२०८१ मंसिर ७
                           

‘सिन्धुको इज्जत जोगाईराख्ने छु’ सापकोटा

बतासे- अबको सभामुख एवम् पूर्व मन्त्री अग्नीप्रसाद सापकोटाले इतिहासमै सिन्धुपाल्चोकले सभामुखजस्तो गरिमामय पद पाएको बताउँदै सो पदको गरिमा जोगाउँदै सिन्धुको इज्जत अझै बढाउने बताए ।

बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका– २ स्थित कालिकादेवी मावि बतासेको ३९औं वार्षिकोत्सव एवम् नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सापकोटाले सिन्धुपाल्चोकको विकासमा प्रतिबद्ध रहँदै पद र जनताको शीर झुक्ने काम नगर्ने बताएका हुन् । ‘३९ वर्ष राजनीति गरें, अहिले म सभामुखको गरिमामय पदमा चुनिएको छु’, उनले भने– ‘जनताको विश्वासलाई कहिल्यै झुक्न नदिने प्रतिबद्धता गर्दछु ।’ परिवर्तनको लागि आपूm सदैव लागिरहने भन्दै सापकोटाले तातोपानी नाका पूर्ण सुचारु गर्न दुबै राष्ट्रलाई झक्झक्याईहेको बताए ।

कार्यक्रममा सापकोटाले भवन मात्रै राम्रो भएर नहुने बताउँदै गुणात्मक शिक्षामा जोड दिन आग्रह गरे । ‘भवन मात्र राम्रो भएर हुँदैन, गुणात्मक शिक्षामा जोड दिनुपर्दछ’, उनले भने– ‘विज्ञान र प्रविधिले निक्कै फड्को मारिसकेको छ, त्यसलाई ख्याल गर्दै अबको शिक्षा प्रविधियुक्त हुन जरुरी छ ।’ अभिभावकहरुले आफ्ना बालबालिकाले कस्तो शिक्षा प्राप्त गर्दैछन् भन्ने कुरा ख्याल गरे शिक्षामा सुधार हुँदै जाने उनले धारणा राखे । शिक्षा मानव जीवनको आँखा भएको बताउँदै सापकोटाले मेहनत र परिश्रमको विकल्प नखोज्न विद्यार्थीहरुलाई आग्रह गरे ।

उत्सवमा पूर्व सांसद् सुभाष कर्मचार्यले सभामुख पद सिन्धुपाल्चोकले पाएकोमा खुसी व्यक्त गर्दै यसले सिन्धुकै इज्जत बढेको बताए । ‘हामीले सभामुखजस्तो गरिमामय व्यक्तित्व पाएका छौं’, उनले भने– ‘अब सिन्धुपाल्चोक समृद्ध हुनुको साथै विकासमा फड्को मार्ने अपेक्षा राखेका छौं ।’

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई गरिएको थियो । त्यस्तै जनप्रतिनिधि, शिक्षक, विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तित्व, शिक्षक, एसईई परीक्षा २०७५ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो । समारोहमा विद्यालयले प्रकाशन गरेको स्मारिका नवप्रवाहको समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका धर्मदत्त सापकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकारहरुले गीत संगीतमार्फत मनोरञ्जन प्रदान गरेको थिए भने विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्