२०८१ मंसिर ७
                           

बुद्ध – दार्शनिक र मनोवैज्ञानिक

सुमन बुढाथोकी, 

सन्दर्भ – २५६४ औ बुद्ध जयन्ती : 

राज्य सञ्चालकको लागि शिक्षा पाएका युवक सिद्धार्थ सानैदेखि गम्भीर, मौन, चिन्तनशील थिए। अत्यन्त संवेदनशील हुनुपर्छ उनको किशोर उमेर जहाँ हरेक कुराको लागि अर्थपूर्ण जिज्ञासा थियो। दरबारमा मनोरञ्जनका लागि संगीत र नृत्य थिए, तर चिन्तनमा लीन रहने राजकुमार सिद्धार्थको लागि तिनको कुनै अर्थ थिएन। लाग्छ, राजकीय कर्तव्यको करले विवाह गरे। हुन सक्छ,सुन्दरी राजकुमारी यशोधराको प्रेमको मोहपाशमा परेका भए वर्षौँको वैराग्यले सन्यासको बाटोमा लाग्दैनथ्यो। मोह थिएन, मात्र व्याकुल प्रश्न थियो – जीवनको दरिद्रतालाई सम्वृद्ध कसरी बनाउने? के परिवर्तनशील जीवन यथार्थ हो? या भ्रम? जन्म, दुःख, रोग, मरणको बन्धनबाट कसरी पूर्णतः मुक्त हुने? यौवनभरि यिनै प्रश्नको आगोले पोलेर छट्पटिएका सिद्धार्थ तीस वर्षको उमेरमा, मध्यरातमा चुपचाप गृहत्याग गरेर हिँडे – प्रश्न लिएर, अनुभूतिमा छोइएर बुझिनेछ सत्य जवाफको खोजीमा, दुःखको संसारमा कोतरिन, चोट खप्न, आफैँले साँच्चै नै बोध गर्न!
बुद्धले राजनीतिक करियर त्यागे कारण उनले बुझे, राजनीतिले उनको प्रश्नको जवाफ दिँदैन। उनले परिवार त्यागे कारण परिवार स्वतन्त्र चिन्तन र अध्ययनको ठूलो बाधक बनेको हुन्छ। उनले कमजोर भावुकता त्यागे कारण सत्य जस्तो पनि हुन सक्छ, एकदम कठोर र भयानक पनि हुन सक्छ ; सत्यको खोजीमा भावना बाधक हुन सक्छ।
(पत्नी र बालक छोराप्रतिको जिम्मेवारीबाट के उनी भागेर गएका गैरजिम्मेदार पुरुष भन्दा उचित हुन्छ? या आफ्नो जीवनसँग जुझेर जीवनको मिसन फेला पारेकोले त्यो पूरा गर्ने हिम्मत उठाउन तयार युवक भन्दा ठीक हुन्छ?)
***
बुद्धलाई जीवको जन्म, विकास र मरणको अनिवार्य नियमसँग साक्षात्कार भएकोले गहिरो उदासीले जकडेको थियो। परिवर्तनशीलताले र अनिवार्य गन्तव्य शून्यताले पिरोलेको थियो। लामो यात्रा, अध्ययन, छलफल, अभ्यास र चिन्तनपछि सिद्धार्थले एउटा सुसंगत, तार्किक र अनुभूतिजन्य बोध प्राप्त गरे। जीवको अस्तित्व र यसको वास्तविकता थाहा पाए। चार आर्य सत्य – दुःखको अनिवार्य उपस्थिति छ, दुःखको कारण छ, दुःखको निवारण छ, निवारणको बाटो छ- लाई बुझेर त्यसलाई निवारण गर्ने अष्टांगिक मार्गमा आफूलाई पारङ्गत तुल्याएर बुद्धले दुःखलाई आफ्नै तरिकाले जिते। उनी मुक्त भए, सत्य देख्ने गरी ब्युँझिए, सत्य बोध गरे। भ्रममुक्त भए। अब उनलाई अल्झाउने केही चीज रहेन। उनले देखाएको समाधानलाई आज दुनियाँ बौद्ध धर्म भनेर बुझ्दछ, उनले गरेको जागृतिको बोधलाई बुद्धत्व वा निर्वाण भन्दछ, र अनिश्वरवादी बुद्धको मूर्ति बनाएर भगवान भनी उनको पूजा गरिन्छ।
***
जन्मिनु, चेतना हुनु दुःखदायी कुरा हो। संसार दुःख हो भन्दा फरक पर्दैन। किन दुःख छ त? चेतनामा आसक्ति छ – पीडालाई पन्छाउने, आनन्दलाई प्राप्त गर्ने र सम्भावित वियोगलाई पन्छाउने आसक्ति। यही तृष्णा नै दुःखको कारण हो। मान्छेको इतिहासमा बुद्धको महत्वपूर्ण योगदान भनेकै दुःखको यथार्थ बुझाउने इमानदार प्रयास हो र यसको निरोधको उपाय छ र यो सम्भव छ भनेर देखाउनु हो।
बुद्ध मनोवैज्ञानिक र दार्शनिक थिए।
बुद्धले अनिश्चित र अमूर्त मेटाफिजिकल विषयमा छलफल गर्नुको अर्थहीनता बुझेको देखिन्छ। आत्मा, परलोक,ईश्वर जस्ता अनुत्तरित र अनुमानित विषयमा बुद्ध प्रत्यक्ष बोलेको थाहा छैन। तर इन्द्रीय र चेतना नै सबै भन्दा बढी महत्त्वका साथ विश्लेषण गरेकोले बुद्धले आफ्नो विचारमा आत्मा र ईश्वरलाई कुनै विशेष स्थान दिएका छैनन्। बुद्धको विचार तत्कालीन आत्मावादी र ईश्वरवादी हिन्दु धर्मको विपरीत हिँडेको र त्यही दिशामा अगाडि बढेको भन्ने विषयमा विवाद देखिँदैन पनि। मृत्यु संस्कार र पूर्वजको कसरी पूजा गर्ने भन्ने बुद्धको सुरुवाती विचार नितान्त ‘कमन सेन्स’ सुनिन्छ र व्यवहारिक छ। सरल छ – उनीहरूलाई सम्झिनु र सम्मान प्रकट गर्न बिस्तृत कुनै विधी आवश्यक छैन। ईश्वरलाई खुशी बनाउन जीवको हत्या हुने यज्ञादि अनुष्ठानको विषयमा विरोधी मत व्यक्त गरेकै आधारमा हिन्दु ज्ञानीहरू बीच बुद्ध सधैं आलोचनाको पात्र बनेका थिए। विद्वान् शंकराचार्यले बौद्ध ग्रन्थ र बौद्ध धर्म अनुयायी विरुद्ध गरेका आक्रामक कारवही यिनै विषय लक्षित थिए भन्न सकिन्छ। बुद्धले करुणा र मानवीय सम्मान सिकाए। ईश्वरकेन्द्रीत धर्मलाई ठूलो चुनौती दिएर मान्छेकेन्द्रीत दर्शन दिए बुद्धले। यसले आफैंमा ठूलो महत्व राख्छ।
बुद्ध तर्क र विश्लेषणको पद्धतिको प्रयोग गरी प्राप्त निष्कर्षलाई आफ्नो अनुभवले पनि सिद्ध गर्नुपर्छ अनि मात्रै सत्यको वास्तविक बोध हुन्छ भन्ने तर्कबुद्धिवादी र अनुभववादी दार्शनिक थिए।अष्टांगिक मार्गको परीक्षणलाई जोड दिने बुद्ध खासमा व्यावहारिक चिन्तक पनि रहेछन्। उनले ज्ञानको लागि शङ्काको महत्व बुझाए। कसैले भनेकै आधारमा नमान। आफूले सोच, अनुमानलाई अनुभूतिले परीक्षण गरेर हेर अनि मात्र मान भनेर सिकाउँदा, कल्पना गर्न सकिन्छ, त्यतिबेलाको परम्परा, शास्त्र र गुरुकेन्द्रीत ज्ञानको दुनियाँमा कत्रो हलचल पैदा भएको थियो होला? उनी आफैंले देखेर अनुभूति गरेकोले उनलाई द्रष्टा भन्दा बढी उपयुक्त हुन्छ पनि भनिन्छ।
