संस्कृति जीवनको अभिव्यक्ति हो । यसमा समाजको सामूहिक परिचय हुन्छ । संस्कृतिलाई सम्पदा र धरोहरहरुको सामूहिक नाम भन्दापनि मिल्छ । संस्कृतिले मानिसको उत्पत्ति, चालचलन, भाषा, संस्कार, धर्मको समग्रतालाई जनाउँदछ । वास्तवमा राष्ट्रको निर्माण वा ध्वंस अर्थात राष्ट्रिय पहिचान यसैमार्फत अभिव्यक्ति हुन्छ । जाति, समुदाय, भाषा, धर्म आदी विविधता र विशिष्टताले भरिपूर्ण नेपाल क्षेत्रफलको हिसाबले सानो भएता पनि दर्जभन्दा धेरै धर्म, १ सय भन्दा अधिक भाषा, पछिल्लो अनौपचारिक तथ्याङ्कहरु अनुसार १ सय ३० भन्दा धेरै जातजाति र जाति विशेषका लोक र मौलिक भेषभुषा, लोकवाजा, संगीत लगाएत विश्वको सबैप्रकारको हावापानी महसुस गर्न सकिने प्राकृतिक विविधताले भरिपूर्ण छ । यसर्थ साहसिक, प्राकृतिक, पर्यटनको अलावा सांस्कृतिक पर्यटनको अथाहा सम्भावना भएको देश नेपाल होे ।
सन् १९५० मा यूएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित ‘नेपाल–द किङडम इन दि हिमालय’ पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृत अध्ययन गरी नेपाललाई विश्व सामु चिनाउने प्रयास गरेको देखिन्छ । त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उचाइमा मानवले पाइला टेकेको दिन) सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारकाका पर्यटनप्रेमीहरुको माझ नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्यको रूपमा चिनियो ।
औपचारिक रुपमा नेपाल सरकारको तर्फबाट सर्वप्रथम वि.सं. २०१६ मा पर्यटन बोर्डको स्थापना गरेपछि वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन भयो । वि.सं.२०२८ को पर्यटन गुरुयोजना तथा प्रशासन सुधार आयोग र वि.सं. २०३२ को सिफारिससमेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना गरियो । वि.सं. २०३९ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । वि.सं. २०५५ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्थापना । मन्त्री परिषदको निर्णयानुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरियो । मन्त्रालयअन्तर्गत ९ वटा संस्कृति सम्बन्धी र १४ वटा पर्यटनसम्बन्धी समितिहरु रहेका छन् । साथै, पर्यटन ऐन २०३५, ट्राभल तथा ट्रेकिङ् एजेन्सी नियमावली २०६२, पर्यटन नीति २०६५, होटल, लज, रेष्टूराँ बार तथा पथप्रदर्शक नियमावली २०३८, जस्ता ऐन नियमावली कार्यान्वयनमा रहेका छन् ।
‘नेपाल भ्रमण वर्ष २०११ ले दशलाख पर्यटन भित्र्याउने लक्ष्य राखेतापनि झण्डै साडे सातलाख पर्यटक नेपाल आएको देखिन्छ । त्यसपछि लगातार आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ मा सिस्ने–जलजला–ढोरपाटन र कर्णाली पर्यटन वर्ष, सन् २०१४ विदेह–मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ विराट–मेची–पहाडी पर्यटन वर्ष, सन् २०१६ रुरु रेसुङ्गा–पोखरा–अन्नपूर्ण–मनास्लु पर्यटन वर्ष, सन् २०१७ सिम्रौन–काठमाडौं–लाङटाङ पर्यटन वर्ष, सन् २०१८ अरुण–सगरमाथा पर्यटन वर्ष, सन् २०१९ चिसापानी–खप्तड–रामारोशन पर्यटन वर्षरुपमा मनाएको थियो । र, सन् २०२० आन्तरिक भ्रमण तथा नागरिक उड्यन वर्ष घोषणा गरेको छ । हाल नेपाल दुरदृष्टि २०२० सम्म आइपुग्दा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सन् २०१३ देखि २०२० सम्म क्षेत्रगत रुपमा पर्यटन अभियान सञ्चालन गर्दै ‘भिजिट नेपाल २०२० लाइफ टाइम एक्सपिरियन्स’ भन्ने मूल नाराको साथ सन् २०२० मा १५ लाख पर्यटन भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेको छ ।
