२०८१ भाद्र २३
                           

कोभिड–१९ सँग जुध्दै टोलटोलमा नेकपा

चौतारा- महामारी कोरोना भाइरस (कोभिड–१९) ले विश्व त्राहिमाम छ । यसबाट नेपाल पनि त्रसित छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटीलाई पनि परिचालन गरिरहेको छ ।
सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको सुरुवातमै जिल्ला कमिटीको हाइलेभल बैठक गरेर नेताकार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिव दावा तामाङले सबै कमिटीलाई कामसहित परिचालित हुन निर्देशन गरिसकेका छन् । जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले कोरोना विरुद्ध जुध्न सबै तहका पार्टी संगठनलाई परिचालन गरेको बताएका छन् ।
जिल्लाभर क्रियाशील नेकपा संगठनले जनचेतना जगाउने र फिल्डमै पुगेर सर्वसाधारणलाई सहयोग गर्ने काम गरिरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपाले स्वास्थ्य परीक्षण र औषधि वितरणलाई तिब्रता दिएको पार्टी अध्यक्ष राजु खाती सहदेवले जानकारी दिए । उनका अनुसार सहइन्चार्ज अनन्तप्रकाश श्रेष्ठसहितको टोलीले थर्मल गनको सहायताले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र सामान्य बिरामीलाई आवश्यक औषधि वितरण गरिरहेको छ । पार्टी कमिटीका नेताहरु गेहेन्द्र गुरुङ, सुरेश थामी, नीरबहादुर श्रेष्ठ, बलबहादुर थामी, हरेराम तिमल्सिना, शरण गुरुङ, गाङदेउ थामी, बाबुराम थामी र माधव पौडेललगायत दिनरात खटेर स्वास्थ्य परीक्षण काममा लागेका छन् ।
त्यसैगरी सुनकोसी गाउँपालिकामा नेकपाले काठमाडौमा अड्किएर अलपत्र परेका करिब पाँच सय सर्वसाधारणलाई गाउँ ल्याइपुर्याएको छ । सुनकोसीका अध्यक्ष प्रेमलाल लामाका अनुसार गाउँपालिकाभर नेकपा कार्यकर्ता परिचालन भएका छन् । ‘गाउँपालिकामा रहेका विपन्न किसान, मजदुर, दलित र असहायहरुलाई कसरी सहायता गर्ने भन्ने विषयमा कमिटीले अध्ययन गरिरहेको छ,’ लामाले भने, ‘पार्टीको माथिल्लो कमिटी र सरकारसँग पर्याप्त छलफल गरेर कामलाई अझ प्रभावकारी बनाइने छ ।’ भाइरसविरोधी लडाइँमा पार्टी कमिटीका अर्का नेता टपेन्द्रप्रसाद तिमल्सिनाले आर्थिक र भौतिक सहयोग गरेकोप्रति सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
यता छिमेकी मुलुक चीनसँग सीमाना जोडिएको गाउँपालिका भोटेकोसीमा नेकपाले प्रत्येक टोलमा कार्यकर्ता परिचालन गरेर जनजीवनको अवस्था संकलन गरिरहेको छ । ‘हामीले कोरोना भाइरससँग लड्न सरकारले जारी गरेको लकडाउनलाई पूर्णपालना गर्ने विषय र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी पार लगाउने भन्नेबारे गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेका छौं,’ नेकपा भोटेकोसीका अध्यक्ष आङछिरी शेर्पाले भने । तातोपानी नाका सञ्चालनबारे पनि कमिटीले समीक्षा गरेको उनले बताए । सीमाको अवस्थाबारे पार्टीको माथिल्लो कमिटी हुँदै सरकारलाई जानकारी गराइएको उनले दाबी गरे । नेकपाले दुई प्रतिनिधिसभा, चार प्रदेशसभा, १२ वटै स्थानीय तह र १०३ वटै वडामा सबै तहको बैठक गरेर कामलाई प्रभावकारी बनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फिल्डको अनुभूति संगालेका पार्टी केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले पार्टी कमिटी जनताको समस्यासँग एकाकार भएर समाधानका लागि केन्द्रित भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्