२०८१ माघ २२
                           

‘विकासनै पहिलो प्राथमिकता’ मन्त्री दुलाल

चौतारा- बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अहिलेको पहिलो प्राथमिकता विकास भएको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा सञ्चालन भएको प्रथम भदौरे गणेश कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री दुलालले नागरिकको सेवा गर्दै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् । ‘निर्वाचनको बेला सांकेतिक रुपमा विकासको बाकस ल्याउने प्रतिबद्धता गरेको थिएँ,’ उनले भने– ‘अहिले त्यहि पूरा गर्न लागिरहेको छु ।’ आफू मन्त्री बन्नको लागि, गाडीमा झण्डा हल्लाउनको लागि मात्रै नेता नभएको बताउँदै मन्त्री दुलालले जनताको विकासको आकांक्षालाई पूरा गर्न काम गरिरहेको प्रष्ट पारे ।

मन्त्री भएको २ वर्षमा २ अरबभन्दा बढीको विकासका कार्यक्रमहरु ल्याएको बताउँदै मन्त्री दुलालले चौतारा, सानोसिरुवारी, सिपाघाट हुँदै काठमाण्डौ जाने ५७ किलोमिटरको बाटो निर्माणमा आफूले विशेष भूमिका खेलेको प्रस्ट्याए । गत वर्ष ३४ करोड विनियोजन भएको यस सडकमा यस वर्ष थप ५४ करोड विनियोजन गर्दै ८८ करोडको काम सम्पन्न गरिन लागेको उनले बताए । गत वर्ष विनियोजन भएको ३४ करोड ठेक्का प्रकृयामा गई काम सुरु भईसकेको छ । यो वर्ष थप गरिएको ५४ करोडको पनि छिट्टै ठेक्का गरी यो वर्ष कालोपत्रेको सुरुवात गरिने मन्त्री दुलालले जानकारी दिए । त्यस्तै चौताराको टुँडिखेलमा बन्न लागेको पहाडी मिनी रंगशालालाई यो वर्ष ३५ करोड र चौतारामा बन्न लागेको बहुप्राविधक शिक्षालयलाई २५ करोड रुपैंया विनियोजन गर्न सफल भएको उनले सुनाए ।

खेल क्षेत्रमा पनि आफूले उल्लेख्य काम गरेको बताउँदै मन्त्री दुलालले खेलकुदको विकास गर्न नेपालको इतिहासमै पहिलो पटक खेलकुद विकास ऐन ल्याएर खेलकुद विकास परिषद्को गठन गरेको बताए । ‘नेपालमै पहिलो पटक खेलकुद विकास परिषद्को गठन गरेर यहि फागुनमा विशेष कार्यक्रम गर्ने योजना बनाएको छु’, मनत्री दुलालले भने– ‘त्यो सँगसँगै खेलाडीहरुको व्यवसायीक सुरक्षा तथा खेलकुद पूर्वाधारको विकास गर्ने काम भईरहेको छ ।’ प्रदेश भित्रका प्रत्येक जिल्लाहरुमा रंगशाला निर्माण गर्ने, प्रदेश क्षेत्रमा कवर्डहल बनाउने, स्थानीय तहमा खेलकुद मैदान निर्माण गर्ने, विद्यालयहरुमा खेलमैदानलाई व्यवस्थित गर्ने कार्य अगाडि बढिरहेको उनले बताए । ‘राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरको खेलमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडिहरुको उत्पादन गर्ने लक्ष्यका साथ हामी अगाडि बढेका छौं,’ मन्त्री दुलाले भने ।

प्रदेश राजधानी विषयलाई उल्लेख गर्दै मन्त्री दुलालले पहिलो पटक आफूलाई चित्त नबुझेको ठाउँमा भोट हालेर आएको बताए । ‘प्रदेशको नामाङ्कन र राजधानीको विषयमा आफूले पायक पर्ने ठाउँ र नाम हुनुपर्छ भनेर लविङ गरिरहेको थिएँ’, उनले भने– ‘तर अहिले आफूलाई चित्त नबुझेको ठाउँमा भोट हालेर आएको छु । मैले गरेको कार्यप्रति चित्त बुझेको छैन भने म सजायँ भोग्न तयार छु ।’ आफूले पार्टीमा र संसद्मा नागरिकका भावनाहरुको राख्दै संघीयताको मर्म अनुरुप राजधानी हुनुपर्छ भन्ने तर्क गरे पनि नेतृत्वले राष्ट्रिय सुरक्षाको बारेमा सोच्नुपर्छ भनेपछि राष्ट्रियताको पक्षमा उभिएको उनले बताए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री दुलालले सिनधुपाल्चोकले सभामुख पदको जिम्मेवारी पाउने सम्भावना बढेको सुनाए । ‘मैले प्रत्यक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेटेर सभामुखको बारेमा आफ्नो धारणा राखेको छु’, उनले भने– ‘सम्मानित सभामुखको पदमा अग्नी सापकोटालाई जिम्मेवारी दिनुपर्छ भनेको छु, मलाई विश्वास छ सभामुखको जिम्मेवारी सिन्धुपाल्चोकले पाउने छ ।’

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिका– ७ का अध्यक्ष उमाप्रसाद दुलाल लगायतले खेल क्षेत्रको विकासमा आपूmहरु सदैव लाग्ने प्रतिबद्धता जनाएका थिए ।

भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा भएको प्रथम भदौरे गणेश कप प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि चितवनले जितेको छ । फाईनलमा प्रवेश गरेको टीम रामेछापलाई हराउँदै चितवनले भदौरे गणेश कप जितेको हो । चितवन र रामेछापबीच भएको फाईनल खेलमा २५–२०,२५–२३ र २५–२४ को सोझो सेटमा रामेछापलाई पराजीत उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै चितवनले नगद २ लाख २० हजार २० रुपैयासहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको रामेछापले १ लाख १ हजार १० रुपैंयाको साथै ट्रफी र मेडलमा चित्त बुझाएको छ । प्रतियोगिता पुस २६ बाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्