सरकारले विभिन्न पर्यटकीय इभेन्टहरुलाई प्रथमिकिकरण गर्दै एकवर्षको कार्ययोजना सार्वजनिक गरेको छ जस अन्तर्गत सांस्कृतिक पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । तर सांस्कृतिक भन्नासाथ धार्मिक गतिविधीलाइ बढी प्राथमिकता दिने र वास्तविक सांस्कृतिक पहिचान कमजोर हुँदै जाने अवस्थामा हामी छौं । यद्यपी नेपाल धार्मिक पर्यटकिय गन्तव्यको हिसावले समेत उच्च सम्भावनाले युक्त देश हो भन्ने भन्नेमा कुनै दुविधा नराखि त्यसै अनुसारको पूर्वाधारको विकासमा अनिवार्य ध्यान पुर्याउन आवश्यक छ । नेपालको समग्र सांस्कृतिक पर्यटनको विषय स्वभाविक फराकिलो क्षेत्र अन्तर्गत पर्न जान्छ तसर्थ सिन्धुपाल्चोक त्यसमापनि भोटेकाशी–ब्रम्हायणी नदी आसपासको संस्कृति र यससंग जोडिएको पर्यटकीय सम्भावनाको बारेमा चर्चा गर्नु यस सन्दर्भमा सान्दर्भिक होला ।
उत्तम कथाको संग्रहले मान्छेहरुलाई एक ठाउँमा जोड्न सकिन्छ । जस्तो कि हाम्रा राजनैतिक दस्तावेज हुन वा पौराणीक र ऐतिहासिक कथा । जसप्रति आम मान्छेको चासो रहन्छ वा मान्छे त्यसप्रति द्रविभूत वन्न पुग्छ । यसर्थ सिन्धुपाल्चोक जिल्लाको नामाकारणसँग जोडिएको सिन्धु र पाल्चोक थुम तथा चौतारा, तौथली, नवलपूर, फुल्पिङकोट, लिस्तीकोट, र सिपा थुम गरी जुन ८ ओटा थुममा विभाजित थिए त्यसको ऐतिहासिकता र त्यससँग जोडिएका कथाहरुको संग्रहलाई सोही स्थानामा संग्रहित गर्ने गरी यसमाथी सुन्दर कथाको निर्माण गर्न जरुरी छ । जस्तो की चौतारा भनेको राजधानी आसपासका मानिसहरुले भोटबाट नुन लिएर आउदा थकाइमार्ने चौतारी हो । यसमा अनेकौं ऐतिहासिकताको खोज गर्न सकिन्छ ।
धार्मिक पर्यटनलाई प्रवर्धन गर्नका लागि इन्द्रावती, सुनकोशी, ब्रम्हायणी, पाँचपोखरी, तातोपानी, भैरवकुण्ड माथी अनुश्रुती पौराणीक कथालाई व्यवस्थित गर्न जरुरी छ । विभिन्न शासन कालमा निर्मित हाम्रा मठ मन्दीरहरुको पौराणीक कथाहरु छन् । यसलाई मूख्यरुपमा चौताराको गौराती, त्रिपुरासुन्दरी, कालिन्चोक, लाटु, लिस्तिमाई, लगाएतका धार्मिक स्थानहरुको बारेमा त्यसमाथी बुनिएका र मानिएका कथालाई व्यवस्थित गर्न आवश्यक छ । व्यक्तिगत रुपमा यसप्रति मेरो सुझाव छ पौराणीकताको साथसाथ ऐतिहासिक तथ्यको खाजी गरिएन भने आउँदो पुस्ता भ्रमित रहिरहने खतरा हुन्छ तसर्थ जुनसुकै पौराणीक कथामा ऐतिहासिक तथ्यको खोज हुनैपर्छ ।
हालको लिसंखुपाखर गाउँपालिका आसपास, बाह्रविसे नगरपालिका र भोटेकाशी गाउपालिका आसपास, ओडारमा पछिसम्म पनि मान्छेहरुको वसोवास थियो । पक्कैपनि त्यो मानव इतिहासको महत्वपूर्ण स्थानहरु थिए । त्यसको खोज र संरक्षण आवश्यक छ । त्यसक्षेत्रमा भएका गोल्माराजाको मन्दिर सम्भवत त्यतिबेलाका मानवहरुको मुखिया हुन सक्छ । जसले राक्षस नामाकरण गरिएका शत्रुहरुबाट आफ्ना वरिपरीकालाई सफल नेतृत्व प्रदान गरिएको कारण गोल्माराजाको रुपमा मानेको हुनसक्छ । अरनिको यहि बाटो भएर तिव्बत गएका थिए । हाल ट्याङथलीलाई अरनिको गाउँ नामाकरण गरिंदैछ । त्यहाँ उनी बास वसेका थिए भन्ने भनाई छ । अरनिको राजमार्ग मात्र होइन अरनिको एउटा विशाल मुर्तीको कल्पना हामीले यस करिडोरमा निर्माण गर्नेगरी योजना वनाउन आवश्यक छ । मलाई लाग्छ अरनिको पहिचान हुने यो नै एकमात्र क्षेत्र हुन सक्छ ।
काठमाण्डौंका खाल्डोलाइ उर्वर जमिनमा रुपान्तरण गर्नका लागि मन्जुश्री चोवारको डाडो मन्जुश्रीले फोरेका हुनसक्छन् । जसरी हामीले धार्मिकीकरण गरेर सुनेका छौं उनले चक्कुले काटेर निकास दिएका हुन भन्ने भनाई त्यसमा सत्यता छैन । तर उनले आफ्ना चेलाहरु जनसमुदायलाई लगाएर त्यो कार्य गरेको हुन सक्छ । जे होस उनी पनि यहि बाटो भएर काठमाण्डौं पुगेको तथ्यहरुको खोज गरी उनलाई स्थापना गर्ने केन्द्र यहि मार्गलाइ वनाउन सकिन्छ । भृकुटी शान्तिको एक ऐतिहासिक प्रतिक हुन नेपालका लागि । भलै यसको वहस आधुनिक लैंगिकताको वहसमा फरक पर्न सक्ला । उनले सङचङ गम्पोसँग विबाह गरेर तिव्वत जाँदा यहि बाटो प्रयोग गरेकी हुन् । उनको प्रतिमा, उनका पाइलाहरु र उनले प्रयोग गरेका वास स्थानहरुको खोज गरेर त्यसलाइ हाम्रो गौरवको यात्रा बनाउन सकिन्छ । तिव्वतसँगको लडाईमा महत्वपूर्ण मानिएको दुगुागडी किल्ला वि.स. १९१२ सालमा श्री गोरखनाथ र कालिप्रसाद गण मिलेर बनाइएको थियो । यो ऐतिहासिक किल्लाको रुपमा मानिन्छ । भूकम्पपछि जिणोद्धार गर्ने प्रयत्नमा रहेको यस किल्ला हाम्रो गौरवशाली इतिहासको एक सम्झना हो । घुम्थाङमा वि.सं. १९३७ अघि सिन्धुपाल्चोकको प्रशासनिक काम हुने गर्दथ्यो । पछि मात्रै चौतारामा प्रशासन चलाउन शुरु गरिएको हो ।
२०६८ को जनगणना अनुसार मूख्य जातिको रुपमा तामाङ ३४.२५, क्षेत्री ब्राम्हण ३३.५७, नेवार ११.११, विश्वकर्मा, ३.८८, सन्यासी ३.६२, शेर्पा २.६३, माझी २.२९, दमाई १.९०, मगर १.७१, थामी १.७०, हेल्मो १.६९, लगाएत अन्य करिव ५० जातिहरुको वसोबास रहेको छ । यी सवै जातिहरुको भिन्नाभिन्नै संस्कृति भएको कारण सिन्धुपाल्चोकको सांस्कृतिक पर्यटनमा यसको महत्व अझ अधिक रहेको छ । त्यसमा पनि आज हामीले खास रुपमा सुकटेको वरिपरिको संस्कृतिलाई प्रमोशन गर्ने हिसावले मूख्यतः माझी, तौथलीको नेवार, दशनामी सन्यासी, मगर, तामाङ र क्षत्री ब्राम्हण संस्कृतिलाई आधार वनाएर छलफल गर्यौ भने बढी उपयुक्त होला । यसका लागि सुकुटे वरिपरि सबैलाई केन्द्र हुने गरी स्थानीय संस्कृतिक कला केन्द्रको स्थापना पहिलो प्राथमिकता हो ।
माझीको पित्रको एक मौलिक परम्परा हो । आफ्ना पूर्वजहरुको सम्झनामा निकालिने पित्र नेवार जातिले मनाउने गाईजात्राको प्रसंगँंग मिल्दो जुल्दो छ । यद्यपी यस मौलिक परम्परालाइ पर्यटनसँग जोड्न सकिन्छ । पञ्चेवाजा हाम्रो पूर्वदेखी पश्चिमसम्मको अटुट संस्कृति हो । यसको अत्याधिक उपयोग पर्यटनसँग गर्न सकिन्छ । जस्तो कि तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन् । यी वाजाहरुको प्रयोग गर्ने गरी कला केन्द्रमा प्रयोग हुनु पर्छ ।
भारत वर्ष भित्र बौद्ध, जैन, ख्रिश्चियन र मुश्लिम धर्मका अनुयायीहरुबाट वैदिक सनातन धर्म माथी हस्तक्षेप हुनसक्ने देखेर आद्यगुरु शंकराचार्यले विक्रम सम्वत ८६२ सालमा भारत वर्ष भित्रका सबै अखडाहरुलाई समेटने गरि ४ जना प्रमुख (पदमपाद, हस्तामलक, त्रोटक र सुरेश्वर) तथा दश जना सहायक (तीर्थ, वन, आरण्य, पर्वत, आश्रम, सागर, सरस्वती, गिरी, पुरी, र भारती) शिष्यहरु रहने गरि चार धामको स्थापना गर्नु भएको थियो । जहाँ शंकराचार्यद्वारा प्रतिपादित सन्यासी परम्पराबाट दिक्षित दशनामी सन्यासीहरु धार्मिक सेनाका रुपमा रहन्थे । गेरु बस्त्र धारणा गर्ने र त्रिशुलधारी दशनामी सन्यासीहरु निहीत स्वार्थ भन्दा माथी उठेर सांसारीक भौतिक शुख, सम्पतिको मोह त्यागी समाजवादबाट ओतपोत भएका थिए । जसको स्वार्थ केवल समाज र वैदिक सनातन धर्मको रक्षा मात्र थियो । समय अन्तरालमा धर्म रक्षाको जिम्मा कानुन र राज्यले लिएपछि निश्चित संख्या धाम र अखडाहरुमा राखि सबैलाई गृहस्थ जीवनमा फकाईएको थियो । उनीहरुले इतिहासमा गरेका कर्मलाइ आधुनिक कलामा रुपान्तरण गरी त्यसलाई कलामा रुपान्तरण गर्न सकिन्छ ।
नेवार अत्याधिक संस्कृतिले सुसम्पन्न जाति हो । तर तौथली वरिपरि रहेका नेवार जातिको भाषा सबै नेवार भन्दा फरक छ र त्यहाँको अन्य लोक परम्परा समेत मौलिक रहेको छ । यसको भरपूर प्रयोग पर्यटनमा गर्न सकिन्छ । यस बाहेक अन्य नेवार जातिको संस्कृतिको सदुपयोग हामी गर्न सक्छौं । पूर्वतिर आइपुग्दा मगर जातिहरुको आफ्नो भाषा र संस्कृतिमा व्यापक लोप हुने प्रकृया तिव्र छ । तर मगर जाती आफ्नो संस्कृतिमा धनी जाती हो । मगर जातीको समेत उल्लेख्य वसोवास भएको यस क्षेत्रमा मगर लोक वाजा लोक नाच र लोक गीतहरुको भरपूर उपयोग गर्न सकिन्छ । अन्य जाती विशेष संस्कृतिको मैले यहाँ किन उल्लेख गरेको छैन भने हामी विविधताले भरिपूर्ण छौं । यसर्थ सुकटेलाइ कुनै संस्कृतिको केन्द्र बनाउने तथा यस बाहेक अन्यत्र जस्तै बाह्रविसे, भोटेकोशी पुग्दा थामी, शेर्पा तथा जुगलतिर पुग्दा नेवार वा तामाङ संस्कृतिलाई आधार वनाएर पर्यटनको विकाश गर्न सकिन्छ । साथै प्रत्येक जातिसँग जोडिएको खाद्य संसकृति हाम्रो पर्यटनसँग अनिवार्य जोडिन जरुरी छ । हाम्रो होटल रेष्टुरेन्टहरु त्योसँग समन्धित हुन जरुरी छ ।
हाम्रा वसोवासको तरिका केवल टीनका टहरामा होइन, अब आवरणमात्रै किन नहोस मौलिक जातिय वसोवासको तरिकामा निर्माण हुन जरुरी छ । र, अन्त्यमा पर्यटनको विकास भलै जतिनै भौतिक संरचना निर्माण होस तर मित्रवत संस्कृतिको विकास हुन सकेन भने यसको विकास सम्भव छैन । यसर्थ पर्यटन संसकृतिसँग आजको हाम्रौ संस्कार कस्तो हुने आम वहस र शिक्षाको जरुरी छ । यावत उल्लेखित वा अउल्लेखित संस्कृतिको विकास शैक्षिक क्षेत्रबाट हुन जरुरी छ । गाउँ टोलहरुको यसको संरक्षण र विकास जरुरी छ । ता कि खास केन्द्र बाहेक हाम्रा गाउँहरु संसकृतिक पर्यटनको केन्द्र हुन सक्छन् । र, मित्रवत व्यवहारले हरेक पर्यटकलाई पुनः यस ठाउँमा फर्कने मात्र होइन हाम्रो संस्कारलाई संसारको जुनसुकै ठाउँमा पुर्याउन उनीहरुले नै पहल गर्ने छन् ।
(प्रथम सुकुटे महोत्सव– २०७६ मा ‘स्थानीय संस्कृति र पर्यटन’ विषयमा प्रस्तुत कार्यपत्र । पौडेल जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय अध्यक्ष हुन् ।)
प्रतिक्रिया दिनुहोस्