२०८१ भाद्र २३
                           

मिलिजुलीको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मिना

चौतारा- मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन शनिबार सम्पन्न गरिएको छ ।

चौतारा स्थित सहिद स्मृति भवनमा भएको अधिवेशनले पुनः मिनादेवी श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा गायत्री पालिखे, सचिवमा सीता श्रेष्ठ कसजू र कोषाध्यक्षमा मिना थापालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा निर्मला विक, आशारानी तामाङ, नानीमाया तामाङ, मधु पाण्डे र ज्वाला श्रेष्ठलाई चयन गरेको छ ।

अधिवेशनले विभिन्न उपसमिति समेत निर्माण गरेको छ । आकृति घलेको संयजकत्वमा लेखा उपसमिति बनाईएको छ । जसमा पुष्पा घले सदस्य रहेकी छिन् । त्यस्तै ऋण उपसमितिमा करुणा महतको संयजकत्वमा सीतामाया श्रेष्ठ र स्मृति श्रेष्ठ सदस्य रहेका छन् । बाँकी अन्य सदस्यहरुलाई संस्थाको बैठकबाट मनोनित गरिने संस्थाका नवनिर्वाचित सचिव सीता श्रेष्ठ कसजूले जानकारी दिईन् ।

अधिवेशनको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले जीवन रुपान्तरण गर्न सहकारीमा आबद्ध हुनुपर्ने बताउँदै ऋण लिनको लागि मात्रै सहकारीको सदस्य नबन्न आग्रह गरे । ‘अहिले ऋण लिनको लागि मात्रै सहकारीको सदस्य बन्ने चलन बढेको छ’, श्रेष्ठले भने– ‘सहकारीमा आबद्ध भईसकेपछि आफ्नो जीवनलाई परिवर्तन गर्न सक्नुपर्दछ ।’

कार्यक्रममा मेघा बैंक चौतारा शाखाका शाखा प्रबन्धक रामकृष्ण पराजुली, नेकपाका जिल्ला नेता श्यामसुन्दर श्रेष्ठ, वनदेवी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कमला श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनकै अवसरमा सहकारीले विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । सहकारीले जेष्ठ सदस्य सुकमाई श्रेष्ठलाई नगद एक हजार सहित सम्मान गरेको हो । त्यस्तै असल ऋणी लक्ष्मी श्रेष्ठलाई पनि सहकारीले सम्मान गरेको छ । सर्वाधिक सेयर खरिदकर्ता कविता थापालाई पनि सहकारीले सम्मान गरेको छ । सहकारकिा विभिन्न कार्यमा सहयोग पु¥याएको भन्दै सहकारीले मेघा बैंक चौतारा शाखालाई समेत सम्मान गरेको थियो ।

त्यस्तै सहकारीले शेयर सदस्य सर्मिला तामाङको स्वास्थ्य उपचारको लागि नगद रु. ५ हजार सहयोग गरेको छ । तामाङको दुबै मृगौलामा समस्या देखिएको छ । आफ्ना शेयर सदस्यहरुको सुख दुःखमा साथ दिन सहयोग गरेको सहकारीका अध्यक्ष मिनादेवी श्रेष्ठले बताईन् ।
सहकारीमा हाल ४ सय ६० शेयर सदस्य रहेका छन् । सहकारीले १ करोड ६० लाख ११ हजार २ सय रुपैंया शेयर पुँजी जम्मा गरेको जनाएको छ । कृषि, व्यापार, वैदेशिक रोजगार, आवास निर्माण आदि कार्यमा सहकारीले कर्जा लगानी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्