२०८१ भाद्र २३
                           

अधिकांश कार्यालयमा इन्टरनेट छैन, जडान भएकामा पनि चल्दैन

अधिकांश कार्यालयमा इन्टरनेट छैन, जडान भएकामा पनि चल्दैन

सिन्धुपाल्चोकको एक सय तीन वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छ्रैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी कार्यालयमा पनि इन्टरनेट सेवा छैन ।
जिल्ला सदरमुकाम चौतारा र आसपासका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा छैन । नेपाल दूरसञ्चार प्राधिकरणले दाबी गरेजस्तो निःशुल्क इन्टरनेट सेवा उपलब्ध नभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले निःशुल्क इन्टरनेट प्रभावकारी नभएको बताइन् । भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, बलेफी र पाँचपोखरी थांपाल गाउँपालिकामा इन्टरनेट सुविधा जडान नै गरिएको छैन । गाउँपालिका कार्यालय, वडा र केही माध्यमिक विद्यालयले आफ्नै खर्चमा इन्टरनेट सञ्चालन गरेका छन् ।
बाह्रबिसे नगरपालिकाको विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयमा इन्टरनेटको राउटर जडान भएपनि टावरको कारण सिग्नल नै आउँदैन । ती सरकारी कार्यालयलाई आवश्यक पर्दा बाह्रबिसे बजारमा आएर निजी इन्टरनेटबाट काम गर्नुपर्ने अवस्था छ । दूरसञ्चार प्राधिकरण बाह्रबिसेले लिसंखुपाखर गाउँपालिकाको सबै सरकारी कार्यालय र विद्यालयलाई सिडिएमएको इन्टरनेट जडान गरिदिएको छ । तर, निकै स्लो भएकोले दिउँसभर चलाउँदा पनि एउटा फाइल डाउनलोड हुँदैन ।
मेलम्ची नगर, जुगल र इन्द्रावती गाउँपालिकामा दुई वर्षअघि जडान गरिएका इन्टरनेटका राउटर काम नलाग्ने भएका छन् । तर, सुविधा उपभोग गर्न पाएका छैनन् । ‘सूचना केन्द्र स्थापनाका लागि दूरसञ्चार प्राधिकरण सँग एक वर्ष देखि अनुरोध गरेको छु । तर, आज सम्म कुनै सेवा प्राप्त भएन,’ गाउँपालिका महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले भने । हेलम्बु गाउँपालिकामा टावर आउने स्थानमा सबै सरकारी कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । निःशुल्क इन्टरनेट सेवाबारे सोधपुछ गर्दा नेपाल दूरसञ्चार प्राधिकरण महसुल काउण्टर शाखा चौताराका प्रमुख तेजकृष्ण था (श्रेष्ठ) ले यस बारे केही थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्