सुकुटे- वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा गई फर्किका सात युवाले सिन्धुपाल्चोकको सुकुटेमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका छन् । ग्रामीण पर्यटनलाई सघाउने उद्देश्यले सुनकोशी खोला किनारमा ३ करोड भन्दा बढी लागतमा उनीहरुले रिसोर्ट सञ्चालन गरेका हुन् ।
रोगजारीको लागि विदेशिएका विमल गिरी, ललित गिरी, राजकुमार गिरी, विष्णु गिरी, टंक गुरागाईं, विष्णुसिं ठकुरी र विजुलराज गिरीले सुकुटे रिभर फन बीच रिसोर्ट सञ्चालन गरेका हुन् । रिसोर्टको अैपचारिक उद्घाटन फागुन २ गते गरिने रिर्सोट कार्यकारी प्रमुख विमल गिरीले बताए । ‘हामी सबै विदेश गएर फर्किएका हौं, विदेशमा श्रम गर्नुभन्दा ग्रामीणस्तरमै व्यवसाय सञ्चालन गरेर युवाहरुलाई यहि केहि गर्न सकिन्छ भन्ने प्रेरणा प्रदान गर्नु पनि हाम्रो उद्देश्य हो’, गिरीले भने– ‘हामी सबै विदेशमा १० वर्षसम्म होटलमै काम गरेर फर्किएका हौं, त्यसैले केहि फरक गर्न सक्छौं भन्ने लागेको छ ।’ आफूहरुले सुकुटे क्षेत्रमा खुलेका अन्य रिसोर्टभन्दा फरक बनाउने प्रयास गरेको उनले सुनाए ।
३५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको मूख्य आकर्षक जंगल सफारी र वाटर फल्स रहेको छ । रमणीय दृष्य अवलोकनसहित जंगल सफारी गर्न यो ठाउँ निक्कै उपयुक्त हुने गिरी बताउँछन् । ‘पारिवारिक वातावरणमा हामी पाहुनाहरुलाई राख्नेछौं’, गिरीले भने– ‘विशेष गरी टिपिकल अर्गानिक नेपाली परिकारको स्वाद हामी दिनेछौं ।’
रिसोर्टमा आफैंले उत्पादन गरेको परिकारहरु खुवाईने उनले बताए । ‘हामीसँग प्रसस्त जमिन छ, यहिँ उत्पादन गरेका अर्गानिक परिकारहरु खुवाउनेछौं, गिरीले भने– ‘लुईचे, टर्की, लोकल जातका कुखुरा, बट्टाईजस्ता मासुजन्य उत्पादन पनि यहिँ गरेका छौं ।’ रिसोर्ट भित्रै ५ रोपनी जग्गामा केराको बगौंचा लगाईएको छ । केराको विभिन्न परिकारलाई रिसोर्टले प्रथमिकतामा राखेको छ ।
अहिले २ सय १० जना सम्म बस्ने क्षमता रहेका रिसोर्टलाई ५ सय क्षमताको बनाउने सञ्चालकहरुको लक्ष छ । रिसोर्टमा २१ वटा सुविधासम्मन कोठा र २ सय क्षमताको सेमिनार हल समेत छ । वाटर फल्स, जंगल सफारी, र्याफ्टीङ, कायाकिङ, पिकनिक स्पोर्टस्, भ्यू टावर, खेलकुद मैदान, किडस् जोनलगायतका सुविधा रिसोर्टले प्रदान गर्ने जनाएको छ ।
‘विदेशमा यहि क्षेत्रमा काम गरेको अनुभव हामीसँग छ’, रिसोर्टका अर्का सञ्चालक विष्णु गिरीले भने– ‘हामी अरु रिसोर्टको तुलनामा फरकपन दिनेछौं ।’ दुबईका प्रशिद्ध पाँच तारे होटलमा काम गरेका सेफ, मेनेजरहरु भएका कारण सबै पक्षबाट पाहुनाहरुले भरपूर आनन्द लिन सक्ने उनले बताए ।
औपचारिक उद्घाटनको दिन फागुन २ गते रिसोर्टले हरेक सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सांगीतिक कार्यक्रमसहित रिसोर्टको उद्घाटन गरिने सञ्चालक समितिको भनाई छ । सुकुटेलाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने लक्ष्य समेत सञ्चालकहरुको छ । रिसोर्ट सञ्चालनमा आएपछि सुविधा भएकाले आन्तरिक तथा वाह्य पर्यटकको संख्या समेत बढ्ने उनीहरुले बताएका छन् । ‘रमणीय ठाउँ भएको र ठूलो क्षेत्रमा यो रिसोर्ट रहेका कारण पनि पर्यटकहरु यहाँ आउनेछन्’ रिर्सोट कार्यकारी प्रमुख विमल गिरीले भने ।
सात युवाहरुले फ्रेण्डस् भीजन हस्पिटापलटी ग्रुप प्रा.लि. निर्माण गरेर त्यसै अन्र्तगत रिसोर्ट सञ्चालन गरेका हुन् । ग्रुपले काठमाण्डौमा २ वटा रेस्टुरेन्ट समेत सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्