश भन्दै साइटमा काम गर्ने ठेकेदारले कामलाई अगाडि बढाएका छन् । आठ मिटर चौंडा, सडक र वालसहितको नाली निर्माण गरी सात किलोमिटर ग्राभेल गर्न श्री रौताह, हिमाली देवढुंगा र ओमबुद्ध निर्माण कम्पनी मिलेर जेभीमा काम गरिरहेका छन् । ०७४ असार २६ गतेबाट सुरु भएको सडकको कामलाई १७ करोड ४४ लाख ४२ हजार रकम परेको छ । कामको अवधि पाँच महिना बाँकी छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको सडकको भुक्तानी सडक विभाग वा प्रदेश सरकार कसले गर्ने भन्ने विवाद रहँदा समयावधि पर धकेलिएको हो । पछि प्रदेश सरकारले भुक्तानी गर्ने गरी समय लम्ब्याएर भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्