सुकुटे/ राजधानी काठमाडौंबाट ६७ किलोमिटर दूरीमा पर्ने सुकुटे बजार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सुनकोसी र भोटेकोसी नदीको कञ्चन पानीमा ¥याफ्टिङ गर्न सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय मानिस सुकुटे आइपुग्छन् । दोलखा, रामेछाप र तिब्बतको खासा जाने यात्रुको खाना खाने स्टेशन पनि सुकुटे बजार भएकोले बिहानदेखि बेलुकासम्मै बजारमा भिड हुन्छ ।
सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटेल छन् । साना होटेलमात्रै त ५० वटा जति छन् । ¥याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइडले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् । ‘सुकुटे बजार एड्भेन्चर गतिविधि गर्ने देशको एउटा प्रमुख ठाउँ हो,’ ¥याफ्टिङ सञ्चालक तथा रिसोर्ट व्यवस्थापक सुनकोसी बिचका सुनील पाठकले भने, ‘सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ ।’ पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटे बजारमा राजधानीवासीको भिड लाग्ने गरेको उनले सुनाए ।
सुनकोसी नदीको कोठे किनारबाट सुरु भएको ¥याफ्टिङ दोलालघाट पुगेर टुंगिन्छ । ¥याफ्टिङसँगै कायाकिङ पनि गरिन्छ । तर, आन्तरिक पर्यटकले कायाकिङ गर्दैनन् । एउटा बोटमा एक्लै नदी सफारी गर्नु कायाकिङ हो । यो विदेशी पर्यटकको रोजाइमा पर्छ । सन् २००० अघि सुकुटेमा दैनिक ५० विदेशी पर्यटक साहसिक खेल खेल्न आउँथे । तर, त्यसपछि आजसम्म मासिक पाँच विदेशीले मात्रै ¥याफ्टिङ गर्छन् । विदेशी पर्यटक फाट्टफुट्टमात्रै आउनेगरेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । बाह्य पर्यटकले भदौबाट मंसिरसम्म ¥याफ्टिङ गर्न रुचाउँछन् । आन्तरिक पर्यटकले फागुनदेखि असारसम्म सुकुटे बजार ढाक्छन् । डोरीमा झुण्डिएर झरनामा चिप्लेटी खेल्ने साहसिक खेल क्यानोनिङ र सुख्खा चट्टानमा तलमाथि गर्ने खेल एब्सेलिङ र रक क्लाम्बिङका लागि ११ वटै रिसोर्टले बाह्रबिसेको भोटेकोसी र छात्तिखोला पु¥याउने गर्छन् । सुकुटेका रिसोर्टमा साहसिक खेल, सुनकोसीको स्वच्छ पानीमा स्विमिङ र कन्टिनेन्टल खानाको व्यवस्था छ । राजनीतिक नेताको रोजाइमा परेको सुकुटे बिच रिसोर्टमा सिजनको बेला दैनिक पाँच सय आन्तरिक पर्यटक आउने गरेको रिसोर्ट सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । नेकपा अध्यक्ष प्रचण्ड नवनिर्वाचित सभामुखसँग वर्षको एकपटक सुकुटे बिच रिसोर्ट पुग्छन् । सुनकोसी बिचमा महिनाको दुई पटकसम्म राजनीतिक दलको कार्यक्रम हुने गरेको छ । आन्तरिक पर्यटकले खचाखच सुकुटे बजार आसपास अरु रिसोर्ट बन्ने क्रम पनि जारी छ । सुनकोसी नदीमा उत्खनन बढेकोले होटेल व्यवसायी चिन्तित छन् । क्षेत्र तोकेर नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने उनीहरुको माग छ । एउटा रिसोर्ट र रिसोर्टभित्र बिच क्याम्प स्थापना गर्न तीन करोडसम्म लगानी गरिएको छ । रिसोर्टभित्र अल्टिमेट डिस्सेन्ट, इक्वेटर एक्स्पीडिसन, ¥याफ्टिङ स्टार, रिभर बे र ब्लुस्टार बिच क्याम्प छन् । भ्रमण वर्ष २०२० मनाउन सबै रिसोर्टको संयुक्त प्रायोजनमा चौतारा साँगाचोकगढी नगरपालिकाले आउँदो फागुनमा सुकुटे महोत्सवको आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्