२०८१ भाद्र २३
                           

सवारी साधनको निर्मलीकरण गर्दै रेडक्रस

चौतारा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन नेपाल रेडक्रस सोसाइटीले सवारी साधनको निर्मलीकरण गर्ने कार्य सुरु गरेको छ ।
सिन्धुपाल्चोक र रामेछाप जिल्लामा प्रवेश गर्ने सवारी साधनको निर्मलीकरण गर्ने कार्य सुरु गरेको रेडक्रसले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाले साँगा भञ्ज्याङ र जडिबुटी, सिन्धुपाल्चोक जिल्लाले बन्देउ नाका र रामेछाप जिल्लाले भैंसेश्वरको चेकप्वाईटबाट जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निर्मलीकरण गर्ने कार्यको थालनी गरीएको हो । अहिले सिन्धुपाल्चोक र काभ्रेको सीमाना बन्देउमा सिन्धुपाल्चोक तथा दोलखामा आवतजावत गर्ने दैनिक ३ सय भन्दा बढी, भक्तपुरमा दैनिक २ हजार भन्दाबढी र खुर्कोट हुंदै रामेछाप जिल्ला प्रवेश नाकामा दैनिक १ सय भन्दा बढी सवारीसाधनको निर्मलीकृत गरीसकिएको रेडक्रसले जनाएको छ ।
बाहिरबाट आएका सवारीसाधनमा संक्रमण हुन सक्ने भएकाले त्यसबाट समुदायमा भाइरस फैलन नदिन निर्मलीकृत गर्न थालिएको हो । निर्मलीकृत गर्ने स्थानमा सोसाइटीले न्यूनतम ४ जना स्वयम्सेवक परिचालन गर्दै आएको छ । लकडाउन समयावधीभर सञ्चालन गरिने निर्मलीकरण अभियानलाई स्थानीय निकायलगायत सरोकार वालाहरुसँग समन्वय गरी आवश्यकतानुसार सञ्चालन गरिने सोसाइटीले जानाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको सुझावअनुसार सोडियम हाईपोक्लोेराईडको प्रयोग गरी सवारीसाधनको दैनिक निर्मलीरण भईरहेको सिन्धुपाल्चोक जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्