२०८१ भाद्र २३
                           

एक्यानको उपाध्यक्षमा सिन्धुपुत्र धिताल विजयी

चौतारा- नेपाल चार्टड एकाउन्टेन्एट्स संघ (एक्यान)को शनिबार भएको साधारण सभाबाट सिन्धुपुत्र रमेश धिताल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

एक्यानको ३२ औँ साधारण सभाबाट धिताल निर्वाचित भएका हुन् । २ वर्षे कार्यकालको लागि उनी निर्वाचित भएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारी, नेपानेमा जन्मिएका धिताल १३ वर्षदेखि सिए क्षेत्रमा सक्रिय छन् । भारतको मुम्बईबाट सिए अध्ययन गरेर आएका उनले यस अघि एक्यानमा महासचिवको समेत भूमिका निर्वाह गरिसकेका थिए ।

सिएहरुको वृत्ति विकासका लागि निरन्तर लागिपरिरहेका धिताल सामाजिक सेवामा समेत सक्रिय छन् । जिल्लामा विभिन्न विद्यालयहरुमा अक्षयकोष निर्माण गरी विद्यार्थीहरुको अध्ययनमा समेत टेवा पुर्याउँदै आएका धितालले निर्वाचन भए लगत्तै सिन्धुपाल्चोकमा अझैं सक्रिय भएर गतिविधिहरु सञ्चालन गरिने बताए । ‘एक्यान विशेषतः चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन हो, यसको म उपाध्यक्षमा विजयी भएको छु’, उनले भने– ‘अब सिन्धुपाल्चोकमा पनि चार्टर्ड एकाउन्टेन्टहरुको सुदृढिकरणका साथै विविध कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु ।’

एक्यानको अध्यक्षमा पुनः आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा तेज सुवेदी र कोषाध्यक्षमा सुशील घिमिरे विजय भएका छन् । एक्यानको यसपटकको चुनावी भीडन्तलाई इतिहासमै सबैभन्दा रोचक र अर्थपूर्ण भीडन्तका रुपमा हेरिएको थियो ।

एक्यान नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन हो । नेपालका लेखा व्यवसायीहरुको नियमनकारी संस्था एक्यानलाई मातृ संस्था पनि मानिन्छ । नेपालको स्थायित्व र सम्वृद्धिको यात्रामा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिकाको उल्लेख्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्