२०८१ भाद्र २३
                           

राहत वितरण गर्दा फोटो खिचेर भद्या मजाक नगर्न महासंघको अनुरोध

राहत वितरण गर्दा फोटो खिचेर भद्या मजाक नगर्न महासंघको अनुरोध

दैनिक ज्यालादारी तथा असहायहरुलाई राहत वितरण गर्दा फोटो तथा भिडियो नखिच्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सबै गाउँपालिकालाई अनुरोध गरेको छ । जो कोहिले पनि राहत वितरणको क्रममा लिइने फोटो तथा भिडियोलाई संस्थागत अभिलेखको रुपमा मात्र प्रयोग गर्न अनुरोध गर्दै यस्ता फोटो तथा भिडियोलाई सामाजिक सञ्जाल र सञ्चार माध्यममा भद्या प्रचारको सामाग्री नबनोस् र राहत लिने वर्गको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा ध्यान दिन आव्हान गरेको छ ।
राहत वितरण कार्यलाई प्रभावकारी बनाउने सम्बन्धमा सबै ४६० वटै गाउँपालिकालाई ध्यानाकर्षण गर्न पत्र पठाउँदै महासंघले राहत वितरणमा आफ्ना र अर्काको नागरिक भनेर विभेद नगर्न समेत अनुरोध गरेको छ । ‘हामी अहिले भुगोल, जात, धर्म, लिङ्ग तथा सम्प्रदायमा विभक्त छैनौं । ‘जो जहाँ छन् त्यही रहने’ नीति भएकोले हाम्रो क्षेत्रभित्र रहेका तर जुनसुकै भुगोलबाट आएका श्रमिक तथा असहाय नागरिकको न्युनतम खाद्य सुरक्षाको दायित्व हाम्रो नै हुनेछ ।’ विज्ञप्तीमा भनेको छ ‘तर कुनै कम्पनी÷व्यवसायमा कार्यरत श्रमिकहरुको दायित्वको सवालमा भने स्वयम् कम्पनी÷व्यवसायीलाई नै जिम्मेवार बनाउने वा नेपाल सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ ।’
भुकम्प, बाढी पहिरो, हावा हुरी, हिमपात जस्ता विगतका विपद्मा जसरी भौतिक संरचना नष्ट भै खाद्य संकटको अवस्था उत्पन्न भएको जस्तो अवस्था अहिले नभएको तर्फसमेत ध्यान दिन भनेको छ । ‘कोभिड १९ को संक्रमणको आगामी दिनमा हुन सक्ने सम्भावित विपद् समेतलाई आंकलन गरी राहत वितरण कार्यलाई किफायती विधि अपनाउने र आपुर्ति प्रणालीलाई प्रभावकारी बनाई पालिकामा खाद्य सञ्चितीको अवस्थालाई व्यवस्थित राख्न आवश्यक देखिन्छ ।’ लकडाउनले पारिवारिक खेती गर्न रोक नलगाएकोले किसानहरुलाई कृषि कार्य निरन्तर गर्न प्रोत्साहित गरौं र आवश्यक मल विउको आपुर्ति गर्न सबै गाउँपालिकाहरुलाई आव्हान गरेको छ ।
राहत सामग्री खरिदमा विद्यमान कानुनी प्रकृया अवलम्बन गरी प्रतिस्पर्धात्मक र पारदर्शितालाई ध्यान दिई छिटोछरितो विधि अवलम्बन गर्न समेत ध्यानाकर्षण गर्दै राहत वितरण प्रणालीलाई सकेसम्म विकेन्द्रित गरौं, भिडभाड नगरी न्युनतम सुरक्षाका विधिहरु अवलम्बन गर्न अनुरोध गरेको छ । राहत वितरणमा एकद्वार प्रणाली अपनाउन र अन्य संघ÷संस्था तथा व्यक्तिहरुलाई आफुखुशी राहत बाढ्ने कार्यलाई रोकी सहयोग गर्न चाहनेहरुलाई तत्तत् विपद् व्यवस्थापन समिति मार्फत सहयोग गर्न आवश्यक समन्वय गर्न महासंघले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्