२०८१ भाद्र २३
                           

मन्त्री दुलालद्वारा आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण

चौतारा- बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि चौतारा अस्पताल र जिल्ला समन्वय समितिमा स्थापना गरिएको आइसोलेसन वार्डको मन्त्री दुलालले अनुगमन गरेका हुन् । आज चौतारा अस्पतालमा रहेको ६ वटा र जिल्ला समन्वय समितिमा रहेको ४ वटा आइसोलेसन वार्डको अवस्था बारे दुलालले जानकारी लिएका थिए । वार्डको निरीक्षण लगत्तै मन्त्री दुलालले अस्पताल सम्वेदनशिल क्षेत्र भएकोले धेरै भीडभाड नगराउन र सबैको अवस्था पहिचान गरेर मा त्र अस्पताल हाताभित्र प्रवेश गराउनको लागि निर्देशन गरेका थिए । उनले अस्पतालबाट जाँच गरि नियमित सम्पर्कमा रहेका व्यक्तिहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । अस्पतालको क्वारेन्टाईनमा बसेका व्यक्तिको अवस्थाको जानकारी लिएका थिए ।
अस्पतालमा रहेको स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने सुरक्षा सामग्रीहरुको बारेमा जानकारी लिँदै उनले थप आवश्यक सामग्रीहरु तत्काल मन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाए । ‘कोरोनाको संक्रमणको जोखिम बढी अस्पताल क्षेत्रमा हुने भएकोले सबैले सर्तकतापूर्वक सेवा प्रदान गर्न आग्रह गर्दछु’, स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै मन्त्री दुलालले भने– ‘तपाईंहरुको सुरक्षामा मन्त्रालय साथ दिन तयार छ ।’ उपचारको क्रममा अस्पताल आउने बिरामीहरुको आफन्तहरुलाई भीडभाड नगर्न र एक बिरामी–एक कुरुवा नीति अवलम्वन गरी सेवा प्रदान गर्न उनले आग्रह गरे ।
त्यस्तै सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि जारी गरेको लकडाउन सबै नागरिकले पालना गर्नुपर्ने बताउँदै दुलालले भाइरस रोकथामको सबैभन्दा प्रभावकारी उपाय घरबाहिर ननिस्कनु र आफ्नो सुरक्षामा आफैं जिम्मेवार हुनु पर्ने उल्लेख गरे । मन्त्री दुलालले अस्पतालमा रहेको वेडहरुलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न, समन्वयमा रहेका वेडहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न र आवश्यक उपकरणको व्यवस्थापन गर्न सुझाव दिएका थिए । मन्त्री दुलालसँगै नेकपाका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, नेकपाका नेता सरल सहयात्री, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठलगायतले आइसोलेसन वार्डको निरीक्षण गरेका थिए ।
आजै मन्त्री दुलालको टोलीले बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा दुलालले भाइसरको संक्रमणलाई रोक्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका थिए ।

नाका खुलाउन मन्त्री दुलालले गरे पहल

नेपाल सरकारले बन्द रहेको तातोपानी नाका खुलाउने निर्णय गरिसके पनि नाका अहिलेसम्म सुचारु हुन सकेको छैन ।
विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारणले अहिले तातोपानी नाका सुनसान छ । बन्द रहेको तातोपानी नाका खुलाउने र त्यहाँको अवस्था बारे बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, नेकपाका नेता सरल सहयात्री, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा, बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पा, जिल्ला जन स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं, स्थानीय जनप्रतिनिधी लगायतको टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा तातोपानी भन्सार अधिकृत लालबहादुर खत्रीसँग मन्त्री दुलालले तातोपानी नाकाको अवस्था बारे जानकारी लिएका थिए । खत्रीले भन्सारमा हेल्थ डेक्स सञ्चालन गरि अत्यावश्यक सामानहरु ढुवानी गर्न सकिने बताए ।
आजै मन्त्री दुलालले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग चौतारामा भेट गर्दै आवश्यक सम्वन्य गरी नाका सुचारु गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्