२०८१ भाद्र २३
                           

जुगलमा कोरोना नभएको पुष्टि, भ्रममा नपर्न सामाजिक विकास मन्त्रालयको आग्रह

चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बामा फैलिएको भाइरल कोरोना नभएको भन्दै भ्रममा नपर्न बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गरी सो ठाउँमा कोरोना भाइरस नभएको जानकारी दिएको हो । गाउँपालिकाले कोरोना जस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । गाउँपालिकाले पत्र पठाएलगत्तै स्वास्थ्य टोली सो स्थानमा पुगेको थियो । स्वास्थ्यकर्मीको टोलीले सामान्य रुघा खोकीको लक्षण देखिएको तर गम्भीर बिरामीहरु नभएको जनाएका छन् ।
सो स्थानमा आवश्यक पर्ने औषधी समेत पठाईसकेको र बुधबार बिहान ११ः३० सम्म १ सय ५९ जना विरामीहरुले सेवा लिएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताएका छन् ।

‘थप अध्ययन एवम् प्रतिकार्य गर्न जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्वर खनालसहितको टोलीले सम्बन्धीत स्थलमा पुगि सेवा प्रदान गरिरहेका छन् । थप अनुसन्धानको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ र चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याव टेक्निसियनसहितको ४ जनाको टोली सो स्थानमा थप परिचालन गरिसकिएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘हाल यस प्रदेशमा नोभल कोरोना भाइसरको कुनै पनि शंकास्पद बिरामी देखा परेका छैनन् । तसर्थ विशेषज्ञको अनुसन्धान र निदान एवम् किटानी विना कुनै पनि अफवाह र भ्रममा नपर्नु हुन यसै विज्ञप्तीमार्फत मन्त्रालय सम्बन्धित सबैमा अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रष्ट्याए । मन्त्री दुलालले जुगल गाउँपालिकाको गुम्बामा देखिएको भाइरल रुघा, खोकी, ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै कोरोनाको संक्रमण नदेखिएको र संयमता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई उदृत गर्दै मन्त्री दुलालले मौसमी रुघा भएको र कोरोना भाइरससँग मिल्दोजुल्दो नरहेको स्पष्ट पारेका हुन् ।

हेर्नुस् मनत्रालयद्वारा जारी विज्ञप्तीः

प्रतिक्रिया दिनुहोस्