२०८१ भाद्र २३
                           

सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

हेटौडा- विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्न सुरु गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्ट र महासचिव कृष्ण सारु मगरलाई प्रदेश भित्रका सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघका १३ वटै जिल्ला समिति मार्फत सम्बन्धित जिल्लामा कार्यरत पत्रकारले ती सामग्री प्राप्त गर्ने सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ भाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी फ्रन्टलाइनमा काम गर्नु पर्ने पत्रकारलाई ती सामग्री उपयोगी हुने विश्वास लिएको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मकवानपुर, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप र दोलखाका पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल हुँदै ती सामग्री उपलब्ध गराएको हो । ‘केहि दिन भित्र काठमाडौ उपत्यकासहित सबै जिल्लामा ती सामग्री पुर्याइसक्ने छौं,’ सञ्चार रजिष्ट्रार सापकोटाले भने । क्यामरापर्सन तथा फोटो पत्रकार, टेलिभिजनमा कार्यरत पत्रकार, रेडियोमा कार्यरत पत्रकार, अनलाइनमा कार्यरत पत्रकार एवम् पत्रिकामा कार्यरत पत्रकारलाई विशेष प्राथमिकताका साथ सामग्री वितरण गरिने सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्