२०८१ भाद्र २३
                           

‘आत्मनिर्भरतामा जोड दिऔं’ प्रचण्ड

सकुटे- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भरतामा जोड दिँदै आर्थिक समृद्धितर्फ नागरिकहरु अघिबढ्नु पर्ने बताएका छन् ।

शनिबारबाट सुरु भएको प्रथम सकुटे महोत्सवको उद्घाटन गर्दै उनले सिन्धुपाल्चोकमा थुप्रै सम्भावनाहरु रहेको कारण विशेषगरी कृषि र पर्यटन क्षेत्रबाटनै समृद्ध सिन्धुपाल्चोक बन्न सक्ने बताए । ‘यहाँ कृषि, जलविद्युत र पर्यटनको प्रचुर सम्भावनाहरु छन्’, दाहालले भने– ‘त्यस्ता सम्भावनाहरुलाई पहिल्याउँदै आर्थिक समृद्धितर्फ लाग्न जरुरी छ ।’ धार्मिक पर्यटन, कृषि पर्यटन स्वास्थ्य पर्यटन सँगसँगै कृषि उत्पादनलाई बढवा दिन सके सिन्धुपाल्चोक समृद्ध बन्न कुनै समय नलाग्ने उनले बताए ।

एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संशोधन नभए पारित नहुने धारणा राख्दै अध्यक्ष दाहालले ५५ करोडको लागि राष्ट्रिको हित विपरित कुनै सम्झौता नगर्ने बताए । ‘एमसीसी सम्झैता कुनै बाईबल होईन,’ दाहालले भने– ‘सम्झौतामा भएका केहि बुँदाहरुलाई संशोधन गरे एमसीसी पारित हुन सक्छ ।’ श्रीलंकाले एमसीसी सम्झौता अस्वीकार गरेको उदाहरण दिँदै उनले अमेरिकी सहयोगको सदैव स्वागत गरेको तर राष्ट्रको हित अनुकुल हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री रहेका दाहालले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले फागुन २१ गते एमसीसीसम्बन्धी प्रतिवेदन बुझाउने जानकारी दिदै सम्झौताको अध्ययन नगरी कतिपय नेताहरुले पारित गर्न हुन्न भन्ने तर्फ लागेको आारोप लगाए । ‘एमसीसी पारितै हुन सक्दैन भन्ने होईन’, दाहालले भने– ‘हामीले त्यसलाई राष्ट्रहितमा ल्याउने प्रयास गरिरहेका छौं ।’

पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको बताउँदै दाहालले लामो राजनीतिक अनुभव भएकाले व्यक्ति सो स्थानमा लैजान उपयुक्त भएको धारणा व्यक्त गरे । ‘हामीले उहाँलाई राष्ट्रियसभामा जान संविधान संशोधन शर्त बनाउनु भएन भन्यौं’, उनले भने– ‘त्यो आग्रहलाई उहाँले स्वीकार गर्नुभयो ।’ बामदेव र नारायणकाजी जस्ता नेताहरु संसद्मा पुग्दा संस्थाको गरिमा बढ्ने दाहालको भनाई थियो ।

पार्टी विभाजन हुने भन्ने हल्लाप्रति इंकित गर्दै अध्यक्ष दाहालले कसैलाई पार्टी फुट्छजस्तो लागे त्यो भ्रम मात्र भएको बताए । ‘छलफलमा आफ्नो मत राख्न पाईन्छ, त्यसकै आधारमा पार्टी फुट्छ भन्नु भ्रम मात्र हो,’ उनले भने– ‘हामी एकतालाई अझ सुद्रिढ बनाउने अभियानमा छौं, भर्खरै बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम भएको छ, पार्टी विभाजन हुने कुरै आउँदैन ।’ सबै प्रदेश र जिल्लाहरुमा क्रमबद्ध प्रशिक्षण र भेला तय भईसकेको बताउँदै अध्यक्ष दाहालले पार्टी महाधिवेशनमा जुटिसकेकोले गाउँ तहदेखि केन्द्रसम्ममानै पार्टी मजबुद् भईरहेको बताए ।

सुनकोशी नदीमा जेटबोर्ड चढी दाहालले महोत्सवको उद्घाटन गरेका थिए । चार दिनसम्म चल्ने गरि सञ्चालन भएको महोत्सव नेपाल भ्रमण वर्ष २०२० मा सिन्धुपाल्चोकमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको आयोजक संस्था सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए । महोत्सव अवधिभर २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।  विविध सांस्कृतिक कार्यक्रमसहित गरिएको उद्घाटन समारोहान गरिने महोत्सवमा तामाङ संस्कृती र झाँकी प्रदर्शन, नेवारी संस्कृती र धिमे बाजा, माझी समुदायको विशेष नाच, खैंजडी भजन र कलाकारहरुले विशेष प्रस्तुतीसमेत रहेको थियो ।

महोत्सव अवधिभर सरसफाई तथा जागरण कार्यक्रम, र्याफ्टिङ, प्याराग्लाइडिङ, विभिन्न विषयमा कार्यशाला, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वक्तृत्वकला, जनप्रतिनिधि, पत्रकार महासंघ, गैसस महासंघ बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता लगायतको कार्यक्रम हुने जनाईएको छ । महोत्सवको अन्तिम दिन सिन्धुपाल्चोकको पर्यटकीय केन्द्र सुकुटेलाई पर्यटकीय ‘हव’को रुपमा विकास गर्न सुकुटे पर्यटन घोषणा–पत्र जारी गरी र पर्यटन विकासमा प्रतिवद्धता समेत जनाईने छ । महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र बिक्रि वितरणको व्यवस्थापन, स्थानीय उत्पादन र स्थानीय संस्कृती झल्कने मौलिक कुराहरुको प्रदर्शनी समेत गरिएको छ ।  सिन्धु पर्यटन व्यवसायी संघको आयोजना तथा वन वातावरण तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय सामाजिक युवा क्लबको समन्वयमा महोत्सव आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्