बुद्ध मनोवैज्ञानिक हुन्, फराकिलो अर्थमा। बुद्धको मुख्य ध्यान नै मनमाथि रहेको छ। धेरै ठाउँमा उनी मनको चिकित्सकको रुपमा प्रस्तुत भएका छन्। उनी उपदेश दिने परम्परागत विद्वान् होइनन्। खोज र चिन्तन गरी आफैंले देख्ने बनाउन मद्दत गर्ने मनोचिकित्सक हुन्। जब भावना र विचारले नै सम्पूर्ण जीवनलाई निर्धारण गर्छ भन्ने प्रस्ट देखिन्छ अनि अस्तित्वको आधा समस्या स्वाहा हुन्छ। धेरै कुराको निरर्थकता आँखामा छर्लङ्ग हुन्छ। मान्छे टक्टकिन्छ। चेतना सफा हुन्छ। मन स्वच्छ र स्वच्छ हुन्छ। भ्रमहरू, आग्रहहरु अनावश्यक लाग्छन् र हटेर जान्छन्। अनि अन्धविश्वासले ओगटिराखेको अज्ञानताको स्थान उज्यालोमा देखिन्छ र ज्ञानले भरिन्छ। खासमा अज्ञानता हटेर केही रहँदैन। चेतना वस्तुगत जगतको नियमको स्पष्ट र जस्ताको त्यस्तै बोध गरी कृयाशील हुन्छ। बुद्धको दर्शन पढ्दा इन्द्रीय, चेतना, इन्द्रीयहरूमा वस्तुहरूको सम्पर्क, त्यसको चेतना निर्माणमा हुने प्रक्रिया, चेतना के हो? कसरी निर्माण हुन्छ? वस्तुगत संसार के हो? किन इच्छा उत्पन्न हुन्छ? इच्छाले कसरी आनन्द, दुःख जस्ता भावना पैदा हुन्छ? आदि बिस्तृत रुपमा बुझ्न सकिन्छ। बुद्धले दुःखको निदानको बाटो छ, आफैँले देख र आफैंले हिँडेर आफैं पुग भनेर सिकाए।
***
अनौठो कुरा : बुद्ध कालान्तरमा आफ्नै अनुयायीद्वारा ईश्वर बनाइए। आत्मावादी बनाइए। र, उनको अनुयायीको एउटा समूहले पुनर्जन्मवादी पनि बनाइसके।
सकारात्मक कुरा : बुद्ध आजको दिनसम्म पनि धेरै अर्थमा सान्दर्भिक नै छन्। सुखको उन्माद चलेको आजको प्रतिस्पर्धी युगमा पनि हरेक मान्छे दुःखको चक्रमा पिसिइएकै छ। हरेक मान्छे जीवनमा एकपटक वैराग्यले ग्रसित सोच्दछ- आखिर जीवन यत्ति दुःखमय किन छ? आफूलाई नै हेर्न बिर्सिएको आजको अहंग्रस्त मान्छेले एकपट बुद्धको धम्मपद पढोस् र सोचोस् – हिंसाले हिंसा मेटिँदैन, मात्र प्रेमले र करुणाले मेटिन्छ। मान्छेकेन्द्रीत सभ्यता निरीह जनावरको हत्या गरी अनेक स्वादिष्ट परिकारको भोजन गर्छ, यो सभ्यताले एकपटक बुद्धलाई पढोस् र मनन गरोस्- हरेक प्राणी एउटै हो। मान्छेलाई कुनै अधिकार छैन मांशभक्षणको संस्कृति स्थापित गरी आवाजहीन जीवहरूको हत्या गर्न। जातीय र नश्लीय रुग्ण चेतनाले सताइएको आजको सामाजिक व्यवहार सुधार्न एक पटक बुद्धको मानवतावादी विचारको मनन् सबैले गर्नुपर्छ नै।
***

प्रतिक्रिया दिनुहोस्