रामकृष्ण थापा- कोरोना भाइरसको महामारीसँग जुध्न सिन्धुपाल्चोकका सबै स्थानीय सरकारले लकडाउनको पूर्णपालना गरेका छन् । बजार सुनसान छ । गाउँघर शान्त छ । बजारमा मानवीय गतिविधि ठप्प भएपनि गाउँघरमा भने खेतीकिसान साबिकझैं चलिरहेको छ ।
कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय सरकारले गाउँगाउँमा क्वारेन्टाइन बनाएका छन् । सरकारी अधिकारी र जनप्रतिनिधि मिलेर घरघरमै पुगी सचेतना अभियान सुरु गरेका छन् । कोरोनाबाट बच्न अपनाइनुपर्ने सावधानीबारे घरमै पुगेर सतर्क गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
धमाधम क्वारेन्टाइन स्थापना
जिल्लाभर क्वारेन्टाइन स्थापना भएका छन् । हेलम्बु गाउँपालिकामा तीन सयजनाका लागि पुग्ने क्वारेन्टाइन बनाइएको छ । त्यहाँ टोलटोलमै क्वारेन्टाइन छन् । मेलम्ची नगरपालिकामा ५० बेड क्वारेन्टाइन बनिसकेको छ । इन्द्रावतीमा १४ बेडको क्वारेन्टाइन र ६ वटा आइसोलेसन बेड छन् । हेलम्बु, पाँचपाखरी थांपाल, मेलम्ची र इन्द्रावती गाउँपालिकाको केन्द्र मेलम्चीमा दुईसय बेड क्षमताको क्वारेन्टाइन बनाउने काम जारी रहेको मेलम्ची नगरका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए । ‘लकडाउन उल्लंघन गरेर चिसापानीबाट मेलम्ची र आसपास प्रवेश गर्ने स्थानीय बढिरहेका छन्,’ उनले भने ।
त्यसैगरी सुनकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, बाह्रबिसे र भोटेकोसीको बीच भागमा पर्नेगरी खाडिचौरको ग्रामीण महिला सिर्जनशील परिवारको भवनमा ३८ बेडको क्वारेन्टाइन बनाउने काम जारी छ । भोटेकोसी, सुनकोसी, त्रिपुरासुन्दरी र बाह्रबिसेले पनि आपतकालीन क्वारेन्टाइन बनाएका छन् । हिमाली बस्ती रहेको जुगल गाउँपालिका, ब्रम्हायणी र सुनकोसी नदी किनारका सबै बÞस्ती समेट्ने गरी बलेफीमा क्वारेन्टाइन तयार भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकास्थित मेलचौर क्वारेन्टाइनमा ६ जना रहेका छन् । भोटेकोसीको झिर्पु माविमा क्वारेन्टाइन बनाएको अध्यक्ष राजकुमार पौडेलले बताए । छिमकी देश चीनसँग जोडिएकोले यहाँको संवेदनशीलतालाई ख्याल गरेर योजना निर्माण गरिएको उनले जनाए । ‘आवश्यक पर्दा तिब्बतको न्यालम जिल्लासँग समन्वय गरेर स्वास्थ्य सामग्री ल्याउन चीन सरकारलाई पत्राचार गरिएको छ,’ उनले भने ।
विदेशबाट आउनेको पहिचान
विदेशबाट फर्किएका सबैको पहिचानको लागि जिल्लाका १०३ वटै वडाले डाटा संकलन गरिरहेका छन् । मेलम्ची नगरमा ४३, हेलम्बुमा १८, इन्द्रावतीमा २६, जुगलमा १६ र त्रिपुरामा १६ जनाको पहिचान भएको छ । उनीहरु अधिकांशले २० दिन कटाइसकेका छन् । उनीहरु कसैमा पनि स्वास्थ्य समस्या आएको छैन ।
तर, दुई हप्ता नकटेका दुई दर्जनजतिलाई स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ क्वारेन्टाइन राखिएको छ । भोटेकोसी–४, फुल्पिङकट्टीका तीनजनालाई बाह्रबिसे अस्पालको आइसोलेसन बेडमा राखेर उपचार गरिएको थियो । एक महिनाअघि इराकबाट आएका उनीहरुमा कोरोना नदेखिएपछि अस्पतालले डिष्चार्ज गरेको छ । जुगल घर भएकी २२ वर्षीया महिलाको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपनि रुघाखोकी र ज्वरो नहराएकोले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा घरमै उपचार जारी छ । विदेशबाट फर्किएका हिमाली बस्तीका केहीलाई स्वास्थ्यमा समस्या देखिएकोले जुगलको गुम्बामा स्वास्थ्यकर्मी पुगेका छन् ।
जिल्ला छिर्ने क्रम रोकिएन
यातायात नचलेपनि दैनिक पाँचसय हाराहारीमा मानिस जिल्ला प्रवेश गरिरहेका छन् । सबैभन्दा बढी सुन्दरीजल हुँदै चिसापानी नाकाबाट मानिसहरु जिल्ला प्रवेश गरिरहेका छन् । काठमाडौबाट पैदल हिँडेर अरनिको राजमार्गबाट पनि रातभर मानिस जिल्ला आइरहेका छन् । चिसापानी नाकाबाट बढी जोखिम बढेको मेयर अर्यालले बताए । मेलम्ची, हेलम्बु र पाँचपोखरी थांपालका स्थानीय रोजगारको क्रममा भारतमा छन् । भारतबाट आउनेबाट जोखिम छ । यता राजधानीबाट जिल्ला फर्कने स्थानीय बन्देउबाट रात पारेर चौतारा साँगाचोकगढी नगरमा प्रवेश गरिरहेको मेयर अमानसिंह तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस्