२०८१ भाद्र २३
                           

कोरोनाबाट बच्न बागमतीको विशेष तयारी

हेटौंडा-  विश्वभर फैलिरहेको नोभल कोरोना भाइरसबाट बच्न बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष तयारी थालेको छ ।

चीनको वुहानबाट फैलिएको भाइरसको विषयमा चिन्ता व्यक्त गर्दै मन्त्रालयले विशेष तयारी थालेको हो । आइतबार बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा भाइरसको बारे छलफल गर्दै यसबाट बच्न सबै एकजुट हुनु पर्नेमा जोड दिईयो । बैठकमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले मन्त्रालय र स्वास्थ्य कार्यालयसँग भएका विभिन्न स्रोतसाधनको उपयोग गर्दै उक्त भाइरसबारे लडिरहेको बताए । विभीन्न रोगका जोखिम बढ्ने भएकाले यसको पूर्व तयारी, सजगता अपनाइरहेको जानकारी मन्त्री दुलालले जानकारी गराए । कुनैपनि रोगको प्रतिकार्यका लागि मन्त्रालय र मातहतका कार्यालयहरुले सजगता अपनाइरहेको उनको भनाई थियो । मन्त्री दुलालले आगामी दिनमा पनि हुन सक्ने अन्य संक्रमणको सम्भावनालाई नकार्न नसक्ने भएकाले जोखिमबारे पूर्व सजगता, पूर्व तयारी र सोको प्रतिकार्य गर्दै अनुसन्धानमा समेत जोड दिनुपर्ने बताए ।

समितिमा मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, समितिका सदस्यहरुको सहभागितामा कोरोना भाइरसका विषयमा प्रस्तुतीकरण गरिएको थियो । बैठकमा कोरोना भाइरसको उत्पति, सर्न सक्ने जोखिम, बच्ने उपाय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसबारे जानकारी गराइएको थियो । समितिका सभापति घनश्याम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भाइसरलाई रोक्न सबै एक हुनुपर्ने बताईएकोे थियो ।

के हो कोरोना भाइरस ?

चीनमा गत डिसेम्बरदेखि देखा परेको कोरोना भाइरसले हालसम्म सयभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । चीन सरकारले दिएको पछिल्लो जानकारीअनुसार त्यहाँ कोरोनाको संक्रमण चार हजार जनामा देखिएको छ भने एक सय ६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो । चीनले यस संक्रमणलाई नियन्त्रण गर्न कोरोना संक्रमित क्षेत्रलाई अन्य शहरसँग अलग्याएको छ । त्यसका लागि सरकारले सवारी साधन ठप्प पारिदिएका छन् भने पसलहरु बन्द गरिदिएका छन् । हाल चीन नयाँ वर्षको माह्वलमा छ । तर कोरोनाको त्रासले सरकारले महत्वपूर्ण कार्यक्रमहरुलाई स्थगित गरिदिएका छन् । कोरोनाको संक्रमण हालसम्म १३ देशमा देखिएको छ । ती देशहरुले चीनबाट फर्किएका नागरिकमा कोरोना देखिएको बताएका छन् ।

कोरोनाको लक्षण ?

कोरोना भाइरस निकै सामान्य हुन्छन् । सास फेर्न गाह्रो हुने, खकार आउने, नाकबाट पानी बग्ने यी सामान्य लक्षणहरु कोरोना संक्रमणको संकेत हुन् । तर कोरोना परिवारको केही भाइरस निकै खतरनाक हुन्छन् । सार्स ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ र मर्स ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ खतरनाक मानिन्छन् ।

वुहानबाट सुरु भएको कोरोनाको महामारी ‘नोवल कोरोना भाइरस’का कारण भएको हो । यसलाई एनसीओभी नाम दिइएको छ । यो भाइरस कोरोना परिवारको नयाँ सदस्य हो जुन यसअघि मानिसमा देखिएको थिएन । नयाँ कोरोना भाइरस संक्रमण भएपछि सुरुमा ज्वरो आउँछ । त्यसपछि सुख्खा खोकी सुरु हुन्छ । हप्तादिन जति सुख्खा खोकीले सताएपछि सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि यो संक्रमण निमोनिया र सार्स बन्न जान्छ । त्यसपछी किड्नीमा समस्या देखिन्छ र पीडितको मृत्यु हुन्छ ।

अहिलेसम्म नयाँ कोरोनाले धेरै वृद्धवृद्धाको ज्यान लिएको छ । खासगरी पहिल्यै पार्किन्सन र डायबिटिजले ग्रस्त बिरामीहरु यस रोगको शिकार भएका छन् । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका डाइरेक्टर प्रोफेसर पिटर पियोट भन्छन्, ‘कोरोना सार्सभन्दा कम खतरनाक छ । यो खुशीको खबर हो । पहिलेको तुलनामा विश्वमा सूचनाको पहुँच अधिक छ । त्यसैले यसको जानकारीको आदान प्रदान तीव्र गतिमा भइरहेको छ । यो महत्वपूर्ण पनि छ किनभने एक सम्भावित महामारीसँग एक्लो देशले लड्न सक्दैन ।’ हालसम्म यस संक्रमणको उपचार पत्ता लागेको छैन । डाक्टरहरु संक्रमितको उपचार उनीहरुको लक्षणको आधारमा गरिरहेका छन् ।

यसबाट बच्न के गर्नुपर्छ?

विश्व स्वास्थ्य संगठनले कोराना प्रभावित क्षेत्रमा रहेका मानिसहरुलाई हात सफा राख्न, मास्क लगाउन र स्वस्थ्य खानपानमा ध्यान दिन सल्लाह दिएको छ । परिवारकै सदस्यमा कोरोनाको संक्रमणको लक्षण देखिए नजिक नजान र चिकित्सकलाई खबर गर्न भनिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः

–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस् ।
–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस् ।
–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस् ।
–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस् ।
–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस् । मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस् ।

प्रतिक्रिया दिनुहोस्