डा. रवीन्द्र पाण्डे
भारतबाट दैनिक दशौँ हजारको संख्यामा बिभिन्न नाकाबाट नेपालीहरु समुह समुहमा नेपालभित्र प्रवेश गरिरहेका छन् | हाम्रो क्षमता हुन्थ्यो भने ती सबैलाई PCR परीक्षण गरेर कोरोना संक्रमण पोजिटिभलाई आइसोलेसनमा राखेर तथा नेगेटिभलाई सिधै गाउँ गएर त्यहाँको क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दा सुरक्षित हुने थियो |
.
अहिले उनीहरुलाई सिधै आफ्नो थातथलोमा पठाउने काम भइरहेको छ | उनीहरुलाई राख्नको लागि गाउँगाउँमा क्वारेन्टाइन केन्द्रको निर्माण गर्ने काम भइरहेको छ | अमेरिका लगायत विश्वका धेरै देशमा सरकारले क्वारेन्टाइन केन्द्र बनाएर राख्दैन | धेरै देशहरुमा २ हप्ता होटेलमा बस्नुपर्ने नियम समेत छ |
.
हाम्रो देशमा बाहिरबाट आएका सबैलाई क्वारेन्टाइन केन्द्रमा राख्ने तथा कोरोना संक्रमण पोजिटिभ देखिनेबित्त्तिकै अस्पताल भर्ना गर्ने जुन परम्परा छ, त्यसलाई बदल्नु जरुरी छ | संक्रामकको संख्या बढेसंगै यो सिस्टम स्वत: अपनाउनुपर्ने हुन्छ |
.
१. बाहिरबाट आएका व्यक्तिलाई परीक्षण गरेर पोजिटिभ देखिएमा क्वारेन्टाइन, होटेल वा उसको घरमा राख्ने | कोभिड पोजिटिभ देख्दैमा अस्पातल भर्ना गर्नुपर्छ भन्ने छैन | उसले आइसोलेसनको नियम अनिबार्य पालना गर्नुपर्ने, त्यसको अनुगमन गर्ने, पालना नगरेमा कडा सजाय गर्ने, सामान्य लक्षण जस्तै ज्वरो, खोकी तथा थकाइ देखिएमा लाक्षणिक उपचार गर्ने, पोषिलो खाना खाने, योग / व्यायाम गर्ने र ३ हप्ता यसरी बिताउने | त्यसपछि टेस्ट गर्दा लगातार २ पटक नेगेटिभ देखिए आफ्नो घरमा आराम गरेर बस्ने | यदि गम्भीर लक्षण देखियो भने स्थानीय निकायसंग समन्वय गरेर सम्पूर्ण सुबिधा भएको कोरोना डेडिकेटेड हस्पिटलमा जाने | त्यहाँ आबश्यकता अनुसारको सामान्य उपचार, आइसीयु, भेन्टिलेटर आदिद्वारा उपचार हुन्छ |
२. बाहिरबाट आएका व्यक्तिलाई जांच गर्दा कोरोना संक्रमण नेगेटिभ देखिए उसलाई आफ्नो घरमा पठाउने | घरमा उ सेल्फ क्वारेन्टाइनमा बसेर थप सुरक्षित हुने तथा कारणबश संक्रमण देखिएमा अरु व्यक्तिलाई सर्नबाट रोकथाम हुन्छ |
३. हाम्रा अधिकांश क्वारेन्टाइन WHO तथा नेपाल सरकारले बनाएका मापदण्ड अनुसार छैनन् | ती क्वारेन्टाइनमा बस्दा असुविधा हुने, अरुको संक्रमण सर्न सक्ने तथा प्राथमिक उपचार पनि नपाउने अवस्थाका छन् | सेल्फ क्वारेन्टाइन / होम क्वारेन्टाइनलाई प्राथमिकता दिने हो भने व्यक्ति आफ्नो घरमा आरामले बस्न पाउँछ, पोषिलो खाना तथा पानी नियमित पाउँछ, घरायसी बाताबरणले उसको मनोबल बढ्छ तथा उसलाई बिरामी भएको अनुभूति हुँदैन | उसले पारिवारिक सदस्यसंग ६ फिटको दुरी कायम गर्ने, आफ्ना कपडा / भाँडा तथा व्यक्तिगत सामान अरुलाई सेयर नगर्ने, सौचालय सिंगल भए राम्रो तर सामुहिक छ भने त्यसलाई राम्रोसंग सफा गर्ने, अरु व्यक्तिलाई भेटघाट नगर्ने आदि गर्दा राज्य एबम संक्रमित दुवै पक्षलाई ठूलो राहत मिल्छ | जसको घरमा दुरी कायम गरेर बस्ने अवस्था छैन भने उसलाई होटेल वा सामुदायिक भवनमा सुबिधायुक्त बाताबरण सिर्जना गरेर राख्न सकिन्छ |
४. कोरोना संक्रमण लामो समय जान सक्ने भएकोले राज्यले दुरदृष्टि राखेर यी तौरतरिकालाई थप सुदृढ र ब्यबस्थित बनाउनु जरुरी छ |
५. हालका क्वारेन्टाइन केन्द्रमा सामाजिक दुरी कायम नभएको, भेन्टिलेसन तथा पंखाको ब्यबस्था नभएको, पर्याप्त सौचालय नभएको, मेस तथा खाना खाने ठाउँमा निर्मलीकरण नभएको, मास्क / पंजा लगायत प्रयोग गरिएका फोहोर डिस्पोज गर्ने ब्यबस्था नभएको, नुहाउने / कपडा धुने ठाउँ सिमित भएको, प्राथमिक उपचारको लागि औषधि तथा स्वास्थ्यकर्मी नभएको, बिरामी हुँदा एम्बुलेन्सको प्रयोग सुगम नभएको लगायत धेरै असुविधा भएको भुक्तभोगीहरुले बताएका छन् | स्थानीय निकाय तथा प्रदेश सरकारले यसलाई ब्यबस्थित गर्नु जरुरी छ | ब्यबस्थित नगर्दा हाम्रा क्वारेन्टाइन रोग सार्ने गृहको रुपमा परिणत भइरहेका छन् |
प्रतिक्रिया दिनुहोस्