रामकृष्ण थापा- धर्म गरे पलाउँछ, पापले हराउँछ भन्ने नेपाली बूढापाकाको आहान हामी सबैले सुनेका छौं । जब देशमा संकट आउँछ तब नेपाली मन दयालु हुुनु नेपालीपन र विशेषता हो ।
धर्म गर्न मठमन्दिर ,गुम्बा, मस्जिद धाउनु पर्छ भन्ने छैन । असहाय, अपांग, बिपन्न र समस्याग्रस्त व्यक्ति, समुदाय र क्षेत्रलाई सहयोग गर्नु जत्तिको धर्म सायद केही गरेपनि प्राप्त हुँदैन । धर्म कमाउन पुण्य कर्म गर्नु पर्छ । यस्तै उदाहरण नेपाली समाजमा बेलाबेलामा प्रकट हुने गरेको छ ।
अहिले विश्व कोरोना भाइरसको महामारीले लपेटिएको छ । हामी नेपाली पनि यसबाट प्रताडित छौं । ११ चैतदेखि मुलुक लकडाउनमा छ । हामी सबै ‘होम क्वारेन्टाइन’ मा छौं । यो महामारीले दैनिक ज्याला गरेर परिवार चलाउने बिपन्न मजदूर र किसान परिवारलाई समस्यामा पारेको छ । यतिमात्रै होइन, देशका विभिन्न जिल्लाबाट राजधानी गएर बस्ने सबैखाले नेपालीलाई अहिले ठूलो समस्या छ । मानिसहरु राजधानीको विभिन्न ठाउँमा अलपत्र अवस्थामा छन् ।
यही संकटलाई मध्यनजर गर्दै नारायणटार युवा क्लबले सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे र अन्य विभिन्न जिल्लाबाट जोरपाटी, बौद्ध र नारायणटार आसापास बस्ने मजदुरलाई १३ दिनदेखि बिहानबेलुका खाना खुवाइरहेको छ । समस्याग्रस्त बिपन्न परिवारलाई क्लबका अध्यक्ष धर्म थिङ लामा, नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामा, तरुण दलका महाधिवेशन प्रतिनिधि सञ्जय लामा र समाजसेवी कृष्णहरि भण्डारीले खाना खुवाइरहेका छन् ।
समाजसेवी सञ्जय लामाले दिएको जानकारीअनुसार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका १५ सय मजदूरलाई गत १३ दिनदेखि बिहानबेलुका खाना खुवाइएको छ । ‘तरुण दलका अध्यक्ष दोर्जे लामा र क्लबका अध्यक्ष धर्म थिङ लामाले खाना खुवाउनको लागि धेरै मिहिनेत गरेर व्यवस्थापन गरिरहनुभएको छ,’ सञ्जयले भने, ‘धर्म गर्न पूजा गर्नुपर्छ भन्ने छैन । भोकालाई खाना दिनु सबैभन्दा ठूलो पूण्य कर्म हो ।’ हामी सबैजना लामो समयदेखि राजधानीमा बस्दै आएकोले यस्तो व्यवस्थापन गर्नसकेको उनले बताए । कोरोनाका कारण धेरै मजदूरको रोजगारी गुमेकोले यसप्रति सचेत बनेर भोकमारीबाट आफ्ना नागरिकलाई बचाउन बेलैमा ध्यान पु¥याउन अध्यक्षद्वय दोर्जे र धर्म थिङ लामाले सरकारलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्