२०८१ भाद्र २३
                           

‘अहिलेको कार्यभार लोकतन्त्रको सुद्रिढिकरण हो’ सभामुख सापकोटा

चौतारा- लोकतन्त्र सामानय कुरा नभएको बताउँदै सभामुख अग्निप्रसाद सापकोटाले अहिले राष्ट्रको मूख्य कार्यभार लोकतन्त्रको विकास, विस्तार र सुद्रिढिकरण भएको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डे स्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४३औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै शनिबार सभामुख सापकोटाले लोकतन्त्रको प्राप्तीको लागि ठूलो बलिदान गरेको बताए । ‘लोकतन्त्र भनेको भाषण गर्ने कुरा होईन, लोकतन्त्र भनेको जीवनपद्धति हो,’ उनले भने– ‘लोकतन्त्र र गणतन्त्र प्राप्त गर्न दशौं हजार नेपाली जनताका छोराछोरीको बलिदान दिएका छन् ।’

सम्बोधन गर्दागर्दै भावुक बन्न पुगेका सभामुख सापकोटाले शीरमा महान सहिदहरु, वेपत्ता व्यक्तिहरु, घाईते योद्धाहरु र परिवर्तनको पक्षमा लागिरहेने व्यक्तिहरुलाई राखेर मेहनत गर्दै देशभक्ति र सदाचारमा अडिग रहने बताए । ‘यति सानो गाउँमा २२ जना जनताको छोराछोरीले ज्यान दिए,’ उनले भने– ‘मलाई भावुकपना कसरी उर्लियो भने २०५२ माघ १८ गते यहाँबाट पक्रिएर लगिदै गर्दा त्यो लर्को चौतारासम्म पुगेको थियो, त्यो सम्झिएको छु ।’ आफू सभामुख भएलगत्तै कुविण्डेबाट महिलाहरुले भेटी सधैंभरी राम्रो सुन्न पाईयोस्, हामीलाई केहि चाहिँदैन भन्दै उर्जा दिएको बताउँदै त्यसले पनि आफूलाई थप भावुक बनाएको बताए ।

सबै परिवर्तनकामीहरुको साझा प्राप्तीको रुपमा आफू सभामुखजस्तो गरिमामय पदमा उभिन पुगेको बताउँदै सापकोटाले पदको ओज, गरिमालाई सदैव कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । ‘सबैको रगत र पसिनाले प्राप्त गरेको यो गरिमामय पदको ओज गरिमा म सदैव कायम राख्ने छु’, उनले भने– ‘तपाईंहरुको शीर झुक्ने छैन, जीवनको अनितम घडीसम्म देश जनता र जन्मभूमिको लागि निरन्तर लागिरहेको छु ।’

एउटा सामान्य किसानको छोरो राज्यको तीन अंग मध्ये एउटा अंगको प्रमुख हुनु भनेको सामान्य कुरा नभएको बताउँदै सापकोटाले देश र जनताप्रतिको निष्टा, इमान्दारिताका कारण सो स्थानमा पुग्न सकेको धारणा राखे । ‘यो असामान्य र असाधारण कुरा हो, तर मेरो इमान्दारिताले यो ठाउँमा पु¥याएको छ’, सापकोटाले भने– ‘मैले सकेजति इमान्दारिताको साथ जनताको सेवा गर्ने छु ।’ आफ्नो जीवन खुला पुस्तकजस्तो रहेको बताउँदै उनले बाहिरबाट जस्तो देखियो त्यस्तै जीवन बाँचिरहेको बताए । ‘मलाई जस्तो देख्नुहुन्छ, म त्यहि हुँ,’ सापकोटाले भने– ‘मैले जे सोचेको छु जनताको लागि सोचेको छु, मेरो जीवन जनताको देशको लागि समर्पित हुनेछ ।’

आपूmले कुनै जित्ने खेल नखेलेको बताउँदै सभामुख सापकोटाले सबै जित्नुपर्ने र सबै माथी उठ्नुपर्ने बताए । ‘हामी सबै समृद्ध हौं । सबैको समृद्धिको लागि म उभिएको छु’, सापकोटाले भने– ‘यो नै मेरो जीवनको मूख्य ध्येय हो ।’ आफूले व्यक्तिगत जीवनका लागि एक सेकेण्ड समय खर्च नरेको स्पष्ट पार्दै उनले आफूले गरेका सबै काम देश र जनताको विकासको लागि रहेको बताए ।

सिन्धुपाल्चोकको विकासको खाका सुनाउँदै सभामुख सापकोटाले जिल्लामा रहेको सुनकोशी, ब्रम्हायणी, मेलम्ची करिडोरको सन्तुलित विकास गर्नसके मात्र समृद्ध सिन्धुपालचोक बन्न सक्ने बताए । ‘जिल्लाका विकास निर्माण र पुर्वाधारको विकास गर्न अहिले सहज छ, तर दृष्टिकोण र इच्छाशक्तिको खाँचो छ’, उनले भने– ‘बजेटको खाँचो छैन । हाम्रो मूख्य समस्या नै मितव्ययी तवरले खर्च गर्न नसक्नु हो ।’

प्रतिक्रिया दिनुहोस्