२०८१ भाद्र २३
                           

‘सहकारी अभियान सरकारको अभियान हो’ मन्त्री दुलाल

चौतारा- बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सहकारी अभियान सरकारको अभियान भएको बताएका छन् ।

शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका– ७ स्थित मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दुलालले ‘समाजवादी नेपाल निर्माण गर्नको लागि सरकारी आन्दोलनलाई अग्रभागमा राख्नु पर्छ भन्ने नीति सरकारको भएको बताए । सहकारीको विकास विना मुलुक समृद्ध नबन्ने उल्लेख गर्दै मन्त्री दुलालले सामाजिक, आर्थिक विकासको लागि सहकारीको विकास महत्वपूर्ण रहेको उल्लेख गरे ।

सहकारीको माध्ययमबाट मात्रै धनी र गरिवको खाडल कम गर्न सकिनेमा जोड दिँदै मन्त्री दुलालले गरिवीको रेखामूनि रहेका नागरिकहरुलाई अर्थिकोपार्जनमा टेवा पुर्याउँदै समतामूलक समाज निर्माणका लागि सहकारी उभिएको बताए । समृद्ध नेपाल सुखी नेपाली अभियान पूरा गर्न सहकारीको विकास गर्नु पर्ने धारणा राख्दै दुलालले सहकारी संस्थामा गरीब, आर्थिक अवस्था कमजोर भएका परिवारहरु जोडिएकोले ऋण प्रवाहको प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कृषि उपज उत्पादन, त्यसका लागि चाहिने पुँजि, आवश्यक पूर्वाधार, सिंचाई र बजारीकरणको व्यवस्था गर्ने गोजना बनाएको बताउँदै मन्त्री दुलालले कृषकहरुले आफ्नो उत्पादन बढाउन जोड दिनुपर्ने बताए । ‘तपाईहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरण प्रदेश सरकारले गर्ने योजना बनाईरहेको छ’, मन्त्री दुलालले भने– ‘तसर्थ अहिले सबै कृषकले उत्पादनमा जोड दिन आवश्यक छ ।’ दुललाले कृषि उपज भण्डारण र बजारीकरणको लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा शितभण्डार निर्माण सुरु गरिएको बताए ।

‘हामी आफ्नै घरमा बसेर आर्थिकोपार्जन गर्न सक्छौं’, मन्त्री दुलालले भने– ‘त्यसको लागि खाडीमुलुक जानु पर्दैन, इच्छाशक्ति र काम गर्ने जाँगर भए पुग्छ ।’ कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बताउँदै उनले त्यसको लागि सानाकिसान सहकारीले सघाउँदै आएको बताए । ‘साना किसान सहकारीले कर्जा उपलब्ध गराउँछ र कृषकहरुलाई समृद्ध बनाउन मद्दत गर्छ,’ मन्त्री दुलालले भने ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठक, सूर्यमूखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाई लगायतले साना किसान सहकारीले दिने सेवा सुविधाको बारे चर्चा गरेका थिए । त्यस्तै सोहि अवसरमा साना किसान विकास लघुवित्त वित्तिय संस्था इलाका कार्यालय बनेपाले सहकारीलाई २० लाख ऋण उपलब्घ गराएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष सुब्बाप्रसाद दुलालले माघ मसान्तसम्म २२ लाख १८ हजार ३ सय ८५ रुपैंया निक्षेप रकम रहेको र यो आर्थिक वर्षको अन्त्यसम्म ३२ लाख रुपैंया पुर्याईने लक्ष्य रहेको बताए । उनले यो सँगसँगै कृषि र पशुपालन व्यवसायलाई सुरक्षित बनाउन विमाको प्रबन्धको लागि सहकारीले पहल गरिरहेको बताए ।

एक वर्ष अघि स्थापना भएको सहकारीमा हाल ८५ वटा समूह, ९ वटा अन्र्तरसमूह र ६ सय १० बचतकर्ताहरु रहेका छन् । यस आर्थिक वर्षमा ९९ लाख ६७ हजार ८ सय ७६ रुपैंया कारोबार गरेको सहकारीले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी व्यवसायिक खेतीको लागि कृषकहरुलाई सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्