२०८१ मंसिर ६
                           

आपतकालीन अवस्थामा परिचालन नहुने एम्बुलेन्सको सञ्चालन अनुमति रद्द गरिने

चालकका लागि पनि सुरक्षा सामाग्री

चौतारा– कोरोना भाइरस (कोभिड १९)को महामारीको आपतकालीन अवस्थामा आवश्यक पर्दा तत्काल बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमती रद्द गरिने भएको छ ।

हालको आपतकालीन अवस्थामा कतिपय एम्बुलेन्सले सम्भावित संक्रमित बिरामीलाई ओसार पसार गर्न नमान्ने, सम्पर्कमा नआउने गरी बस्ने देखिएकोले प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्ला स्तरीय खोज तथा उद्धार समिति (पि.आर.टी.) को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हालको महामारीको अवस्थामा आवश्यक पर्दा बहानाबाजी गरी तत्काल एम्बुलेन्स गाडी परिचालन नभएको प्रमाणित भए एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम अनुमति रद्द गर्न सोही ऐन बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने बताएको छ । जिल्ला स्थित संकट व्यवस्थापन समितिले पनि सो अनुसार प्रमाणित भएमा तत्काल कारवाही गर्ने निर्णय गरेको छ ।

जिल्ला भित्र सञ्चालनमा रहेको सबै एम्बुलेन्समा जि.पि.एस. जडान गरी ट्र्याकिङ सिस्टममा समावेश हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पत्राचार गरेपनि नेपाल रेडक्रसले सञ्चालन गरेको तीनवटा एम्बुलेन्स वाहेक अन्यले हालसम्म उक्त सिस्टममा समावेश भई नसकेको हुंदा बैठकको निर्णय अनुसार बाँकी सबैलाई पत्राचार गरेको प्र.ना.उ. माधवप्रसाद काफलेले बताएको छ ।

एम्बुलेन्स सेवालाई नाफाघाटामा तुलना गर्ने र एम्बुलेन्स सञ्चालन निकायले गाडी ल्याउदा नेपाल सरकारले दिएको भारी करछुटको आसय सम्बन्धित निकायले बुझ्नु पर्ने र नेपाल सरकारले निर्दिष्ट गरेको कार्य सम्बन्धित सबै निकायले अनिवार्य पालना गर्नुपर्ने जिल्ला स्वास्थ्यका प्रमुख दुर्गादत्त चापागाईले बताएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स चालकलाई संक्रमण हुन नदिनका लागि चालक र विरामी बस्ने बिचको भागमा कम्पार्टमेन्ट गर्ने कार्य चलिरहेको र हालसम्म जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स मध्ये १९ वटामा कम्पार्टमेन्टको काम सम्पन्न भएको बाँकी गाडीको लागि पनि समन्वय भईरहेको नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा सिन्धुपाल्चोकले जनाएको छ । जिल्लामा हाल २७ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

संक्रमणबाट सेवा प्रदायक व्यक्ति सुरक्षित हुनुपर्ने अनिवार्य भएकोले जिल्ला भित्रको सबै एम्बुलेन्सका चालकहरुलाई सुरक्षा सामाग्री बितरण गरिने र संक्रमणको अवस्था एम्बुलेन्स चालकले गर्नुपर्ने सुरक्षित व्यवहार र चालकले आफु सेवामा रहँदा निर्वाह गर्नुपर्ने भूमिका बारे अभिमुखिकरण गराउंदै हाल इन्द्रावती गाउंपालिका अन्तरगत तीन वटा र चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत ७ वटा एम्बुलेन्सका चालकलाई उक्त सामाग्री वितरण गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्