२०८१ भाद्र २३
                           

बाह्रबिसे अझै तनावग्रस्त, दुबै पक्षले गरे पत्रकार सम्मेलन

बाह्रविसे- बाह्रविसे नगरपालिका– ४ स्थित बाह्रविसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउन सुरु गरेपछि स्थानीय र प्रशासनबीच भएको तनाव अझैं सुल्झन सकेको छैन ।

विवाद सुल्झन नसकिरहेकै बीच आईतबार (आज) दुबै पक्षले पत्रकार सम्मेलन गरेका छन् । बाह्रविसे नगरपालिकाले कडा सुरक्षाकाबीच नगरपालिकाको कार्यालय सभाहलमा पत्रकार सम्मेलन गरेको थियो । ‘हामीले नगर २०७४ असोज ८ गते नै कार्यपालिकाको बैठकबाट निर्णय गरी यो विषयमा सूचना प्रवाह गरेका थियौं’, नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले पत्रकारहरुसँग बोल्दै भने– ‘त्यस पछि पनि पटक पटक सूचना जारी गर्यौं, माईकिङ गर्यौं तर उहाँहरुले अटेर गरेपछि भत्काउन बाध्य भएका हौं ।’ यहि माघ १ गते अन्तिम पटक सूचना जारी गर्दै माघ ३ गते भित्र बजारका अस्थायी संरचनाहरु हटाउन आग्रह गर्दा पनि वेवास्था गरेका कारण आफूहरुले भत्काउन बाध्य भएको प्रमुख शेर्पाले बताए ।

नगरपालिका स्थानीयहरुको समस्या समाधान गर्न हरदम तयार रहेको बताउँदै कुनै पनि असंयमित कार्य नगरी सुन्दर र सभ्य पालिका बनाउन सबैको साथ आवश्यक रहेको प्रमुख शेर्पाले बताए । ‘बजार व्यवस्थापनको क्रममा स्थानीयहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखी तुरुन्तै छलफल तथा अन्र्तरक्रियाको माध्यमबाट समाधान गर्न नगरपालिका सदैब तयार छ’, प्रमुख शेर्पाले भने ।

यता स्थानीय सरोकार समितिले पनि आईतबार नै पत्रकार सम्मेलन गरेको छ । बाह्रविसेको होटल चण्डेश्वरीमा गरेको पत्रकार सम्मेलनमा आपूmहरुले पनि सडकलाई अबरोध पुग्ने गरी बनाएको घर टहरा भत्काउँदा कुनै विमत्ति नभएको उनीहरुले बताएका छन् । ‘हाम्रो मूख्य विमत्ति कुरा मापदण्ड नबनाई नगरपालिकाले एकलौटी ढङ्गले घरटहरा किन हटाउन लागेको भन्ने प्रति हो’, स्थानीय सरोकार समितिका संयोजक ज्ञानेन्द्रप्रसाद श्रेष्ठले भने– ‘कस्तोलाई टहरा भनिन्छ, कति मापदण्ड भित्रको टहरा भत्काउने भन्ने त हुन पर्यो नि । जो आफूलाई मन पर्दैन त्यसको भत्काएर हुन्छ ?’ बाह्रविसे नगरपालिका वडा नं. ४ का अध्यक्ष समेत रहेका श्रेष्ठले नगरपालिकाले स्थानीयको समस्यालाई ध्यानमा राख्दै विकासका कार्य गरे आपूmहरुले पनि साथ दिने बताए ।

पत्रकार सम्मेलन सुरु हुनै लाग्दा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । झडप हुन सक्ने अनुमान गर्दै प्रशासनले आईतबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु समेत जारी गरेको थियो ।

हेर्नुस् दुबै पक्षको प्रेस विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस्