२०८१ पुष ८
                           

लाखेहरू नाच्दछन्

  • दीपिन सिजापती

हाम्रा आँसु बगेर सागर भयो के यन्त्र नाप्ने छ र?
हाम्रा दु:ख बढे पहाड भरिए के यन्त्र ढाक्ने छ र?
जुत्तामा थिचिदै दबेर कसरी मान्छेहरू बाँच्दछन् ?
देख्दैनन् दुनिया जलेर सकियो लाखेहरू नाच्दछन्

आफ्नो रूप लुकाउने भन सधै भिर्छौ मुकुन्डो किन?
माटोले अनुहार चिन्छ सजिलै आयो भने त्यो दिन
आमाको मुटुमा चिरेर कसरी आफू अझै हाँस्दछन् ?
बज्छन् शङ्ख जहाँ कि मृत्यु धुनमा लाखेहरू नाच्दछन्

काला दाग सबै हटाउन भनी नौ रङ्ग छ्यापे पनि
बन्ने छैन हिमाल किन्तु बुझ त्यो सेतो लगाए पनि
कुस्ती खेल्न गए कि ? संसद त्यहाँ कुर्सीहरू भाँच्दछन्
हातैमा छ चुरा भिरेर फरिया लाखेहरू नाच्दछन्

घोडाको मुखमा नकाब शिरमा श्रीपेच लाए पनि
लाती ठोक्छ हराम चाल छ उही गद्दी चढाए पनि
सीमा यो मिचिदै गयो सब दिशा माटो कहाँ साच्दछन्?
बेच्दै राष्ट्र यहाँ अनन्त सुखले लाखेहरू नाच्दछन्

ढुङ्गमा सुनको दलेर जलपै के स्वर्ण बन्ला यहाँ ?
चैते बाँदरले चढेर भिरमा के मार्ग खन्ला यहाँ ?
मान्छेमा पशुको विचार भरियो उस्तै कला साँच्दछन्
दाना आउँछ रे विदेश तिरको लाखेहरू नाच्दछन्

उफ्र्री हिन्छ बुरुक्क त्यो शिखरमा के भ्यागुतो चढ्छ र?
खुट्टामा हुटिटाउँ थाम्छ बलले आकाश के अड्छ र?
फोहोरी अति छन् कुरूप अति छन् यो देश के माझ्दछन्?
खाए झै धतुरो कमाल छ नशा लाखेहरू नाच्दछन्

OOO

छन्द : शार्दूलविक्रीडित

प्रतिक्रिया दिनुहोस्