२०८१ मंसिर ६
                           

ढुंगा पल्टिने त्रासमा स्थानीय

तातोपानी- भोटेकोसी वडा नं. २ तातोपानीस्थित थामी गाउँका स्थानीय ठूलो ढुंगाको त्रासमा बस्न विवश छन् । गाउँ नै किच्ने त्रासमा रहेका स्थानीयले राजनीतिक दलका नेता र गाउँपालिकालाई ढुंगा फुटाएर पन्छाउन पटकपटक आग्रह गरे पनि सुनुवाई भएन ।

गाउँबाट ढुंगा भएको ठाउँमा पुग्न एक घण्टा लाग्छ । भलायोडाँडामा रहेको ढुंगा पल्टिने खतरा छ । ढुंगाको उचाइ ३९ फिट र लम्बाइ ३८ फिट छ । भिरमा स–साना ढुंगा पनि थुप्रै छन् । ठाडो भिरको बाटो एक घण्टा हिँडेर गतसाल गाउँलेले पल्टिने जोखिममा रहेको उक्त ढुंगाको जगमा वाल उठाएका थिए । तर, वाल भरपर्दो नभएकोले स्थानीय चिन्तित छन् । १२ वैशाख ०७२ को भूकम्पमा ठूलो ढुंगाको सानो टुक्रा फुटेर गाउँमा बजारिँदा थामी गाउँका चार जनाको मृत्यु भएको थियो ।

भलायोडाँडाको निशाचर भिरमा रहेको ढुंगा खस्ने त्रासमा थामी गाउँका स्थानीय रातभर निदाउन सक्दैनन् । गाउँको ८७ घरधुरीमा तीन सय ३४ मानिस बस्छन् । ढुंगा पल्टिँदा थामी गाउँ, एक आधारभूत विद्यालय, सामूदायिक भवन, दुईवटा मन्दिर, एक चर्चघर, लामा बस्ने म्हाने र कोदारी बजारलाई असर गर्छ ।

ठूलो भिरमा तीनचार तले घरजत्रो भयावह ढुंगा मुश्किलले अडिएर बसेकोले कसरी फुटाउने भन्ने समस्या परेको वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए । ढुंगाको कुरा लिएर वडावासी दिनहुँ कार्यालयमा आउने गरेको उनले सुनाए । ‘ढुंगा फुटाउने वा वाल लगाएर बलियोसँग अड्याउने भन्ने चिन्ता परेको छ,’ उनले भने । ढुंगा फुटाइदिने आश्वासन दिएर नेताहरुले भोट माग्ने गरेपनि चुनावपछि कोही फर्केर गाउँ नगएको स्थानीय बताउँछन् । भूकम्पले थंथिलो भएको भिर बर्खाको बर्षात्ले गलेर ढुंगा पल्टने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्