२०८१ भाद्र २३
                           

जाल हान्दै मन्त्री दुलालले भने ‘बगरलाई व्यवसायीक बनाऔं’

बाहुनेपाटी- बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले मेलम्ची खोलामा जाल हान्दै माझी समुदायको मूख्य रोजीरोटीको क्षेत्र नदी बगरलाई व्यवसायीक बनाउनुपर्नेमा जोड दिए ।

माझी समुदायको ठूलो पर्व कोशी पूजाको अवसरमा बुधबार मेलम्ची नगरपालिका– १२ स्थित बाहुनेपाटीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले माझी समुदायले माछा मार्ने, जाल हान्ने, डुगा चलाउने, मर्चा बनाउने मात्र नभई बगर क्षेत्रलाई ब्यबसायिक विकासमा लाजानुपर्ने बताए । ‘हामीले हाम्रो परम्परा, रितिरिवाज सँगसँगै त्यसलाई व्यवसायीक रुपमा अगाडि बढाउनु आवश्यक छ’, दुलालले भने– ‘तबमात्र माझी समुदायको उत्थान हुने देखिन्छ ।’

समृद्धिको दियो माझी समुदायको घरमा पनि बल्नुपर्ने धारणा व्यक्त गर्दै उनले लबी पूजा सबैको साझा संस्कृति भएकोले त्यसलाई स्वीकानुपर्नेमा जोड दिए । ‘नेपालमा मनाईने सबै चाडपर्व, संस्कृति साझा हुन्, त्यस्ता संस्कृतिहरुको सम्बद्र्धन गर्नु हामी सबैको कर्तव्य हो’, मन्त्री दुलालले भने– ‘तब मात्र हामी समृद्धिको बाटोमा पुग्न सक्छौं ।’ आ–आफ्नो धर्मको मात्र वकालत गर्नु भन्दा सबैलाई आत्मसाथ गर्नु आवश्यक रहेको बताउँदै उनले त्यसो गरिएन भने जातीय दङ्गा भड्कने बताए । परिवर्तनका लागि सबै जातजाति, भाषा, धर्मालम्वीहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै मन्त्री दुलालले संविधानको पूर्ण कार्यान्यन पश्चात परिवर्तनको अनुभुति हुने धारणा राखे ।

कार्यक्रममा प्रदेश सांसद् निमा लामा, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल, राजनीतक दलका प्रतिनिधि र माझी अधिकारकर्मीहरूले कोशी पूजाको शुभकामना दिनुका साथै माझी समुदायको समृद्धिको लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।

सिन्धुपाल्चोकसहित पाँच जिल्लाका माझी समुदायका अगुवाहरू जम्मा भएर बाहुनेपाटीको बगरमा कोशी पूजा गरेका थिए । ‘बाजेको नामको लालपूर्जा आज बगर भयो’, कोशी पूजा संरक्षण समितिका अध्यक्ष रामचन्द्र माझीले भने– ‘हामीले गरिखाने नदीको बगरमा टिपर, क्रसर छन् । हाम्रो पेशालाई संकटमुक्त बनाउन यो पूजा गरेका हौं ।’ माछा मार्ने पेशा संकटमा परेको बताउँदै यसलाई संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । ‘हाम्रो ओड्ने, ओछ्याउने, सिरानी सबै नदी नै हो’ उनले भने– ‘यसलाई अब नयाँ शीराबाट संरक्षण गर्दै आफ्नो रोजीरोटीलाई सुरक्षित बनाउनु सबै माझीहरुको कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस्